बन्दकर्ताद्वारा खाजा पसलमा तोडफोड, तातो तेल पोखिँदा पसल सञ्चालक आमा–छोरी घाइते

मोरङ– बन्दको आह्वान गर्दै सडकमा उत्रिएका नेकपा दाहाल–नेपाल पक्षधरले विराटनगरमा स–साना होटल तथा खाजा पसललाई समेत तारो बनाएका छन्।

बन्दका क्रममा खाजा चिया पसल खोलेको आरोपमा विराटनगर महानगरपालिका २ मा दाहाल नेपाल पक्षका बन्दकर्ताले बिहीबार दिउँसो दुई महिलामाथि अभद्र व्यवहार गरेका थिए।

बिहान–बेलुका पसलमा खाजा पकाएर दैनिकी धान्दै आएको सहानी परिवारको पसलमा मध्याह्न १२ बजे एकाएक एकहुल बन्दकर्ता पसेर तोडफोड गरेका थिए। यसक्रममा नास्ता पकाउने कराईंमा रहेको तातो तेल पोखिँदा पसलकी सञ्चालक ४० वर्षीया बसन्ती सहनी र उनकी २२ वर्षीया छोरी बबिता सहनी सामान्य घाइते भएका थिए।

सहनी परिवारका अनुसार बन्दकर्ताले तातो तेल आमाछोरीमाथि खन्याउँदा घाइते भएका हुन्। समोसा पकाउन तयारी अवस्थामा कराईंमा राखिएको तेल बन्दकर्ताले खन्यादिँदा दुवैजना घाइते भएको बसन्तीका श्रीमान् प्रमोद सहनीले बताए।

एक्कासी बन्दकर्ताको हुल पसलमा पसेर उम्लिएको तेल खन्याउँदा आमा–छोरीको शरीरका विभिन्न भागमा चोट लागेको छ। घाइतेमध्ये बबिता ६ महिनाकी सुत्केरी हुन्।

विराटनगर महानगरपालिका कार्यालयको गेट नै अगाडि रहेको चियानास्ता पसल किन बन्द नगरेको भन्दै पुगेको समूहले पसल सञ्चालक ४८ वर्षीय सहनीलाई पनि लाट्ठी, मुक्का र लात्ताले कुटपिट गरेका थिए।

पूर्वमन्त्री एवं दाहाल–नेपाल समूहका नेता शिवकुमार मण्डलको नेतृत्वको समूहले घटना गराएको प्रत्यक्षदर्शीको भनाइ छ। बन्दकर्ता उत्तेजित भएर तोडफोडमा उत्रन थालेपछि नेता मण्डलले छुट्याउने प्रयास गरेका थिए।

तोडफोडबाट पसलमा रहेको सोकेसको सिसा फुटेका छन्। बन्दकर्ताले पसलमा बनिसकेका नास्ता फ्यालिदिनुका साथै पसलका भाँडाकुँडा पनि फालिदिएका थिए।

मोरङ प्रहरीले घटनाको विषयमा संलग्नलाई कारबाही गर्न सिसी टिभीको फुटेज अध्ययन गर्न थालेको जनाएको छ।

माघ २२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्