जो साथीहरुसँग मिलेर थकाली भान्सा हाँक्छिन्

हलमा सुमधुर संगीतको धुन। धुन सुन्दै परम्परागत शैलीमा सजाइएको सजावटलाई नियाल्दै खानाको पर्खाइमा बसेका पाहुनाहरु, कोही मोबाइल खेलाउँदै। पर्खाइमा बसेकाहरुका लागि उता भान्सामा खाना बनाउन व्यस्त तालिमप्राप्त हातहरु।

कोही पकाउन व्यस्त, कोही ‘कटिङ’, कोही खानाको थाल मिलाउन। ब्यस्त सेफहरुको बिचमा गोरो वर्ण, सिल्की कपाल, हँसिलो अनुहार भएकी एक सुन्दर महिला। उनी पनि खानाका परिकारहरु थालमा सजाउन ब्यस्त थिइन्, हलमा खानको पर्खाइमा बसेकाहरुका लागि। उनी हुन्, मन्त्र थकाली रेष्टुरेन्टकी सञ्चालिका तृष्णा शेरचन ।

तृष्णा आफ्नो काममा निकै व्यस्त थिइन्। तृष्णालाई आफ्ना पाहुनासामु खाना पुर्‍याउने हतारो थियो। सकेसम्म आफ्ना पाहुनालाई नपर्खाउन परोस् भन्ने तृष्णालाई लाग्छ। त्यसैले होला उनी भान्सामा आफैँ खटिएकी थिइन्।

उनी भान्सामा यसरी खटिन लागेको वर्षौँ भए पनि व्यवसायिक रुपमा खटिएको भने दशक पुग्न थाल्यो। तर, ललितपुरको पुल्चोकस्थित मन्त्र थकाली रेष्टुरेन्टको भान्सामा खटिएको धेरै भएको छैन उनी।

तृष्णालाई स्वादिष्ट विभिन्न परिकार बनाउन, खान र खुवाउन औधी मन पर्छ। ‘म निकै फुडी छु। मलाई नयाँ–नयाँ परिकार बनाउन, खुान, खुवाउन निकै मन पर्छ। त्यसैले म आफै भान्सामा खटिन्छु र पाहुनाका लागि खाना सेट तयार गर्छु। म आफ्ना पाहुनालाई सकेसम्म सन्तुष्ट बनाउने प्रयास गर्छु’, उनले भने।

पाहुनालाई सन्तुष्ट बनाउने कोशिसले नै तृष्णा काठमाडौँ उपत्यकासम्मको यात्रा तय गर्न सफल भइन्। यहाँसम्मको यात्रामा आफ्नो मात्र हात नरहेको तृष्णा बताउँछिन्।

उनका तीन जना साथीहरु पनि यसमा जोडिएका छन्। चार जनाको मेहनत, लगन र आफ्ना लागि आफै गर्नुपर्छ भन्ने हौसलाले ललितपुरमा मन्त्रको ब्रान्च खोल्न आफूहरु सफल भएको तृष्णा सुनाउँछिन्। ‘हामीले पोखराबाट सुरु गरेका हौँ’, तिर्सनाले भनिन्, ‘पोखरामा हाम्रो दुईवटा ब्रान्च छ। यो हाम्रो ललितपुरमा तेस्रो ब्रान्च हो।’

तृष्णा शेरचन, रोशनी शेरचन, बिनिता गौचन र नमिता भट्टचनको व्यवसायिक यात्रा पोखराबाट सुरु भएको हो।

कसरी सुरु भयो भन्ने प्रश्नको जवाफमा उनले भनिन्, ‘मेरो १८ वर्षको उमेरमा बिहे भएको थियो। बिहेपछि म श्रीमानसँग जापान गएँ। त्यहाँ होटल क्षेत्रमा काम गर्न थालेँ। त्यो समयमा अरु केही अप्सन थिएन। होटलमा नै काम गर्नु पर्थ्यो। त्यहाँ मेरा साथीहरुसँग पनि भेट भयो। उहाँहरु पनि होटलमा नै काम गनुहुन्थ्यो। म जापान दुई पटक गएँ। एक पटक ४ वर्ष बसेँ भने एक पटक २ वर्ष। त्यति बेला पनि होटलमै काम गरेँ।’

उनी थप्छिन्, ‘बिस्तारै बालबच्चा भए। उनीहरुको स्याहारसुसारमा नै दिन गए। विस्तारै हुर्केपछि घरमा केही काम भएन। दिनभरि के गर्ने गर्ने भयो।’

उनलाई बिना काम घरमा उकुसमुकुस लाग्न थाल्यो। ‘होइन, यसरी घरमा बसेर हुँदैन। केही गर्नुपर्छ’, तृष्णा लाई लाग्यो। र, उनले अब के गर्न सकिन्छ भन्ने बारे सोच्न थालिन्।

के गर्ने ? कुन गर्ने ? कसरी गर्ने ? के गर्दा राम्रो हुन्छ ? यस्तै–यस्तै प्रश्न उनका दिमागमा खेल्न थाले। दिमागमा खेलेका प्रश्नको उत्तरमा उनले आफूले जानेको र अनुभव बटुलेको खाना पकाउने पाइन्। ‘अरु कामको अनुभव थिएन’, उनले भनिन्, ‘अनुभव बिनाको काम गर्नु भन्दा आफूले जानेको सिप र खाना पनि मिठो पकाउने भएकाले रिस्क लिनु भन्दा जातले पनि पाएको खाना पकाउने काम गरौँ न भन्ने भयो।’

उनका पुर्खाले पनि होटल चलाउँथेँ। पुर्खा मात्र होइन, उनका सासु–ससुराको पनि होटल थियो। उनले त्यहाँ करिब डेढ वर्ष काम गरिन्। उनले पकाएको खानाका कारणले उनकी सासुले उनलाई धेरै पटक आफ्नो होटल सुरु गर्न सुझाव दिन्थिन्।

उनलाई पनि आफ्नी सासुले भनेको काम गर्ने ठूलो इच्छा थियो। ‘सासुआमाले मलाई तिमी पनि काम सुरु गर। तिम्रो हात निकै मिठो छ भन्नु हुन्थ्यो। तर त्यो समयमा के मिलेन के मिलेन’, उनले भनिन्, ‘अब सुरु गर्छु भनेर सोचिरहेको थिएँ। तर सासुआमाले हामीलाई छोडेर जानुभयो। मलाई धेरै सपोर्ट गर्नुहुन्थ्यो।’ उनलाई आफ्नो सासुको पनि सपना पूरा गर्ने इच्छा थियो। ढिलै भए पनि सासुआमाले भनेको काम गर्ने सोच आएको र ढिलै भए पनि सासुआमाको सपना पनि पूरा हुने उनले बताइन्। तर उनले यो काम एक्लै गर्ने सोचेकी थिइनन्। त्यसैले उनले आफ्नी आमाको सल्लाह अनुसार समूहमा काम गर्ने सोच बनाइन्।

के गर्ने अब ? उनले आफ्ना जापानमा भेट भएका साथीहरुसँग सल्लाह गरिन्। उनीहरु पनि पोखरामै बस्ने भएकाले उनलाई खोज्न अप्ठेरो भएन। ‘पोखरा सानो छ। खोज्न सजिलो छ’, उनले भनिन्, ‘मैले साथीहरुलाई आफ्नो सोच सुनाएँ। उहाँहरुले पनि गरौँ भन्नुभयो। उहाँहरु पनि आफ्नो बालबच्चाको जिम्मेवारीबाट अलि मुक्त भइसक्नु भएको थियो। त्यसैले हामी चार जना एक भएर थकाली रेष्टुरेन्ट खोल्न तयार भयौँ।’

थकाली रेष्टुरेन्ट खोल्न तयार भएपछि उनीहरु नामको खोजीमा लागे। थकाली खाना अरु ठाउँमा पनि पाइन्थ्यो। तर उनीहरुलाई अरुभन्दा फरक र अरुसँग नजुध्ने नाम चाहिएको थियो। ‘रेष्टुरेन्ट सुरु गर्ने त भयो नै। त्यसका लागि नाम चाहियो। धेरै सोच्यौ। ठाउँको राखौँ भने अरुले राखिसकेका छन्। पोखरामा हामी थाकुलाको गाँउ–गाँउको नाम धेरै छन्’, उनले भनिन्, ‘जुधाउनु पनि भएन। साथीहरुको सल्लाहा अनुसार एक्स्ट्रा नाम राखौँ न। आफूले बनाएको खाना खुवाउदा मन्त्रमुग्ध होस भन्ने अभिप्रायले मन्त्र रोजौ र मन्त्रले भगवानसँग पनि जोडिन्छ भन्ने हिसाबले मन्त्र राखियो।’

मन्त्रको छनोटपछि पोखराको न्युरोडमा आफूहरुले करिब ५० लाख रुपैयाँको लगानीमा ‘मन्त्र थकाली रेष्टुरेन्ट’ सुरु गरेको तृष्णा  बताउँछिन्।

उसो त कुनै पनि काम सुरु गर्दा त्यो सँगै चुनौतीको पनि सुरुवात हुन्छ। त्यस्तै तृष्णाको ‘टिम’ ले पनि चुनौतीको सामना गरे। कुनै पनि व्यवसाय पलभरमै सफल हुँदैन। उनीहरुको व्यवसायमा पनि त्यो सम्भावना थिएन। किनभने थकाली खाना उनीहरुभन्दा अगाडि नै आइसकेका थिए। त्यसैले उनीहरुमाथि थप चुनौती थपियो। खाना मिठो पकाउनेसँगै ग्राहकहरुको मन जित्ने।

‘पोखरामा सुरुमा काम गर्न निकै गाह्रो भयो। हाम्रो जातमा पुरुषभन्दा महिला अगाडि भए पनि त्यो समयमा महिलाहरु मात्र भएकाले बाहिरी कामकाजका लागि पनि गाह्रो हुन्थ्यो । सुरुवातमा जति मिठो दिए पनि पाहुनाको चित्त बुझाउन सकिँदैन थियो’, उनले भनिन्, ‘सय जना पाहुनामा सबैको चित्त बुझाउन सकिदैन। कोही न कोहीको चित्त दुख्छ। २/४ जनाले गुनासो गरेकै हुन्छ। हाम्रो काम पनि त्यस्तै हो।’

त्यति मात्र होइन, त्यो समयमा दक्ष जनशक्तिको पनि अभाव भएको उनी बताउँछिन्। आफूहरु थकालुकै भएकाले काम गर्न सजिलो भएको र थकाली खानाका लागि कामदार पाउन निकै चुनौती थियो त्यो समयमा। ‘अहिले त धेरैले थकाली खाना बनाउन जानेका छन्। युट्युबमा भिडियो हेरेर। तर त्यो समयमा त्यस्तो थिएन। दक्ष कामदार पाउनै गाह्रो थियो, हामी चार जनाले नै सबै काम गथ्यौँ’, उनले भनिन्।

चुनौतीहरु भए पनि महिलाहरु मिलेर यसरी काम गरेको देखेर सबैले माया, हौसला दिन थाले। जसका कारणले उनीहरुलाई काम गर्दा आएका अप्ठ्याराहरु पनि सामान्य लाग्न थाल्यो।

‘समाजमा सबैले हामीलाई हौसला माया दिए। कहिले पनि महिलाहरुले होटल चलाएको भनेनन्’, उनले भनिन्, ‘हुन त हाम्रो जातमा पनि पुरुषहरु भन्दा महिला नै अगाडि हुन्छन्। महिलालाई अगाडि बढ्ने वातावरण हाम्रो जातले दिएको छ। तर समाजमा थरी–थरीका मानिसहरु हुन्छन्। कसैले पनि हामीलाई नराम्रो भनेन।’

सबैको माया र साथले नै अझ बढी गर्न सकिन्छ भन्ने आँट उनीहरुमा आयो। त्यही आँटले उनीहरुले केही वर्षपछि पोखराको लेक साइडमा अर्को ब्रान्च सञ्चालनमा ल्याए।

उनीहरुको व्यापारको आकार बढेसँगै बजारमा चिजवस्तुको भाउको आकार पनि बढ्दै गइरहेको थियो। भाउ बढ्दै जाने तर आम्दानीको आकार पुरानै भएपछि अर्को ब्रान्च पोखराको लेकसाइडमा सञ्चालनमा ल्याए। ‘बजारको भाउ बढ्दै गयो। परिवारका सदस्यहरु पनि ठूला भए। उनीहरुलाई पढाउनु लेखाउनु पर्‍यो’ उनले भनिन्, ‘एउटै ठाउँको आम्दानीले पुग्दैन। किन चार जना एउटै ठाँउमा लाग्ने। चार जनाले १–१ वटा हेरौँ भन्ने भयो। त्यसपछि पोखरामै अर्को खोल्यौँ।’

दुवै ठाउँको खानालाई पोखराका ग्राहकहरुले मात्र होइन्, पोखरा घुम्न जानेहरुले पनि निकै मन पराए। पोखरा घुम्न जानेमा काठमाडौँ उपत्यका बढी हुन्छन्। ‘काठमाडौँका गेष्टहरुले कति मिठो खाना रहेछ। काठमाडौँमा पनि खोल्नु पर्‍यो भनेपछि फेरि हामीले लकडाउन भएको दुई महिना अघि मात्र ओपनिङ गरेका हौँ’, उनले भनिन् ।

सुरु गरेकै दुई महिनामा लकडाउन भएपछि अरु जस्तै उनको व्यवसाय पनि ठप्प भयो। लामो समयको लकडाउनले ठप्प भएको आफूलाई नै कोरोना संक्रमण भएपछि बढी तनाव भएको उनले बताइन्। ‘लकडाउनका कारणले रेष्टुरेन्ट राम्रोसँग सेटअप गर्न पाएका छैनौँ। अझै धेरै काम गर्न बाँकी छ। धेरै कर्मचारीहरु त्यो समयमा घर गए। कति फर्किएका छैनन्’, उनले भनिन्, ‘कर्मचारी थप्ने अवस्था पनि छैन। कामदार पाउन पनि मुस्किल छ।’ अझै लकडाउनले दिएको धक्काबाट माथि उठ्न अझै एक–दुई वर्ष लाग्ने उनले बताइन्।

उनीहरुले सुरु गरेको पहिलो रेष्टुरेन्टमा १६, दोस्रोमा १२ र तेस्रोमा १८ गरी प्रत्यक्ष रुपमा ४६ जनालाई रोजगारी पाएका छन्। कोभिड अघि आफूहरुसँग धेरै कर्मचारी भएको तर अहिले आफूहरुसँग पुरानै कर्मचारी भएको तृष्णाले बताइन्।

उनले रेष्टुरेन्ट सुचारु गरेको केही समय भयो। ललितपुरको रेष्टुरेन्ट तृष्णा तृष्णा समाल्छिन्। बाँकी तीन जना साथीहरुले पोखरामा हेर्छन्। तृष्णालाई एक्लैभन्दा साथीहरुसँग काम गरेको खुब याद आउँछ। साथीहरुसँग मिलेर काम गरेको रमाइलो छुट्टै हुने उनी बताउँछिन्। ‘चारै जना सँगै हुदाँ रमाइलो गरी काम गरिन्थ्यो। अहिले एक्लै हुँदा त्यस्तो रमाइलो हुँदैन। त्यो रमाइलो निकै मिस भइरहेको हुन्छ’, उनले भनिन्, ‘पहिले सानो भए पनि सँगै काम गर्दा रमाइलो थियो। अहिले टाढा हुँदा याद आउँछ।’

उनीहरु पालैपालाे त काम गर्छन्। एक्लै काम गर्दा पहिले जस्तो नहुने तृष्णाले बताइन्।

सँगै यति लामो समयसम्म सँगै काम गर्दा आफूहरुबीच कहिले पनि मनमुटाव नभएको तृष्णा बताउँछिन्। एक–अर्कोबिचको समझदारी र भरोसाले आफूहरु यहाँसम्म आइपुग्न सफल भएको उनी बताउँछिन्।

आफू सफल हुनुका साथै उनीहरुले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा अरुलाई पनि सफल बनाउन काम गरिरहेका छन्। उनीहरुसँग कर्मचारीका रुपमा जोडिएकाहरुले त्यहाँबाट सिकेर आफ्नो व्यवसाय तथा बाहिर जाने पनि गरेका छन्। हाल उनीहरुसँग पहिलो रेष्टुरेन्टमा १६, दोस्रोमा १२ र तेस्रोमा ८ गरी प्रत्यक्ष रुपमा ३६ जना कर्मचारी जोडिएका छन्। कोभिड अघि आफूहरुसँग धेरै कर्मचारी भएको तर अहिले आफूहरुसँग पुरानै कर्मचारी भएको तृष्णाले बताइन्।

‘भान्सामा हामीसँग पुरानै कर्मचारीहरु छन्। वेटर परिर्वतन हुन्छन्। कोही बाहिर जान खोज्छन्’, उनले भनिन्, ‘राम्रो गर्न जानेलाई रोक्नु पनि भएन। सबैको आ–आफ्नो समस्या हुन्छ। राम्रो गर्नेलाई गर्न दिनुपर्छ।’

माघ २८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्