समावेशी शिक्षा

नेपालका सुस्त श्रवण विद्यार्थीले भोगेका वास्तविक समस्याहरु

सांकेतिक तस्बिर

सुस्त श्रवण, एक प्रकारको अदृष्य अपांगता, सुनाई क्षमतामा भएको कमिको कारणले संचारमा बाधा भई बोली र भाषाको विकास तथा सिकाईमा समस्या हुने भएता पनि बेवास्ता गरिएको समूह हो।

देशको संविधान र शिक्षा नीति तथा कार्यक्रमहरूले समावेशी शिक्षामा जोड दिइरहेको अवस्थामा पनि सुस्त श्रवण भएका विद्यार्थीहरूको आवश्यकता तथा पहुँचको बारेमा नीति निर्माता तथा शिक्षकहरूमा ज्ञानको कमिले गर्दा यी समूहका विद्यार्थीहरू मुलधारका शैक्षिक संस्थाहरूमा गुणस्तरीय शिक्षा प्राप्त गर्नबाट वञ्चित भएका छन्।

सुस्त श्रवणहरूको तथ्याङ्क तथा अध्ययनको कमिले गर्दा यो समूहको वास्तविक समस्याहरू बाहिर आउन सकिरहेको छैन। जसले गर्दा यो समूहलाई लक्षित हुनुपर्ने नीति तथा कार्यक्रमहरू उपेक्षित हुन गइरहेको छ।

यसैलाई मध्यनजर गरी अन्तर्राष्ट्रिय सुस्त श्रवण महासंघको संयोजकत्वमा युकेएड, फिनल्याण्डको परराष्ट्र मंत्रालय र अन्तर्राष्ट्रिय अपांगता अलाइन्सको सहयोगमा नेपाल र युगाण्डाका सुस्त श्रवण विद्यार्थीहरूले वास्तबमा भोगिरहेको अवस्थाको अध्ययन गत एक वर्ष गरिएको थियो।

नेपालको अध्ययनका लागि काठमाडौँ उपत्यकाका ४१ जना व्यक्तिहरू छनोट गरी अन्तर्वार्ता गरिएको थियो। अन्तर्वार्तामा सुस्त श्रवण बालबालिकाका अभिभावकहरू, स्वयंम् सुस्त श्रवण विद्यार्थीहरू, सुस्त श्रवण विद्यार्थीलाई पढाउने शिक्षकहरू तथा सरोकारवालाहरू जसमा समावेशी शिक्षामा कार्यरत नीति निर्माणकर्ता वा निर्णयकर्ताहरू र अपांङ्गता क्षेत्रका संस्थाका प्रतिनिधिहरूलाई समावेश गरिएको थियो।

यी चार समुहहरूका दृष्टिकोणबाट विभिन्न शैक्षिक संस्थाहरूको विभिन्न स्तरहरूमा अध्ययन गरिरहेका सुस्त श्रवण विद्यार्थीहरूका अवस्था, आवश्यकताहरू, श्रवण यन्त्र तथा सहयोग प्रविधिमा पहुँच, शैक्षिक संस्थाहरूबाट उपलव्ध सहयोगका सेवाहरू, पहुँच युक्त तथा समावेशी सिकाईका वातावरणमा अध्ययन गरी सुस्त श्रवण विद्यार्थीहरूले भोगेका वास्तविक अवस्थालाई हेरिएको थियो। यस अनुसन्धानबाट निम्न अनुसारका निष्कर्षहरू आएका छन्।

• सुस्त श्रवण बालबालिकाका अभिभावकहरू आफ्ना बालबालिकाको भाषा तथा शैक्षिक विकासमा आएका समस्याहरूका लागि धेरै नै चिन्तित भई सहयोगका लागि सक्रिय रुपमा लागि रहेको पाइयो।

• अभिभावक, शिक्षक तथा नीति निर्माणकर्ताहरूमा सुस्त श्रवण सम्बन्धी सूचनाको पहुँचमा कमिका कारण बालबालिकाको सुनाई क्षमतामा भएको कमिको कसरी उपचार गराउने, बालबालिकालाई कहाँ कसरी पढाउने, सुनाई क्षमताको कमीले बालबालिकामा कस्तो प्रभाव पार्दछ, आदि कुराहरुको ज्ञान तथा जानकारीहरुमा कमि रहेको पाइयो।

• सुस्त श्रवणहरूलाई आवश्यक पर्ने श्रवण यन्त्र तथा कक्लिएर ईम्प्लान्टहरू केही मुख्य शहरहरू बाहेक अन्य ठाउँमा नपाउने तथा यस्ता उपकरणहरू धेरै नै महँगो भएको कारणले धेरै सुस्त श्रवणहरूको पहुँचमा नभएको पाइयो।

• सुस्त श्रवण विद्यार्थीहरूको लागि आवश्यक पर्ने सहयोगि प्रविधिहरूको नेपालमा उपलब्धता नभएको साथै शैक्षिक संस्थाहरूबाट सहयोगका सेवाहरु सुस्त श्रवण बिद्यार्थीहरू लाई प्रदान नगरीएको पाइयो।

• सर्वेक्षण गरिएका सबै अभिभावक, शिक्षक, तथा नीति निर्माणकर्ताहरू सुस्त श्रवण बिद्यार्थीहरूलाई समावेशी वातावरणमा शिक्षा दिनु पर्छ भन्नेमा सकारात्मक देखिएता पनि विद्यालय तथा कलेजहरूका कक्षाकोठाहरू तथा सिकाईका पध्दतिहरू सुस्त श्रवण विद्यार्थीहरूका लागि मैत्री नभएको पाइयो।

• सुस्त श्रवण विद्यार्थीहरू पढाउनका लागि आवश्यक पर्ने तालिमहरू लिने अवसरहरूको कमिले गर्दा शिक्षकहरूमा सुस्त श्रवण विद्यार्थीलाई पढाउने ज्ञान तथा शिपको कमी भएको पाइयो। साथै शैक्षिक संस्थाहरूले सुस्त श्रवण विद्यार्थीहरू पढाउनका आवश्यक पर्ने सहयोगी सामग्री तथा सेवाहरू जस्तै, लुप, क्याप्सनिङ, नोटटेकिङ तथा अन्य उचित समायोजनहरू उपलब्ध नगराएको पाइयो।

• सुस्त श्रवण बिद्यार्थीहरूले शैक्षिक संस्थाहरूबाट अगाडी बस्ने, नजिकबाट संचार गर्ने, आवश्यक पर्दा अतिरिक्त सहयोग पाउने जस्ता साधारण सहयोग मात्र पाप्त गरिरहेकाले उनीहरूको सिकाईका लागि अभिभावक तथा सहपाठी साथीहरूको सहयोग लिई स्व-अध्ययनमा निर्भर भएको पाइयो।

• राज्यबाट स्कूल भर्ना अगाडि बालबालिकाको स्वास्थ जाँच गर्ने प्रणाली नभएकोले अभिभावकबाट नै आफ्नो बालबालिकाको कान कमजोर भएको पत्ता लगाई आफ्नो क्षमता अनुसार आफै विद्यालय छनौट गर्दे आइरहेको अध्ययनले देखाउँछ। केही अभिभावकहरूले आफ्ना सुस्त श्रवण बालबालिकाहरूलाई निःशुल्क पढाउनका लागि सुस्त श्रवण भएता पनि बहिराको विशेष विद्यालयमा पढाउने गरेको पनि पाइयो।

• सुस्त श्रवण विद्यार्थीहरूमा संचारमा भएको बाधाको कारणले बिद्यालयका अतिरिक्त गतिविधिहरूमा कम सहभागी गराइएको पाइयो। जस्ले गर्दा सुस्त श्रवण विद्यार्थीहरू सहपाठीहरूसँगको सामाजिक अन्तरक्रियाहरूमा कमि आई साथीहरू कम भई एक्लोपनाको भावनाको विकास भएको पाइयो।

राष्ट्र संघीयतामा गएपछि प्रदेश तथा स्थानीय सरकार स्तरमा समावेशी शिक्षाको लागि नयाँ निति तथा कार्यक्रमहरू बनि नसकेकोले केन्द्रीय सरकारका नीतिहरू कार्यान्वयन हुन नसकेको अवस्था रहेको छ। साथै दक्ष जनशक्ति तथा आर्थिक स्रोतको अभावले गर्दा हालका शिक्षा सम्बन्धित कार्यक्रमहरू पनि कार्यान्वयनमा चुनौति देखिएको छ।

राज्यबाट संचालन गरिएका पूर्वसेवा तालिम तथा सेवा तालिमहरू र पेशागत विकासका तालिमहरूको कमिका कारणले शिक्षकहरूमा सुस्त श्रवण विद्यार्थीहरू पढाउने योग्यतामा कमि भएको देखिएको छ। सीमित रुपमा उपलब्ध भएको सुनाई अपांगता सम्बन्धित तालिम पनि बहिरा शिक्षामा मात्र केन्द्रित भएको पाइन्छ। राज्यबाट सञ्चालित तालिमहरू र सहयोगहरू सरकारी शिक्षक तथा शैक्षिक संस्थाहरूमा मात्र सीमित छन्। जबकि, नीजि शैक्षिक संस्थाहरूले विद्यार्थीहरूलाई अतिरिक्त हेरविचार तथा विशेष ध्यान दिने हुनाले सुस्त श्रवण विद्यार्थीहरू पढाउनका लागि नीजि विद्यालयहरू नै अभिभावकहरुको प्राथमिकतामा परेको पाईन्छ।

विश्व स्वास्थ संघले विश्वको जनसंख्याको पाँच प्रतिशत सुनाई क्षमतामा कमि रहेका व्यक्तिहरु रहेको अनुमान गरेता पनि नेपालमा सुस्त श्रवणहरूको तथ्यांङ्क नभएको साथै उपलब्ध तथ्यांङ्कहरू बहिरासँग मिश्रित भई सुनाई क्षमताको प्रकार र यसको प्रभाव अनुसार नछुट्याइएकोले सुस्त श्रवणहरू वास्तवमा कति छन् अनुमान लगाउन गाह्रो भएको छ।

शैक्षिक संस्था, स्थानीय समुदाय तथा अन्य सरोकारवालाहरूमा सुस्त श्रवण विद्यार्थीहरू पढाउनका लागि चाहिने पहुँचका आवश्यकताहरूको बारेमा चेतनाको कमीका कारणले पनि यस तर्फ ध्यान नगएको देखिएको छ।

शैक्षिक क्षेत्रमा कार्य गर्ने नीति निर्माणकर्ताहरूलाई यो अध्ययनबाट आएका निष्कर्षहरूले सुस्त श्रवण विद्यार्थीहरूलाई मूलधारको शिक्षामा समावेश गरी गुणस्तरीय शिक्षा प्रदान गर्न मार्ग दर्शन गर्न सहयोग पुर्‍याउने छ। यो अध्ययनका लागि नेपालबाट डा. जीवन भट्टराई र नीता केशरी संलग्न भएका थिए।

माघ १९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्