राष्ट्रियसभा सदस्य दिलकुमारी रावल

‘प्रचण्डले आफ्नो निर्वाचन क्षेत्रलाई पनि अवमुल्यन गर्नुभयो’ (भिडियो अन्तरवार्ता)

काठमाडौँ- राष्ट्रियसभा सदस्य दिलकुमारी रावल ‘पार्वती’ले आफ्नो पार्टी नेकपाका एक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो निर्वाचन क्षेत्र चितवनमा पूर्वप्रतिवद्धता अनुसार काम नगरेको दाबी गरेकी छिन्।

पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली खेमाकी रावलले आफूहरुको क्षेत्रको विकासमा प्रचण्डको कुनै पनि चासो नरहेको दाबी गरेकी हुन्। रावल सोही जिल्लाबाट प्रतिनिधित्व गर्छिन्।

देशसञ्चारसँगको अन्तर्वार्तामा रावलले माडीको अयोध्यापुरीमा प्रधानमन्त्री ओलीको सक्रियता राममन्दिर निर्माण हुन लागेको र त्यहाँ प्रतिस्थापन गर्न राम र सीताको मूर्ति तयार गरिनु गर्वको विषय भएको बताएकी छन्।

माडीका मेयर ठाकुर ढकालले यसअघि देशसञ्चारसँग कुरा गर्दै प्रचण्डलाई बदनाम गर्न आफूलाईसमेत ‘बाइपास’ गरेर राममन्दिर निर्माण गर्न लागेको र त्यसका लागि बालुवाटारमा राम र सीताको मूर्ति तयार पारिएको आरोप लगाएका थिए।

यो काममा रावलको पनि भूमिका रहेको ढकालको आराप थियो। तर रावलले भनिन्,‘ अहिले पनि पार्टीमा विभाजन आयो। पहिले एक हुँदा प्रचण्डले आफूले जनाएको प्रतिवद्धताअनुसार मन्दिर निर्माणमा किन सक्रियता जनाउनु भएन? त्यसबारे छलफल गर्न खोज्दा उहाँले समयसमेत दिनु भएको थिएन।’

रावलले अयोध्यापुरीमा रामधाम निर्माण गर्ने एजेण्डा ओली र प्रचण्डले संयुक्तरुपमा तयार पारेको तर पछि प्रचण्डले त्यसको कार्यान्वयनमा चासो नदेखाएको दाबी गरेकी छन्।

साथै उनले स्थिर सरकारका लागि पार्टी एकता गरिएको तर प्रचण्ड पक्षले सँधैजसो सरकार ढाल्ने कोशिस मात्रै गरेका कारण प्रधानमन्त्री ओलीले  प्रतिनिधिसभा विघटन गर्न बाध्य गरेको भन्दै ओलीको कार्यशैलीको बचाउ गरिन्।

उनले भनिन,‘ जनअपेक्षा अनुसार काम गर्न नपाएपछि र आफूलाई हटाउन खोजेपछि प्रधानमन्त्री ओलीले संसद विघटन गर्नुपर्ने अवस्थामा पुग्नु भएको हो। त्यसलगत्तै उहाँले निर्वाचन घोषणा पनि गर्नु भएको छ। फेरि जनतासँग जान्छु भन्नु गलत होइन।’

देशसञ्चारले उनलाई हालै बैतडीकी एक किशोरीको शंकास्पद मृत्यु, अयोध्यापुरीमा विवादमा परेको राममन्दिर निर्माण, संसद विघटन, निर्वाचनलगायत विषयमा केन्द्रीत भएर प्रश्न गरेको छ।

प्रस्तुत छ उनीसँग लिइएको भिडियो अन्तर्वार्ता।

माघ २६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्