डोटी कारागारका ५० जना कैदीबन्दीलाई कोरोना विरुद्धको खोप

फाइल फोटो

डोटी- जिल्ला कारागार डोटीमा रहेका ८० जनालाई कोरोना विरुद्धको खोप लगाइएको छ।

जिल्ला स्वास्थ्य कार्यालय डोटीका कोभिड सम्पर्क व्यक्ति सूर्य विष्टका अनुसार कारागारमा बन्दी जीवनयापन गरिरहेका ५० जना कैदी बन्दी तथा उनीहरुको सुरक्षाका लागि खटिएका ३० जना सुरक्षामकर्मीलाई उक्त खोप लगाइएको हो।

कारागारमा सुरक्षाकर्मी र कैदी बन्दी गरी टोटल ८४ जना राखिएको भए पनि चार जना कैदीबन्दीले उक्त खोप लगाउन नमानेको कोभिड सम्पर्क व्यक्ति विष्टले बताए। उनले भने, ‘कारागारमा रहेका कैदीबन्दीलाई कोरोना विरुद्धको खोप लगाउन शुरु गरेका थियौँ तर चार जना बन्दीले लगाउन मान्नु भएन हामी अरुलाई लगाएर फर्कियौँ, उनीहरुलाई पनि लगाउन आग्रह गरिरहेका छौँ।’

पहिलो चरणमा कोरोना नियन्त्रणका लागि डोटीका फ्रन्ट लाइनमा काम गर्ने एक हजार ५२६ जना स्वास्थ्यकर्मी, कर्मचारीलाई उक्त खोप लगाउने योजनाअनुसार कैदी बन्दीसहित सुरक्षाकर्मीलाई पनि खोप लगाउन शुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

अहिले यहाँका नौवटै स्थानीय तहका स्वास्थ्य संस्थामा काम गर्ने स्वास्थ्यकर्मीलाई पनि पालैपालो खोप लगाउने काम शुरु भएको स्वास्थ्य कार्यालयका प्रमुख रमेश मलासीले जानकारी दिए। कम्तीमा पनि ६ दिन भित्रमा पहिलो चरणको खोप लागाइ सकिने योजना भए पनि उक्त म्याद दुई दिनका लागि थप गरिएको छ।

माघ २२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्