ट्रम्पमाथि दोस्रोपटक महाअभियोग

ट्रम्पमाथिको महाअभियोग सुनुवाई प्रक्रिया संवैधानिक, अघि बढ्यो सिनेटमा सुनुवाई

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथिको महाअभियोगको सुनुवाई प्रक्रिया सिनेटमा औपचारिक रुपमा सुरु भएको छ । सिनेटमा भएको मतदानमा महाअभियोग संविधान संवत रहेको घोषित भएपछि सुनुवाई प्रक्रिया अघि बढेको हो ।

महाअभियोगको सुनुुवाई प्रक्रिया अघि बढाउने पक्षमा डेमोक्र्याटिक पार्टीका सबै ५० तथा रिपब्लिकन ६ सिनेटरले मत दिएका हुन् । सुनुवाई प्रक्रिया अघि बढे पनि सिनेटले ट्रम्पलाई दोषी ठहर गर्ने सम्भावना भने कम छ ।

दोषी ठहर हुनका लागि १७ रिपब्लिकन सिनेटरको साथ चाहिन्छ, जुन अहिलेको अवस्था हेर्दा त्यति सम्भव नदेखिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

यसअघि सोमबार पूर्व राष्ट्रपति ट्रम्पका वकिलहरुले उनीमाथि लागेको महाअभियोगको जवाफ प्रस्तुत गरेका थिए ।

जनवरी ६ मा संसद भवनमा भएको हिंसात्मक आक्रमणमा ट्रम्पको कुनै संलग्नता वा भूमिका नरहेको दाबीसहित वकिलहरुले जवाफ पेश गरेका थिए ।

गएको नोभेम्बर ३ मा भएको चुनावमा पराजित भएका ट्रम्पले नतिजा स्वीकार गर्न नमानी बिना प्रमाण धाँधली भएको आरोप लगाएका थिए ।
उनले आफ्ना सर्मथकलाई नतिजा उल्ट्याउनका लागि अन्तिम प्रयास गर्न भनेका थिए।

जनवरी ६ मा जो बाइडेनको जितलाई औपचारिकता प्रदान गर्न संसदको संयुक्त शत्र जारी रहेका बेला ट्रम्पको उक्साहटमा उनका समर्थकहरुले आक्रमण गरेका थिए । सो आक्रमणमा एक प्रहरी अधिकारीसहित पाँचजनाको ज्यान गयो ।

हिंसात्मक बिद्रोहका लागि उक्साएको आरोपमा ट्रम्पमाथि दोस्रोपटक महाभियोग लागेको हो । तल्लो सदन हाउस अफ रिप्रिजेनटेटिभले जनवरी १३ मा ट्रम्पमाथिको महाअभियोग प्रस्ताव पारित गरेको थियो । त्यसमाथि अब सिनेटमा सुनुवाई हुन लागेको हो ।

यसअघि ट्रम्पमाथि सन् २०१९ को अन्त्यमा शक्तिको दुरुपयोगसहितका आरोपमा महअभियोग लागेको थियो । तर माथिल्लो सदन सिनेटबाट सो प्रस्ताव पारित हुन सकेको थिएन ।

१०० सिटको सिनेटमा प्रस्ताव पारित हुन दुई तिहाई अर्थात ६७ सिनेटरको साथ चाहिन्छ । अहिले डेमोक्र्याटिक र रिपब्लिकन पार्टीको समान ५०–५० सिट छ ।

सिनेटमा हुने सुनुवाईमा ट्रम्पले आफू सहभागी नहुने बताएका छन् । ट्रम्प अमेरिकी इतिहासमा दुईपटक महाभियोग लाग्ने पहिलो अमेरिकी राष्ट्रपति हुन् ।

माघ २८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्