जहाँ ढुंगा-ढुंगामा देवताको बास छ !

सतीदेवीको हृदयको खोजी गर्दै ‘प्राचीन सिन्धुली’

भनिन्छ, ‘आफ्नो पहिचान बुझ्न इतिहास बुझ्नैपर्छ। इतिहास बिर्सने व्यक्तिलाई वर्तमानले समेत चिन्दैन।’ यही कुरालाई हृदयंगम गर्दै हरेक मानिस आफनो इतिहासलाई साक्षी राखेर नयाँ कुराको खोज गर्ने गर्दछ र उसले आफ्नो पहिचान र इतिहासलाई पुस्तान्तरण र हस्तान्तरण गर्न चाहन्छ। दुर्भाग्‍य आज एउटा पवित्र देवभूमि प्रचीन सिन्धुली आफ्नै इतिहासको खोजी गरिरहेको छ, माटोको माया र पहिचानको पदचाप बोकेर।

गोलञ्जोर गाउँपालिका-५, सिन्धुली निवासी गोविन्द गोदार थापाले आफ्नो जन्मभूमिलाई साक्षी मानेर खोजमूलक धार्मिक तथा ऐतिहासिक कृति प्रकाशन गरेर समयले लेख्न छुटाएको कथाभित्र सतीदेवीको हृदयको खोजी ‘प्राचीन सिन्धुली’ मार्फत गरेका छन् ।

नेपाल सरकारले सन् २०२० लाई पर्यटन वर्ष घोषणा गर्नु अगावै थापाले वि.सं. सन् २०१८ मै गोलञ्जोर गाउँपालिका र सिन्धुली जिल्लाको धार्मिक आस्थाको केन्द्र, ऐतिहासिक महत्वसहित वर्तमान सिन्धुलीको अवस्था र आउँदो समयका लागि विकासको खाका समेत अध्‍ययन गर्न मिल्ने गरी सरल र सहज ढंगमा पस्किदिएका छन्।

अहिलेको २१ औँ शताब्दीमा प्राचीनताको नजरबाट नियाल्दा पौराणिक श्लोक, श्रुति तथा गौरवगाथाहरुको समायोजन यस पुस्तकमा गरिएको छ जुन निक्कै रोचक तथा खोजमूलक रहेको छ। त्यहाँको धार्मिक, सांस्कृतिक तथा पर्यावरणीय रुपमा पर्यटको विकासको योजनाका सन्दर्भमा लेखिएका यो पुस्तकले देशका अन्‍य नगरपालिका तथा गाउँपालिकाको पर्यटन विकासका लागि समेत सहयोगीको भूमिका मात्रै होइन, आ-आफ्नो क्षेत्रको धार्मिक,ऐतिहासिक र सांस्कृतिक सम्पत्तिको उजागर गर्ने प्रेरणा, पहिचान र पवित्र भूमिलाई चिन्‍ने अवसर जुटाइदिएको छ।

पुर्ख्‍यौली धरोहरको खोजी गरेर लेखक थापाले अतुलनीय गुण लगाएका छन् र पुर्खाको ऋण तिरेर भावी पुस्तालाई उक्त पुख्यौली धरोहर बचाउन र तिनीहरुको आधुनिकीकरण तथा बजारीकरण गरेर एकैसाथ धर्म, अर्थ, काम र मोक्ष आर्जन गर्ने मार्ग दर्शाएका छन्। साथै पुराण र अन्य ग्रन्थ, इतिहासकारहरुको भनाइलाई आधार मान्दै सिन्धुलीको पहिचान खोज्ने र खोजाउने तागत देखाएका छन् आफ्नो लेखनीय कला र खोजमार्फत थापाले।

यस पुस्तकमा स्वविश्लेषण गरेर लेखकले सिन्धुलीलाई शैवभूमि, विज्ञान र धर्मवीचको तालमेल, बिडम्बना, प्रकृतिको उपहार नेपाल, ब्रमाण्डका शिव, संसारका बुद्ध, इतिहासको नजरबाट, कर्मफलको रुपमा समयले मानिसलाई इतिहासका पानामा दर्ज गरिदिन्छ, विकासको चरण, वैदिककालसँग हाम्रो भूमिको सम्बन्धलाई पहिलो चरणमा राखेका छन्।

त्यसैगरी भौगोलिक झलक, सिन्धुली जिल्लाको परिचय, जिल्लाको नामाकरण र वास्तविकता, रघुवंशको इतिहास, सिन्धुली र सिन्धु शब्दमाथिको अध्ययनलाई नजिकबाट नियालेका छन् भने प्राचीन साम्राज्यहरुको प्रसँग र प्रमुख मार्गहरुको रुपमा सिन्धुली कसरी अब्बल थियो भन्‍ने समेत विस्तृतमा बयान गरेका छन्। त्यतिमात्र होइन उनले वैदिककालमा स्वर्ग गमनको प्रमुख मार्ग र आदिलिङ्ग सिन्धुलीमा भएका यथेष्ट आधार र प्रमाणहरु पेश गरेका छन् यस पुस्तकमार्फत।

यस्तै सिन्धुलीको ऐतिहासिका पानालाई समेत कोट्याएर सिन्धुलीगढी इष्टइन्डिया कम्पनीसँग भएको नेपाल-अंग्रेज युद्ध, सिन्धुलीगढीको प्राचीन तथा ऐतिहासिक प्रसँग समेत लेखकले पुस्तकमा राखेका छन्।

त्यतिबेला नेपालको सार्वभौमसत्ता र अखण्डता जोगाउने धरोहरको रुपमा साक्षी रहेको सिन्धुलीगढीमा अवस्थित गढीकोदरबार निर्माण सम्बन्धमा,सिन्धुली दरबारमा भएको अप्रत्याशित घटना, सिन्धुलीगढीको प्राचीनताको विषयमा भेटिएका प्रमाणहरु, सिन्धुलीगढीलाई जीतगढी बनाउन त्यतिबेला अपनाइएका रणनीतिहरु र सिन्धुलीमा कार्यरत बडाहाकिमहरुको नामावली नै राखिदिएका छन् लेखक थापाले।

यस्तै उनले आफ्नो पुर्खाहरुले गरेको योगदानबारे समेत केही चर्चा गरेका छन् जसमा सिन्धुलीगढी युद्धका वीर सपूत गोदारथापको वंशावली, पुरातात्विक महत्वका वस्तुहरु,  गढीका तीन बढी, गढीदेखि पुर्वपश्चिम स्थापित चौकीहरु र सिन्धुलीगढीको प्रसिद्ध गीत रहेका छन्।  हरिपुरगढी र राष्ट्रिय झण्डाको इतिहास,  सिन्धुलीले देशलाई दिएको योगदान र उपहारहरुका साथै कौशिकी-विदेह-मिथिलाको सभ्यातालाई समेत जोडेका छन् यस पुस्तकमा।

विशेष रुमपा थापाले त्यहाँ रहेको गोलञ्जोरको प्राग-इतिहास र महत्वकोबारेमा उल्लेखमा गरेका छन् जसमा सिन्धुली नै शिवको किराँत अवतार भूमि हो भनेर दावी गरिएको छ। त्यसमा शिवका अवतारहरु, हृदयपीण्डेश्वर कामनालिङ्ग अर्थात श्री सतीदेवीको हृदय गोलाञ्जोर पर्वतमा पतन भएको प्रमाणका प्रसँगहरुलाई विस्तृत रुपमा बयान गरिएका छन्।

विशेष रुमपा थापाले त्यहाँ रहेको गोलञ्जोरको प्राग-इतिहास र महत्वकोबारेमा उल्लेखमा गरेका छन् जसमा सिन्धुली नै शिवको किराँत अवतार भूमि हो भनेर दावी गरिएको छ। त्यसमा शिवका अवतारहरु, हृदयपीण्डेश्वर कामनालिङ्ग अर्थात श्री सतीदेवीको हृदय गोलाञ्जोर पर्वतमा पतन भएको प्रमाणका प्रसँगहरुलाई विस्तृत रुपमा बयान गरिएका छन्।

माता पार्वती र  गोलञ्जोर शिखर सम्बन्धका बारेमा, सिन्धुलीका प्राकृतिक गुफा तथा आदिलिङ्गहरु,  गोलाञ्जोर र ल्यान्द्रिङ पर्वतको विभाजन सम्बन्धि किम्बदन्ती राखिएका छन् भने  गोलाञ्जोरमा पाइएको शिला के हो ?, हृदपीण्डेश्वर कामना लिङ्गको किन उजागर हुन सकेन ? शिव पार्वती संवाद (स्कन्दपुराण), भगवान शिवले रुचाएको भूमि,  तन्त्र-मन्त्र सिमे, भुमे र बाघ भैरवको बारेमा यस पुस्तकमा उल्लेख गरिएको छ।

उक्त पुस्तकबारे लेखक गोविन्द थापाले  डी.बी थापाको भनाइ उद्धृत गर्दै भन्छन्, ‘सदासमयमाशशिव भगवानले सतीको मृत्यु पश्चात मृत शरीर बोकेर भौतारिँदै हिड्ने क्रममा सतीको हृदयपीण्ड यही पतन भयो। सो समयमा भगवान विष्णु, ब्रह्मालगायतका सारा देवगणको उपस्थितिमा सतीको हृदयलाई यहीँ दहन गरी ‘हृदपीण्ड चिताभूतौ’ नामाकरण गरे। कालान्तरमा यही अपभ्रंश हुन गई हृदयपतन, हृदय पतन हुँदै हिर्दिङ बन्‍न पुगेको हो।

यस्तै हिमवत खण्डमा जनाइए अनुसार पर्वतराजकी छोरी पार्वती यही हिमचुलीमा टेक्दै  एक समय हिरण्यशिखर नामक पर्वत पुगिन्। सनातन नामको ऋषिलाइ पूजा आजा गरेर दान दिइन्, फर्कने क्रमम पार्वतीको ओठको छेउबाट बहदै  पसिना भुँइमा खस्यो। यही पसिना पछि जमिनमा पुग्नासाथ पहेलो रंगमा परिणत भयो र नदी बनेर पहाडको कन्दराबाट बहन थाल्‍यो र त्यही नदी सुनकोशीको नामले प्रख्यात भयो भने हिरण्यशिखर नामको पर्वत नै कालान्तरमा अपभ्रंश भइ हिर्दिङ बन्न पुगेको हो भन्‍ने कुरा स्कन्द पुराणको हि.ने.९१  पेजको ६०औ श्लोकमा भनिएको छ।’

आदिगङ्गा-महातीर्थ तपश्विनी च पार्वती ।

तस्या देहोद भवं स्वेदं कोशिकीत्यभिधीयते॥  (स्क.हि.ने. ९१  अश्लो ६०)

यसका साथै लेखकले सिन्धुलीलाई धार्मिक करिडोरको रुपमा बनाउनु पर्नेमा जोड दिँदै सिन्धुली करिडोर यात्राो बारेमा वर्णन गरेका छन् जसमा जलेश्वर, (ज्वालेशर), जानकी मन्दिर, धार्मिक करिडोरको रुपमा सिनधुली रहेका छन्। यस्तै सिन्धुलीका आदिलिङ्गहरु कुशेश्वर महादेव  आदिलिङ्ग, इच्छेश्वर महादेव गुफा,चकमके, ककनीदेवी, मधुगंगा बाबाधाम गुफा,हत्पते, सर्वसिद्धेश्वर महादेव गुफा, पञ्चकन्या पोखरी,  सर्पेश्वर ढुंगा भीमसेन धार्मिक स्थलहरुको बारेमा पनि व्‍याख्या गरिएको छ।

सिन्धुलीमा पर्ने ढुंगाले बनाइएका प्राचीन मन्दिरहरु महाकाली मन्दिर, महाकाली उत्पन्‍न उपाख्यान, कपुरभुमे मन्दिर, कपुरभुमे र कीराँतिहरुको सम्बन्ध, सिद्ध बाबा  मन्दिर र पूजा विधि, सिद्धबाबाको आधुनिक मन्दिर निमार्णकार्य, कमलामाइ मन्दिर(माइस्थान),  कमलामाइको मन्दिरमा ककस्ले केके चढाए ?, कालीमाइको मन्दिर, खाँडादेवीको मन्दिर, सिद्धेश्वर ८ ज्याम्दुको मन्दिर, विन्ध्यवासिनी मन्दिर, भद्रकाली मन्दिर, खुर्कोटको भिमेश्वरस्थान, पाटनदेवी मन्दिर,रक्तमाला देवीको मन्दिर, बाँसेश्वर महादेव, जलकन्यादेवीको मन्दिर, तीनकन्याको मन्दि लगातयत मन्दिरहरु रहेका छन्।

त्यतिमात्र होइन देशभर कही नभएको मकर देवताको मन्दिर पनि यही अवस्थित रहेको यस पुस्तकमा उल्लेख गरिएको छ। यी सबै मन्दिरै मन्दिरहरु जुन अधिकांश ढुंगाले बनेका छन् भने केही आधुनिकीकरणसँग अन्य सामग्रीबाट बनाइएकोछ।

यसले सिन्धुलीलाई संसार सामू देखाउन र चिनाउने सम्पत्ति जोडिदिएको छ भने पुस्तालाई संरक्षण र संवर्द्धनको लागि सन्देश दिएको छ। यति मात्रै होइन सिन्धुलीको ढुंगा-ढुंगामा देवताको बास र स्वर्गको आभास गराइदिएकोको छ शिरीषले लेखेको गीतमा ओम गुरुङले गाएका यी गीतका पंक्तिहरु जस्तै…

 जहाँ ढुंगामा ढुंगामा
देवताको बास छ

जहाँ थुम्का थुम्कामा
स्वर्गको आभास छ

यो देश मेरो हो
यो देश मेरो हो !

माघ १७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्