स्तन क्यान्सर जितेर मुस्काउँदै छन् ज्ञानबहादुर लामा

ज्ञानबहादुर लामा।

‘दाइ तपाईँको टि–सर्टमा त रगत लागेको छ नि’ शिक्षण अस्पतालमा कार्यरत एक नर्सले ज्ञानबहादुर लामालाई भनिन्। ज्ञानबहादुरले आफ्नो छातीतिर आँखा डुलाए। टि–सर्टमा रगतको सानो टाटो देखे। सोचे ‘छातीमा कन्याउँदा रगत आएको हुनुपर्छ’।

साथी बिरामी भएर कुर्न गएका ज्ञानबहादुरले नर्सको कुरालाई धेरै ध्यानमा राखेनन् र घर फर्किए। टि–सर्ट खोले। त्यतिबेला दिउँसोको भन्दा धेरै रगत कपडामा लागेको रहेछ। शरीरमा कन्याएर भएको घाउ खोजे, पत्ता लगाउन सकेनन्।

अब उनको मनमा चिसो पस्यो। आफूलाई टि–सर्टमा रगत लागेको भन्दै सर्तक बनाउने नर्सलाई भने। नर्सले ज्ञानबहादुरलाई नआत्तिन भन्दै जचाउन सल्लाह दिइन्।

सन् २०१७ मा उनको दायाँ स्तनबाट पानीको थोपा निस्किने समस्या देखिएको थियो। त्यो बेला उनले चेकजाँच गराए। डाक्टरले ‘सबै कुरा सामान्य छ’ भन्दै केही औषधि लेखिदिए। औषधि लेख्दै गर्दा डाक्टरले ‘सबै कुरा ठिक छ तर छाती नमिच्नु /नअठ्याउनु’ भनेका थिए। सोही कारणले कन्याउँदा नङले कोतरिएर रगत आएको हुन सक्ने अनुमान उनको थियो।

नर्सले ज्ञानबहादुरलाई परीक्षण गर्न सल्लाह दिएपछि आएको नतिजा असामान्य थियो। परीक्षणपछि थाहा भयो, उनलाई स्तन क्यान्सर भएको रहेछ। रिपोर्ट सबैलाई चकित पार्ने खालको थियो। ५७ वर्षे ज्ञानबहादुर सम्भवतः स्तन क्यान्सर भएको थाहा पाउने नेपालको पहिलो पुरुष हुन्। अहिले उनी उपचारको क्रममा छन्।

‘तीन वर्ष अगाडि स्तनमा समस्या देखिँदा चिरायु अस्पतालमा परीक्षण गराएको थिएँ। त्यो बेला डाक्टरसाबले सबै ठिक छ भन्नुभएको थियो। रिपोर्टमा पनि केही देखिएको थिएन। डाक्टरले तपाई आत्तिनु पर्दैन सानो रौँ जस्तो नशा सुनिएको हो। शल्यक्रिया गर्नु पर्दैन। औषधि खानुस् भन्नु भयो र औषधि खाएँ’, ज्ञानबहादुरले भने,‘औषधि सकिएपछि फलोअपमा पनि गएको थिए। केही हुँदैन। ठिक छ भन्नु भएको थियो।’

डाक्टरले केही छैन भन्ने रिपोर्ट हातमा थामाएपछि उनी ढुक्क थिए। त्यसैले यो समस्यालाई धेरै वास्ता गर्नुपर्छ भन्ने पनि ठानेनन्।

तर पहिलो लकडाउनका बेला बिरामी परेका साथीको कुरुवा बस्न शिक्षण आस्पताल पुगेका ज्ञानबहादुरको रोग पत्ता लाग्यो। सुरुमा स्तनबाट निस्केको रगतलाई बेवास्ता गरेपनि लामो समयसम्म बेवास्ता गर्न भने सकेनन्। शिक्षण अस्पतालकी स्तन क्यान्सर शल्यचिकित्सक डा. सुजिता हिराचनलाई भेटे र उपचार प्रक्रिया सुरु गरे।

बायोस्पी लगायतका सबै परीक्षण गरेपछि उनको दायाँ स्तनमा क्यान्सर देखियो।

डा. सुजिताले उनको रिपोर्ट हेरेपछि भनिन्, ‘तपाईलाई पहिलो स्टेजमा स्तन क्यान्सर देखिएको छ।’

क्यान्सर, त्यो पनि स्तन। ज्ञानबहादुर छाँगाबाट खसेझैं भए। महिलालाई स्तन क्यान्सर भएको उनले सुनेका, देखेका पनि थिए र भेटेका पनि थिए।

तर पुरुषलाई पनि स्तन क्यान्सर हुन्छ भन्ने थाहा पाउँदा छक्क परे। उनी आफैलाई क्यान्सर भएको स्वीकार्न असहज थियो त्यसमाथि स्तन क्यान्सर हुनु सोच बाहिरको कुरा भयो। विदेशमा पुरुषलाई पनि स्तन क्यान्सर भएको भन्ने समाचार उनले पढेका थिए, आफू त्यही क्यान्सरको बिरामी हुँदा उनी अचम्ममा परे।

मुटुमा चिसो पस्यो, खुट्टा थरथराए। अगाडि के हुन्छ त्यो असम्भावि थियो। उपचार गर्नुको विकल्प थिएन। त्यसैले उनले मनलाई दह्रो बनाए। डा. सुजिताले शल्यक्रिया गर्नुपर्ने बताएकी थिइन्। सोही अनुसार ज्ञानबहादुरले आफूलाई तयार पारे।

उनी तयार भएपनि अस्पतालको ठोस निर्णयमा थिएन। शल्यक्रिया गर्ने वा नगर्ने बहस भइरहेको थियो, किनकि त्यो समय कोरोना भाइरस संक्रमणका कारण अस्पतालमा आकस्मिक बाहेक अन्य सबै सेवा बन्द गरिएका थिए। सरकारले अस्पतालहरलाई आकस्मिक बाहेक अन्य शल्यक्रिया नगर्न आदेश दिएको थियो।

ज्ञानबहादुर सोचमा परे। चाँडै पत्ता लागेको रोग चाँडै उपचार पाउन सके छिटो निको हुन्छु भन्ने आत्म विश्वास उनमा थियो। उनले डा. सुजितालाई आग्रह गरे। डा. सुजिताले ज्ञानबहादुरको शल्यक्रियाको लागि वातावरण मिलाइन्, टोली तयार गरिन्।

उनको शल्यक्रिया गर्ने मिति तय भयो, असार ३० असार गते।

शल्यक्रिया सफल भयो।

ज्ञानबहादुरले भने, ‘डाक्टरसाबले सजिलै छ, डेढ घण्टामै शल्यक्रिया सकिन्छ भन्नुभएको थियो तर ६ घण्टा लाग्यो। महामारीका बेला मेरो शल्यक्रिया गरेर ठूलो गुन लगाउनु भएको छ। डा. सुजिताले गर्दा मैले दोस्रो जीवन पाएको छु।’

अहिले पनि उनी उपचाररत छन्। शल्यक्रियापछि उनले ६ पटक केमो थेरापी गरिसकेका छन् भने २ पटक अझै बाँकी छ। यति अवधिमा उनमा छुट्टै आत्मविश्वास बटुलिएको छ।

उनले भने, ‘मलाई हेर्दा कसैले पनि क्यान्सर भएको भनेर पत्याउँदैनन्। मैले रोगलाई जितिसकेँ।’

तर केमो थेरापी गर्दाको पीडा भने उनी सम्झन चाहन्नन्। ‘यति गाह्रो हुन्छ कि कोही बोल्यो भने झनक्क रिस उठ्ने, एक्लै बस्न मन लाग्ने, खान मन नलाग्ने भयो। म त कति दिनसम्म ढोका धुनेर एक्लै कोठा भित्रै बसिरहेँ’, ज्ञानबहादुरले भने।

मनमा उत्पन्न भएको डर


ज्ञानबहादुरको परिवारमा अगाडि र पछाडिका पुस्ता कसैलाई क्यान्सर भएको उनलाई थाहा छैन। तर ४ वर्ष अगाडि पेटको क्यान्सर भएर श्रीमतीको मृत्यु भएको थियो। श्रीमतीलाई बचाउने धेरै प्रयास गरेका थिए, धेरै ठाउँमा उपचार गराए। उपचार खर्चको लागि घरजग्गा बेचे, डेरामा बसे। तर क्यान्सर फैलिसकेका कारण ज्यान जोगिएन।

क्यान्सरको दुखाईजस्तै उपचारसँगको उनको भोगाइ काहलीलाग्दो छ। आफ्नो मान्छे गुमाउँदाको पीडाको अनुभूतिले उनलाई सधैँ लाग्थ्यो ‘क्यान्सर त दुश्मनलाई पनि नलागोस्।’

विडम्बना उनलाई लागेको जस्तो भएन, उनि क्यान्सरको बिरामी बने। तर श्रीमतीको त उपचारका क्रममा ज्यान गयो, उनी भने आशावादी छन्।

अहिले उनी एक्लै कोठा लिएर बसिरहेका छन्। ज्ञानबहादुरका एक छोरा जेठी सासुको रेखदेखमा हुर्किरहेका छन्।

उपचार खर्च


क्यान्सर बिरामीलाई सरकारले दिने गरेको एक लाख रुपैयाँ बराबरको उपचार खर्च उनले पाए। तर यो रोगको उपचार १ लाखमा सक्किदैन। सरकारले उपचार खर्च थप उपलब्ध गरिदिए आफूहरु जस्ताका लागि रहत हुने उनी बताउँछन्।

ज्ञानबहादुरले भने, ‘श्रीमतीको उपचारकै क्रममा रित्तो भइसकेका थिए। अहिले खर्च जुटाउन गाह्रो भरहेको छ। साथीभाइहरुकै सहयोगको भरमा उपचार चलिरहेको छ। आर्थिक रुपमा धेरै नै समस्या छ।’

आत्मविश्वास


चाहे जुनसुकै बिरामी किन नहोस्। आत्मबल एकदमै बलियो बनाउनु पर्ने उनी बताउँछन्। ज्ञानबहादुरले भने, ‘अन्य कुराभन्दा मनमा म चाँडै निको हुन्छु भन्ने कुराले जित्नु पर्छ। मसँगै शल्यक्रिया भएको एक जना महिला हुनुहुन्छ। उहाँको हात अझै पनि राम्रोसँग चल्दैन। तर मेरो पुरै कुम माथिसम्म पुग्छ। खान मन नलागे पनि खानुपर्छ। रोगसँग लड्ने क्षमता बढ्यो भने छिटो निको भइन्छ नि।’

नियमित व्यायाम गर्नुका साथै क्यान्सरबाट जोगिनका लागि ध्रुमपान तथा मध्यपानबाट टाढै रहनु पर्ने उनले बताए। ज्ञानबहादुरका अनुसार स्तन क्यान्सर महिलालाई मात्रै हुन्छ भनेर पुरुषहरुले हेल्चेक्रयाई गर्न हुँदैन। समान्य कुनै समस्या देखिना बित्तिकै अस्पताल पुग्नुपर्छ।

ज्ञानबहादुरले भने, ‘छातीमा केही तलमाथि सामान्य केही समस्या देखिने बित्तिकै चेकजाँच गराइ हाल्नुपर्छ। पुरुषलाई स्तन क्यान्सर हुँदैन भन्ने भ्रम पुरुषले कहिल्यै पनि पाल्नु हुँदैन। रोग महिला पुरुष जो सुकैलाई पनि लाग्न सक्छ। तुलनात्मक रुपमा धेरै र थोरै भन्ने हुन सक्छ। त्यसैले आफ्नो स्वास्थ्यप्रति सधैँ सजक भइरहनु पर्छ।’

स्तन क्यान्सर महिलामा धेरै देखिने गरेपनि पछिल्लो समय पुरुषहरुमा पनि देखिन थालेको छ। अध्ययनका अनुसार संसारका समग्र पुरुष जनसंख्याको १ प्रतिशतलाई मात्रै स्तन क्यान्सर देखिने गरेको छ।

माघ २२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्