सम्पादकीय

छोरीहरुको बलात्कारमा उदासीनता किन?

हरेक समाजका आ–आफ्ना विशेषता, संस्कार र मान्यता हुन्छन् । ती विशेषतालाई कानूनले परिभाषित नगरेको पनि हुन सक्छ। पूर्वज र आफू अगाडिका पुस्तालाई सम्मान गर्नु, उनीहरुका योगदानलाई कदर गर्नु र उनीहरुप्रति कृतज्ञ रहनु एउटा त्यस्तो विशेषता मानिन्छ नेपाली समाजको।

पृथ्वीनारायण शाह या भानुभक्त या वीपी कोइरालाको शालिक भत्काइनु त्याे संस्कारको अवमूल्यन र इतिहासप्रतिको कृतघ्नता नै हो । यी विकृति झ्याङ्गिदै जाँदा आफ्नै बा-आमालाई वृद्धावस्थामा वृद्धाश्रम या सडक या अनाथालयमा अलपत्र छोड्ने ‘संस्कृति’ ले जन्म लिइरहेको छ।

त्यस्तै हरेक समाज या मुलुक आफ्नो भविष्यप्रति आशावादी रहने अपेक्षा गरिन्छ । किनकी प्रगति र विकास भनेको नै भावी पुस्ता, अतित र वर्तमान पुस्ता भन्दा शिक्षित, सक्षम, चरित्रवान र दायित्वबोधसहितको पुस्ता निस्कनु पर्छ भन्ने मान्यतामा आधारित हुन्छ । त्यसैले भावी पुस्तालाई बढि सुरक्षित, सम्मानित, शिक्षित र योग्य बनाउने दायित्व आजको पुस्ता, समाज, राज्य र सरकारको हुन्छ ।

त्यो मान्यता सरकारका नीति र भावी लक्ष्यमा आधारित हुनु पर्छ र लोककल्याणकारी तथा सम्वेदनशील समाज तथा राष्ट्रमा त्यस्तो हुन्छ । बालबालिका, युवायुवती प्रतिको लगानी मुलुकको भविष्यप्रतिको लगानी हो ।

त्यसैले भावी पुस्ताको स्वाभाविक या अस्वाभाविक कारणले हुने मृत्युलाई संभाव्यताको मृत्यु मानिन्छ । अझ दुर्भाग्य ती पुस्ताप्रति हुने आपराधिक र नृशंस अत्याचारले मुलुकको अनुहारमा असभ्य दाग लगाउँछ लामो समयका लागि । ‘पशु’ सँग जोडेर ‘पाशविक’ भन्दा पशुहरुप्रति अन्याय हुने केही अपराधहरुले स्थायी रुप लिइ रहेका छन् नेपालमा ।

हिजो निर्मला पन्त र आज भागरथी भट्ट र बिचमा कैयौँ अन्य छोरीहरु बलात्कार र हत्याको शिकार भएका छन् । नेपाल अभिशप्त समाज बन्न पुगेको छ । सरकारमा यी अपराधबारे गम्भीर दायित्व बोध नहुँदा अपराधी विजेता जस्तो समूह बन्न पुगेको छ । सम्बन्धित परिवारहरु पक्कै पनि पीडामा छटपटाई रहेका छन् । तर मुलुक नै आपराधिक र असुरक्षित रुपमा बाह्य जगतमा दर्ता भए त्यसले र हामी त्यहाँका नागरिकले भोग्नु पर्ने दण्ड कस्तो होला ?

सरकार, राजनीतिक दल, प्रशासनिक संयन्त्र र प्रहरीको दायित्व के? त्यतिमात्र हैन, यस्ता अपराध र अपराधीबारे पक्कै केही भरपर्दा ‘संकेत’ प्राप्त हुन सक्छन् स्थानीयबासीहरुसँग । समाज र मुलुकको छवि पतन हुने यस्ता अपराध समयवद्धरुपमा नियन्त्रण गर्न संभवतः महिला जागृति र नेतृत्वले कमसेकम सामाजिक रुपमा अग्रणी भूमिका खेल्नु आवश्यक छ ।

किनकी अहिलेको नेतृत्व महिला कमजोर मात्र हैन उसलाई हिंसाको शिकार बनाउँदा न्याय सुनिश्चित हुनु नपर्ने मानसिकताबाट ग्रस्त र सम्वेदनहिन सावित भएको छ ।

माघ २५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्