राप्तीसोनारीलाई ‘पूर्ण खोप’ पालिका घोषणा

नेपालगञ्ज –बाँकेको राप्तीसोनारी गाउँपालिकालाई ‘पूर्ण खोप’ पालिका घोषणा गरिएको छ । एक समारोहका बीच गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले गाउँपालिकालाई पूर्ण खोप पालिका घोषणा गरे।

पूर्ण खोप समन्वय समितिका अध्यक्ष समेत रहेका जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तवले बाँकेलाई फाल्गुनमा पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्ने तयारी भइरहेको बताए । उनले भौतिक पूर्वाधारमात्रै नभई शिक्षा र स्वास्थ्यमा विशेष ध्यान दिन पालिका प्रमुखलाई आग्रह गरे।

गाउँपालिकाका अध्यक्ष थारुले स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिएर काम गरिरहेको बताए । उनले महिला स्वयंसेविकालाई अन्य पालिकामा भन्दा राम्रो सुविधा दिएको दावी गरे । अध्यक्ष थारुले पूर्ण खोपको अवस्थालाई निरन्तरता दिइने प्रतिबद्धता गरे ।

उपाध्यक्ष धनीकुमारी खत्रीले गाउँपालिकाले शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिएर काम गरिरहेको बताए । पालिकामा १६ देखि २३ महिनाका ९ सय ३७ बच्चा छन् । तीमध्येमा ८ सय ५६ जनाले खोप लगाइरहेका थिए ।

८१ जना बच्चा खोपबाट बन्चित थिए । पूर्ण खोपको अभियानमा ती छुटेका बच्चालाई समेटिएको स्वास्थ्य शाखाका प्रमुख विष्णुप्रसाद चुदालीले जानकारी दिए ।

जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका प्रमुख धीरजंग शाहले बाँकेका आठ पालिकामध्ये राप्तीसोनारीसहित ६ वटा पालिकामा पूर्ण खोप घोषणा भएको जानकारी दिए । अब नरैनापुर र बैजनाथ गाउँपालिका पूर्ण खोप हुन बाँकी रहेका छन् । शाहले पूर्ण खोप घोषणा भइसकेकाले पालिकाले वर्षेनी पूर्ण खोप सुनिश्चितता गर्नु पर्ने बताए।

स्वास्थ्य कार्यालय, बाँकेका खोप शाखा प्रमुख भेषराज शर्मा, डब्लुएचओका डा. पवन उपाध्याय, प्रमुख प्रशासकीय अधिकृत नरबहादुर विक, वडाध्यक्ष चन्द्रबहादुर वलीले पालिकालाई पूर्ण खोप घोषणा गराउनमा सबैको साथ सहयोग रहेको बताए।

कार्यक्रममा जिल्ला अधिकारी कुरुम्बाङ, नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धानका एसपी, वडाध्यक्षहरुको उपस्थितिको रहेको थियो।

माघ २६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्