सविस्तार

नेताको लडाईं, जनताको मिचाइ

काठमाडौँ– पदीय लडाईँमा नेकपासँगै संसद बली चढेपछि मुलुकमा सडक आन्दोलनको सिजन दोहोरिएको छ। योसँगै मुलुक पुनः अनिश्चयको भुङ्ग्रोमा फसेको छ।

नेताको हैसियत स्थापित गर्न हरेक दिनजसो भइरहेका प्रर्दशनसँगै हड्तालको थिचोमिचोमा फेरि पनि उनै निमुखा जनता परेका छन्। उनीहरुको दैनिकी धरमराउन थालेको छ।

पार्टी विभाजन र संसद विघटनको दोष एकअर्कालाई सोज्याउँदै नेकपाका दुवै पक्षले सडकमा मुड्की उठाउँदा उनका पछाडिका भिडमा ‘अराजनीतिक’ मजदूरहरु निकै भेटिन थालेका छन्।

कामकाजका लागि घर छोड्नेहरु, मजदुर, विद्यार्थी, फुटपाथ व्यवसायीको रोजीरोटी खोसिन थालेको छ। उनीहरु भयग्रस्त देखिन्छन्।

यी वर्गहरुमाथि ज्यादती मच्चाउन दुवै ‘कम्युनिष्ट’ पक्ष उद्यत देखिन्छन्। तर नेताहरु भने सस्तो लोकप्रियताका लागि अस्वाभाविक गतिविधिलाई निरन्तरता दिने प्रयासमा छन्।

नेकपा दाहाल-नेपाल पक्षले बिहीबार आह्वान गरेको आम हड्तालमा उपत्यका र बाहिर यस्ता अनगिन्ती दृश्यहरु देखिए। गरिखाने वर्गका बारेमा एकदमै चिन्तित देखिएनन् बन्द आयोजकहरु।

परीक्षार्थीको भय


शान्तिनगरस्थित आफ्नो घरबाट पैदलै परीक्षा केन्द्र ताहचल क्याम्पसमा पुग्न सफल भएपछि मिमांशा अर्याल कुनै लडाईँमा विजय प्राप्त गरेको जसरी प्रस्तुत भइन्।

सडकमा ठाउँठाउँमा प्रहरी र बन्दकर्ताहरुबीच ठेलमठेलका तस्बिरहरुले उनलाई कसरी परीक्षा राम्रो गर्ने भन्नेभन्दा पनि सुरक्षित कति छिटो गन्तव्यमा पुग्ने भन्ने चिन्ता थियो।

पटक-पटक प्रहरी र आन्दोलनकारीको केरकारमा परेकी उनमा परीक्षपछि कसरी घर फर्कने भन्ने चिन्ता पनि देखिन्थ्यो। अघिपछि सार्वजनिक बस चढेर ताहचल पुग्ने गरेकी अर्यालका लागि पैदल सडक नाप्नुको विकल्प थिएन बिहीबार।

उनले भनिन्, ‘आज आम हड्ताल रे भन्ने कुराले हिजोदेखि नै डर लागेको थियो। कसरी क्याम्पस पुग्ने भन्ने पिर परेको थियो। पढाईमा ध्यान जानै सकेन। अब परीक्षा के राम्रो होला र?’

अर्यालले आफूले व्यहोरेको सास्तीको फेहरिस्त सुनाइरहेका बेला कलंकीबाट पैदल नै दुई छात्राहरु हतासमा क्याम्पसको गेट अघि पुगे। संगिता भुसाल आम हड्तालको घोषणा भएदेखि नै परीक्षा दिन जान नपाइने हो की भन्ने चिन्तामा परेकी थिइन्। बिहान,उनको चिन्ता यथार्थमा परिणत भयो।

धेरैबेरको उनको प्रतिक्षा खेर गयो। बरु कलंकी चोकमा प्रहरी र नेताहरुबीच झडप भइरहेको दृश्यले उनी भयभित भइन्। चोकमै कयौँबेर अलमलिनु पर्‍यो। उनको पैदल यात्रासमेत सुरक्षित बन्न सकेको थिएन।

नेकपा दाहाल–नेपाल पक्षका नेता अष्टलक्ष्मी शाक्यलगायत एक दर्जन नेताहरुलाई प्रहरीले नियन्त्रणमा लिएर भ्यानमा हालेको दृश्य उनको आँखामा बिझाइरह्यो, बाटैभरी। देशमा फेरि किन यस्तो वातावरण बन्दैछ? भुसाल यसमा अनविज्ञ छन्। उनलाई यति थाहा छ–विद्यालय र विद्यार्थी शान्ति क्षेत्र हुन्। सहजरुपमा पढ्न लेख्न पाउने उनीहरुको हक हो।

मजदुरको बेहाल


न्यूरोडमा भेटिएका ७१ वर्षीय बुद्धिमान तामाङ सकिनसकी भारी बोकेर अघि बढ्दै थिए। कालीमाटीबाट बोकेर ल्याएको बदामको बोरा रत्नपार्क कसरी पुर्‍याउने भन्ने उनको चिन्ता थियो।

अघिपछि उनले यस्तो भारी सार्वजनिक बसमा हालेर रत्नपार्क पुर्‍याउँथे। बिहीबार बस उनले फेला पारेनन्। आफ्नै थाप्लोमा नाम्लो राखे। तर पनि उनको भय मेटिएन। आन्दोलनकारीले कतै बोरा नै फ्याँक्दिने हुन् कि? भन्ने चिन्ता थियो उनलाई। कतै कुटपिट पो गर्ने हुन् कि? त्यो पनि डर थियो उनलाई।

तामाङको गुनासो थियो, ‘हामी गरिब मानिस जता पनि थिचोमिचोमा पर्छौँ। गरिखान गाह्रो छ यहाँ।’ नभन्दै उनी त्रिचन्द्र क्याम्पसतिरबाट जमलतिर आएको बन्दकर्ताहरुको जुलुसका कारण न्यूरोडको मुल गेटमै ठप्प भए धेरैबेर।  जुलुस आक्रामक देखिन्थ्यो। प्रहरीसँगको झडपको सम्भावना बढ्दै जाँदा तामाङले आफ्नो ज्यान जोगाउन बारी बोकेरै दौडिनु पर्‍यो।

अत्यावश्यक सेवामा पनि अवरोध


जुलुस अघि बढ्छ। त्रिचन्द्र क्याम्पस मार्गमा पुग्छ। २० वर्षदेखि दूध ढुवानी गर्दै आएका शेरबहादुर रावल सडकमै अड्किए। उनलाई रानीपोखरी स्थित प्रहरी कार्यालयमा दूध पुर्‍याउनु थियो। बन्दकर्ताहरुले गाडी तोडफोड गर्ने जोखिम रहेको भन्दै उनलाई अघि बढ्न निषेध गरेको थियो।

त्यसैले रावल पुनः एक चक्कर लगाएर निर्धारित स्थानमा दूध पुर्‍याउन सफल भए। तर रावलको आक्रोश घटेन। उनले दूध बोकेर हिँड्दा पनि सडकमै घण्टौ ठप्प हुँदाको पीडा पोखे, ‘भन्ने बेला अत्यावश्यक सेवा हो, हामी केही गर्दैनौँ भन्ने अनि यसरी हामीलाई सडकमा बिच्चली बनाउने? के हामीलाई मार्न खोजिएको हो।’

ट्याक्सीमा बलेको आगो


त्यतिञ्जेल धादिङ घर भइ बिजुलीबजारमा डेरा गरी बस्ने ४१ वर्षीय कुम्भनाराण श्रेष्ठको रोजीरोटी भताभुङ्ग भइसकेको थियो। साहुको नाममा रहेको ट्याक्सीमा एकपछि अर्को गर्दै दुई यात्रुलाई गन्तव्यमा पुर्‍याएपछि पुनः यात्रु खोज्न गोंगब बसपार्क मोडिएका उनको ट्याक्सीमा दुई जना अज्ञात व्यक्तिहरु यात्रु बसे।त्यतिञ्जेल पनि उनलाई बिहीबार आम हड्ताल छ भन्ने जानकारी थिएन।

तर श्रेष्ठले पत्तो नपाउने गरी पेट्रोल छर्किएका उनीहरुले बीचबाटोमै ट्याक्सी रोक्न लगाए। र, अचानक सलाई कोरेर ट्याक्सीमा हानेर उनीहरु भागेको र आफू अत्तालिएको श्रेष्ठले बताएका छन्। उनले भने,‘सकिनसकी ज्यान त बचाएँ, ट्याक्सी बचाउन सकिन। धन्न साउले चिन्ता नगर भन्नुभएको छ। तर परिवार कसरी पाल्ने अब?’

ट्याक्सी जलेको खबरले रावलको मनमा पनि भय उत्पन्न नभएको होइन। तर आफूले दूध ढुवानी गर्न हिँडेकाले सुरक्षित नै हुनेछु भन्ने उनलाई लागेको थियो। तर अन्यौलनबाट मुक्त थिएनन् उनी।

प्रहरीले आफ्नो गन्तव्य ताकेका परीक्षार्थीलाई मुख्य सडक हिड्नबाट बञ्चित गरिरहेको थियो।  प्रहरीको दाबी थियो -सवारीसाधनमाथि आन्दोलनकारीले आक्रमण गर्न सक्छन्। जनतालाई जागाउन सहायक बाटो प्रयोग गर्न भनिएको हो। परीक्षार्थी हस्याङफस्याङ गर्दै कोही १० मिनेट, कोही १५ मिनेटपछि परीक्षा हलमा पसेका थिए।

परीक्षा केन्द्र पद्म कन्या बहुमुखी क्याम्पसको गेटमा भेटिएका डोल्पा घर भइ त्रिपुरेश्वर डेरामा बस्दै आएका र नेपाल ल क्याम्पसका विद्यार्थी मोहन शाही हतासमा थिए।

उनले भने, ‘परीक्षा नै छुट्ला भन्ने पिर थियो। त्यसमाथि प्रहरीले टुँडिखेलको सडकमा मोटरसाइकल चलाउन नदिएपछि घुमेर पुतलीसडक हुँदै आउनु पर्‍यो।’

प्रचण्डको गाडी र नेपालको स्कुटर


त्यसको केहीबेरमा बन्दकर्ताका अगुवा पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने आफ्नो ल्याण्ड क्रुजर चढेर आन्दोलनस्थल पुलचोक आइपुगेपछि क्षणभरमै विवादमा तानिए।

कार्यकर्ताले विद्यार्थीलाई समेत सवारीसाधन चलाउन रोक लगाउने प्रयास गरिरहेका बेला सुरक्षाको घेराभित्र रहेर प्रचण्डले आन्दोलनस्थलमा जान गाडी प्रयोग गरेपछि तिब्र आलोचना सुरु भयो।

अर्कोतिर माधवकुमार नेपालले आन्दोलनको निरीक्षण गर्न स्कुटर चढेर यात्रामा निस्किएको दृश्यले अत्यावश्यक काममा हिँडेका सर्वसाधारण रोकिएका दृश्यलाई चुनौति दिइरहेको थियो। सामाजिक सञ्जाल फेसबुकमा श्रमिकको ट्याक्सी जलाउने, आफू कार प्रयोग गरेर आन्दोलनमा सहभागि हुने? भन्दै प्रश्नहरको भेल बगाइएको छ।

बन्दको प्रभाव उपत्यकासँगै बाहिर पनि परेको छ। विभिन्न शहरहरुमा प्रहरी र बन्दकर्ताबीच झडप भएका छन्। जनकपुरको झडपमा परी घाइते भएका नेकपा दाहाल–नेपाल पक्षका नेता मात्रिका यादव र रामचन्द्र झालाई थप उपचारका लागि जहाजमा काठमाडौँमा ल्याइएको छ।

उपत्यकामा नेता अष्टलक्ष्मी शाक्यसहित ८६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। बाहिर २२ जना बन्दकर्ताहरु प्रहरीको नियन्त्रणमा परेका छन्। नेकपा दाहाल–नेपाल पक्षले आफ्नो हड्ताल शान्तिपूर्ण हुने र कतै पनि मुठभेड हुन नदिने दाबी गरेपनि त्यसमा ऊ असफल भएको छ। चितवनमा ट्रकमा भएको तोडफोडको पनि तिब्र विरोध भएको छ।

यता दाहाल–नेपाल पक्षले गिरफ्तारमा परेका आफ्ना नेता तथा कार्यकर्ताहरुको रिहाको माग गर्दै साझपखसम्म जुलुस निकालिरहेका बेला ओली पक्षले शुक्रबार नारायणहिटी संग्राहलयअघि गर्ने भनेको प्रर्दशनको तयारी स्वरुप प्रदर्शनमार्गमा मार्चपास गरेको छ।

कोटेश्वरमा भेला भइरहेका दाहाल–नेपाल पक्षसँग उनीहरुको झडप हुने प्रवल सम्भावना भएपछि मार्चपासको टोली भित्रीबाटो हुँदै प्रर्दशनी मार्ग पुगेको थियो।

 

तेस्रो आन्दोलनको चेतावनी


दाहाल नेपाल पक्षको आन्दोलन विस्तार हिंसातर्फ मोडिने सम्भावना बढेको छ। बिहीबारको हड्तालमा सामेल नेताहरुले फागुनको पहिलो साताबाट अझै ठूलो आन्दोलन हुने र त्यसबाट ओली सरकार ढाल्ने चेतावनी दिएका छन्।

तर शुक्रबार नारायणहिटी संग्रहालय अघिल्तिरबाट ओलीले केही नयाँ विषय समेटेर भाषण गर्ने तयारी गरेको बुझिन्छ। उनी पक्षका नेताहरुले यसबारे अहिले नै प्रस्ट पार्न नचाहेपनि ओलीले अर्को पक्षले आरोप लगाए झैँ हिन्दु राज्यको घोषणा गर्ने हुन् कि भन्ने अनुमान बढ्न थालेको छ।

आन्तरिक विवाद चर्किदै जाँदा आफ्नो राजीनामाको माग थेग्न नसकेर ओलीले संसद नै भंग गरेका थिए। त्यसअघि उनले विवादास्पद रुपमा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएर अर्को पक्षलाई छलेर विभिन्न संवैधानिक आयोगहरुमा रिक्त पदहरुमा नियुक्तिका लागि विभिन्न नामहरु सिफारिस गरेका थिए।

बुधबार सिफारिसको ४५ दिन पुगेको भन्दै संसदीय सुनुवाई नै गरी उनीहरुलाई सपथ खुवाइएको थियो। ओलीबाट एकपछि अर्को विवादास्पद निर्णयहरु हुन थालेपछि विरोधी समूहमा आक्रोश चुलिएका छ। तर आक्रोशका मारमा गरिखाने वर्गहरु पिल्सिने क्रम पनि सुरु भएको छ।

माघ २२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्