अस्ट्रेलियामा डढेलाे थप जोखिमपूर्ण हुने अग्नि नियन्त्रककाे चेतावनी

अस्ट्रेलियाको पर्थको बाहिरी क्षेत्रको जंगलमा लागेको डढेलो बिस्तार हुने क्रममा रहेकाले जोखिम बढ्दै गएको स्थानीय अधिकारीले बताएका छन्।

कोरोना भाइरसको संक्रमण फैलिने क्रम जारी रहँदा लकडाउनमा रहेको पर्थ शहरको बाहिरी क्षेत्रका बासिन्दालाई आगलागीको जोखिमका कारण सुरक्षित स्थानमा सारिएको छ। उनीहरु सेल्टरमा रात बिताउन बाध्य भएका छन्।

पाँच दिने लकडाउन पर्थमा आउँदो शुक्रबार अन्त्य हुनेछ।

पछिल्लो केही वर्षयताकै भीषण आगलागीका कारण अहिलेसम्म ९ हजार हेक्टर भन्दा बढि क्षेत्र जलेको छ। ७१ वटा घर ध्वस्त भएको स्थानीय अधिकारीले बताएका छन् । ६ जना अग्नि नियन्त्रक घाइते भएका छन् ।

बुधबार अवस्था थप जोखिमपूर्ण हुने अग्नि नियन्त्रकले बताएका छन्। डढेलोको मार्गमा रहेका बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा सर्ने तयारी गर्न अग्नि नियन्त्रकले सुझाव दिएका छन् ।

तीव्र गतिमा चलेको हावा र गर्मीका कारण आगो फैलिएको हो । पर्थको तापक्रम पछिल्लो समय ३५ डिग्री सेल्सियसको हाराहारीमा छ ।

माघ २१, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्