ओलीको कदमले संघीयता, गणतन्त्र र समावेशीता जोखिममा-शक्ति बस्नेत

काठमाडौँ-नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका स्थायी कमिटी सदस्य शक्ति बस्नेतले प्रधानमन्त्री ओलीले राजनीतिक परिवर्तनलाई समाप्त पार्ने बाटो तयार पार्दै गइरहेको बताएका छन्।

सोमबार शहिद बेपत्ता योद्धा परिवार, बागमती प्रदेशले काठमाडौँमा आयोजना गरेको बिरोध र्‍याली तथा कोण सभामा बोल्दै नेता बस्नेतले भने, ‘ प्रधानमन्त्री ओलीको कदमले संघीयता, गणतन्त्र र समावेशी समानुपातिक प्रतिनिधित्वको अधिकार तथा धर्म निरपेक्षताको अधिकार जोखिममा परेको छ। ओलीले यी सबै राजनीतिक परिवर्तनलाई समाप्त पार्ने बाटो तयार गर्दै गइरहेका छन्। हामीले यसको विरोधमा उत्रिनु नै बजको आवश्‍यकता हो।’

नेता बस्नेतले प्रधानमन्त्री ओलीले संसद विघटन, संवैधानिक आयोगमा गरिएका नियुक्ति लगायतलाई हेर्दा सामान्य लोकतान्त्रिक मूल्यमान्यतालाई पनि सम्मान नगरेको बताए।

उनले भने, ‘ओलीको जनबिरोधी कदमका विरुद्ध शसक्त ढंगले प्रतिवाद गर्नुपर्ने आवश्यकता पैदा भएको छ। बाहिर गएको राजनीतिक प्रणालीलाई मूलधारमा ल्याउनुपर्ने आजको पहिलो प्राथमिकता हो।’

संसद पुनस्थापना पहिलो प्राथमिकता रहेकाले अबको लडाइँ नै गणतन्त्र र धर्मनिरपेक्षता बचाउनु रहेको उनको भनाइ छ।

माघ २६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्