प्रधानमन्त्री ओलीको पक्षमा जनसमर्थन देखेर प्रचण्ड–नेपाल समूह आत्तियोः महेश बस्नेत

फाइल फोटो।

काठमाडौँ– नेकपा ओली खेमाका नेता महेश बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति जनताको समर्थन देखेर प्रचण्ड–नेपाल समूह आत्तिएको दाबी गरेका छन्।

ओली समर्थित कार्यकर्ताहरुले बुधबार निकालेको र्‍याली समापनपछि पत्रकारहरुसँग बोल्दै बस्नेतले प्रचण्ड–नेपाल समूह आत्तिएर बिहीबार आम हड्ताल गरेको बताए।

बस्नेतले माघ २३ गतेको आमसभाको तयारीको र्‍याली निकालेको बताए। केपी ओली समूहले माघ २३ गते राजधानीको दरबारमार्गमा आमसभाको आयोजना गरेको छ।

दाहाल–नेपाल पक्षका नेता सुरेन्द्र पाण्डेले कु–प्रचारको गरेको भन्दै उनले भने, ‘दरबारको हिजोको भूतप्रेत भएको ठाउँबाट पुरातनवादी शक्तिहरु र सामन्तवादी सत्ताका अवशेषहरुलाई सदाका लागि समाप्त गछौँ भन्ने सन्देश दिन राजदरबार अगाडि आमसभा गर्न लागिएको हो।’

केही दिनअघि प्रचण्ड–नेपाल समूहका नेता सुरेन्द्र पाण्डेले माइतीघरको एक कार्यक्रममा केपी ओलीले राजतन्त्र फिर्ता ल्याउन थालेको बताएका थिए। त्यसको जवाफमा  बस्नेतले भने, ‘आत्तिएका उहाँहरु यस्ता कपोलकल्पित आरोप केपी ओलीमाथि लगाउँदै हिँड्नुहुन्छ।’ नेता बस्नेतले प्रधानमन्त्री ओलीलाई राजावादी तथा माओवादीहरुको वैशाखी नचाहिने पनि उल्लेख गरे।

सिके राउतलाई राजनीतिमा ल्याउँदा सुरेन्द्र पाण्डे र भीम रावलले कोकोहोलो मच्चाएको भन्दै विप्लवलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन सरकार र केपी ओलीले पहल गरेको बताए।

बुधबार केपी ओली समर्थित विद्यार्थी संगठनको मोटरसाइकल र्‍याली राजधानीका विभिन्न क्याम्पसहरुबाट निस्किएर तिनकुनेमा समापन भएको थियो। विद्यार्थी नेता ऐन महरको नेतृत्वमा र्‍याली निस्किएको थियो।

यता, केपी ओली पक्षको र्‍याली निस्किएको बेला प्रचण्ड–नेपाल पक्षले पेरिसडाँडामा पत्रकार सम्मेलन गरेर बिहीबार आम हड्तालको आह्वान गरेको छ।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघठन गरेपछि नेकपा दुइ चिरामा विभाजन भएको छ।

प्रचण्ड–नेपाल पक्षले संसद विघठन असंवैधानिक भन्दै र्‍याली, आमसभा गरिरहेको छ भने केपी ओली पक्षले विघठनको पक्षमा र्‍याली, आमसभा गरिरहेको छ।

माघ २१, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्