विचार

प्रकृतिको प्राण धान्ने हिउँदे वर्षा

नेपालमा पर्ने वर्षालाई प्रकृति अनुसार पूर्व-मनसुन (मार्च-मे), मनसुन (जुन-अगष्ट), पोस्ट-मनसुन (सेप्टेम्बर-नोभेम्बर) र हिउँदे मनसुन (डिसेम्बर-फेब्रुवरी) गरी चार खण्डमा बाँडिएको छ । कूल वर्षाको करीब ८० प्रतिशत असारदेखि भदौसम्म तीन महिनामा पर्छ, बाँकी २० प्रतिशत अरु नौ महिनामा। जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न २० ठाउँका मौसमी केन्द्रमा सन् १९८१ देखि २०१० सम्म ३० बर्षको वर्षा नापेर विभिन्न खण्डमा पर्ने सरदर वर्षा निर्धारण गरेको छ ।हिउँदमा (मंसिर १६ देखि फागुन १६ सम्म) हुने ‘हिउँदे सरदर वर्षा’ ६० मिलिमिटर हुन्छ। यो सरदर वार्षिक वर्षाको करीब ३ प्रतिशत हो ।

हिउँदे वर्षा प्राणी जगतका लागि अत्यन्त महत्वपूर्ण हुन्छ। हिउँदे झरीले तोरी, फापर, गहुँ, ऊवा लगायतका खेती उब्जाउन सघाउँछ। हिउँदे वर्षाले सिंचेको जमिनबाट विरुवालाई बसन्त ऋतुमा पालुवा पलाउन, राम्ररी हुर्कन र फूल फुल्न चाहिने पोषण प्राप्त हुन्छ। पर्याप्त हिउँदे वर्षा भएका समयमा विरुवाहरू बढी उम्रन्छन् र तिनीहरू हुर्कने सम्भावना राम्रो हुन्छ। हिउँदको वर्षाले पानीका मूल छिट्टै सुक्नबाट जोगाउँछ, चैत वैशाखमा सुख्खाको असर कम हुन्छ। जति धेरै हिउँदे वर्षा हुन्छ, जलाधारको पर्यावरणमा उत्ति नै बढी टेवा पुग्छ।

विभिन्न प्रजातीका बिऊ समयमै गतिलो गरी उम्रन हिउँदे वर्षा र हिउँको भूमिका महत्वपूर्ण छ। नेपालका उच्च पहाडी र हिमाली फलफूलहरू हिउँ, तुषारो राम्ररी परेका वर्ष राम्रो फल्छन्। पश्चिम नेपालको हिमाली भेगमा पाइने देवदार रुखका बिऊ प्राकृतिक रूपमा उम्रन हिउँदमा ती हिउँले पुरिनु पर्छ। हिउँदे वर्षाले बोटबिरुवाको जीवन-चक्र, तिनमा आश्रित कीट, चराचरको जीवन-चक्रमा सहयोग र अन्ततः सिङ्गो पारिस्थितिक प्रणालीलाई जिवन्त राख्छ। हिउँदे वर्षाले जमिनको प्राकृतिक वैभवको विकास र संरक्षण गर्छ। सधैं हिउँद सुख्खा हुँदै गयो भने विभिन्न बोटबिरुवा, कीट, पशुपन्छीको अस्तित्व सङ्कटमा पर्छ।

उहिले हिउँदमा गतिलै झरी पर्थ्यो । माघेझरी छ-सात दिनसम्म लम्बिन्थ्यो। हिमालमा प्रशस्त हिउँ थपिन्थ्यो। हिउँदमा जति बढी वर्षा हुन्छ, उति तलसम्म हिउँ पर्ने सम्भावना हुन्छ। हाम्रो गाउँपारिको टिमुरलेकमा हिउँ पर्न लामो हिउँदे झरी आउनु पर्थ्यो। टिमुरलेकमा हिउँ पर्न छाडेको धेरै भयो। ४ दशक यता त परेकै छैन। म पुस, माघमा हिउँले टल्किएको रेसुङ्गा सम्झेर पुलकित हुन्छु। हिउँदे झरीले प्रकृति नै पुनर्ताजगी गरेको अनुभुति गराउँथ्यो। “रेसुङ्गामा हिउँ नपरी के झरि पर्‍यो भन्नु र! ” हाम्रा गाउँका बुढापाकाले भन्ने गर्थे। अर्थात्‌ पर्याप्त हिउँदे वर्षा भए खेती राम्रो हुने भरोसा जगाउँथ्यो। आमाले भनेको सम्झन्छु,“टिमुरलेकमा हिउँ परेको बर्ष गहुँ निकै राम्रो भएथ्यो। त्यसपछिको बर्खामा रोपेको कोदो पनि राम्रो फल्यो।” यो भनाइले हिउँदे झरी वर्षै भरिको खेतिपातिको सूचक हो भन्ने छनक दिन्छ।

रेसुङ्गा मात्र होइन, पश्चिमका वडीमालिका, घुच्ची लेक, डाँफे लेक, सिस्ने लेक हुन् वा पूर्वमा शैलुङ, जिरी, देउसा, तापेथोक, पाथीभरा देशैभरका यस्ता अनगिन्ती टाकुरामा पर्ने हिउँले हामी सबैलाई उही अनुभूति गराउँछन्। हिउँदको हिमपातले हिमश्रिङ्खलामा सञ्चय भएका हिउँको जलसारले नदीलाई सुक्नबाट बचाउँछन्। हिउँदे झरीले तराईका पोखरी, इनार र भूमिगत जलाशयको पुनःभरणमा उल्लेख्य योगदान गर्छ। यसरी हिउँदको वर्षाले समग्र जलाधारको जल विनियोजन र नदीको सन्तुलित वहावमा ठुलो भूमिका खेल्छ। वास्तवमा हिउँदे झरी हिमवत्‌खण्डको महत्वपूर्ण जीवनदायी प्रक्रिया हो।

हिजो आज हिउँदे वर्षा कम हुन थालेको छ। हिउँ पर्ने, तुषारो पर्ने कम भएको छ। समग्रमा हिउँदे पानी कम भएको छ र यसको प्रकृति पनि फरक भएको छ। एकछिन झरर्र परेर सकिन्छ, पहिले जस्तो धेरै दिनसम्म झमझम पानी पर्दैन। पानीकै अभावमा पहाडतिर हिजो आज हिउँदे खेती निकै कम भएको छ। अन्य कारण भएपनि, मूलतः हिउँदे वर्षामा आएको विश्रिङ्खलताले खडेरी बढ्दै गएको छ।

केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जलवायु प्रभाव सर्वेक्षण २०१६ गरेको थियो। देशभरमा ५ हजार ६० जनालाई प्रश्न सोधिएको थियो। ५७.१४ प्रतिशत उत्तरदाताले हिउँदे वर्षा १ देखि ४ हप्तासम्म पछि सरेको भनेका थिए। सर्वेक्षणमा ९९.३३ प्रतिशत उत्तरदाताले गएका २-३ दशकमा खडेरी बढेको अनुभव बताएका थिए। हिउँदका झरी कम हुँदै गएकाले जनजीवनमा त्यसका प्रतिकूल प्रभाव भोग्नु परेको बताएका थिए।

वर्षाबाट पर्ने पानीको मात्रा, पर्ने समय र चरित्रले जमिनको उर्वराशक्ति र चराचरहरूको जीवनमा प्रभाव पार्छ। एउटै झरीमा धेरै पानी पर्नुभन्दा थोरैथोरै पानी धेरैपल्ट परेको बढी हितकर हुन्छ। पटक-पटक परेको पानीलाई जमिनले राम्ररी सोस्ने हुँदा पछि रुख विरुवा र जीवजन्तुले उपयोग गर्न सक्छन्। हिउँद राम्रो भएको वर्ष अरु ऋतु पनि राम्रो हुने सम्भावना हुन्छ। विक्रम सम्वत्‌ २०६० को दशकमा चितवन, नवलपरासीका पहाडी क्षेत्रमा जलवायु परिवर्तन र अनुकूलनका उपाय छलफल गर्ने क्रममा स्थानीयहरूले हिउँदमा पर्याप्त पानी परेको वर्षमा खडेरी, वन डढेलो, आँधीहुरी जस्ता मौसमजन्य प्रकोप कम हुन्छन्‌ भन्ने अनुभव सुनाएका थिए।

समुदाय केन्द्रित बाढी पूर्वसूचना प्रणालीको प्रवर्द्धन र जलवायु अनुकूलन सम्बन्धी कामका शिलशिलामा इलाम, झापा, सोलुखुम्बु, रुकुम, मुगु, जुम्ला, बर्दिया, कैलाली, बाजुरा र बझाङका बासिन्दाहरूसँग छलफल गर्दा उहाँहरूका पनि यस्तै अनुभव रहेको जानकारी भयो। यी अनुभवले हिउँदे वर्षाले समुदायको विपद्‌ उत्थानशीलता अभिवृद्धि गर्न ठुलो योगदान गर्दछ भन्ने दर्शाउँछन्। बलियो वैज्ञानिक आधार नहुनाले यस्ता अनुभवलाई विपद्‌जन्य प्रकोप अनुमानका लागि उपयोग गर्न भने सकिँदैन।

जल तथा मौसम विज्ञान विभागले यस वर्ष हिउँदमा सरदरभन्दा निकै कम वर्षा हुने सम्भावना आँकलन गरेको थियो। विभागले मौसमी केन्द्रहरूमा दैनिक रूपमा कति पानी/हिउँ पर्‍यो भनेर नियमित नाप्छ, विश्लेषण गर्छ र तथ्याङ्क सार्वजनिक गर्छ। यसबाट हामीलाई अहिलेसम्म कति वर्षा पर्नुपर्ने थियो र कति पर्‍यो भन्ने जानकारी मिल्छ। अहिलेसम्म परेको वर्षा हेर्दा आँकलन सत्य हुने देखिन्छ। माघ महिनाको अन्त्यतिरसम्म सरदर ८.१ मिलिमिटर (अपेक्षित कूल हिउँदे वर्षाको करीब १३.३६ प्रतिशत मात्र) वर्षा भएको छ (हे. चित्र १)। धेरै ठाउँमा त हिउँदे वर्षा भएकै छैन।

चित्र १. हिउँदे वर्षाको अवस्था । (स्रोतः जल तथा मौसम विज्ञान विभाग)

हाम्रो हावापानी सामान्य तवरले चलेको छैन भन्नेमा अब द्विविधा छैन। अत्यधिक खनिज तेलको दोहन र सिमसार, वनजङ्गल मासिएका कारणले वायुमण्डलमा भएका प्रदुषणका दुष्परिणाम देखिन थालेका छन्। यी दोहन नरोक्ने हो भने पृथ्वीका सबै भागमा हावापानी परिवर्तन भइरहनेछ। अहिल्यै दोहन रोके पनि कम्तीमा आगामी केही दशकसम्म त हामीले यो प्रतिकूल अवस्था भोग्नु पर्नेछ। एकातिर मौसमी अवस्था विकराल हुँदै गइरहेको छ, अर्कोतिर जमिनको जथाभावी दुरुपयोग र प्राकृतिक स्रोतहरूको निस्फिक्री दोहन बढेको बढ्यै छ। रैथाने वालीहरू हराउँदै गएका छन्, न त उचित विकल्प नै हात लागेको छ। मौसम सम्वेदनशील पाखाहरूमा खेतीपाती, बसोबास र विकास निर्माणमा अपनाउनु पर्ने सावधानी र उचित तौरतरीकामा कसैको चासो रहेको पाइँदैन।

हिउँदे वर्षामा हुने गडवडीले प्राकृतिक, आर्थिक, सामाजिक प्रणालीमा पार्ने बहुआयामिक प्रभावका बारेमा गहन अध्ययन,अनुसन्धान हुन आवश्यक छ। जलवायु परिवर्तनका चुनौतीको सामना गर्न सर्वसाधारणलाई उपयोगी हुने उपाय निकाल्न सक्ने जनशक्तिको आवश्यकता छ। शहरी बसिन्दाले हिउँदे वर्षाको उपयोगिता बिर्सिंदै गएकोर हिमपातलाई मनोरञ्‍जनात्मक घटनाकारूपमा मात्र लिन थालेको पाइन्छ। नयाँ पुस्तालाई विषयको सम्वेदनशीलता बुझाउनै चुनौती हुँदैछ।

केही प्रकोप घटनाहरूले गर्ने हानिनोक्सानीको हिसाब गर्न र पुनःनिर्माण गर्न त सकिएला तर हिउँदे वर्षाको कमीबाट हुने पर्यावरणीय क्षति अपुरणीय हुनसक्छन्। हिउँदे वर्षा कम हुँदा वा समयमा नहुँदा आइपर्ने जोखिम कम गर्न अपनाउन पर्ने उपायको खोजी भएको छैन। समृद्धिका मार्गचित्र कोर्दा यस्ता अवश्यंभावी चुनौतीका बारेमा निकै सजग हुनु जरुरी छ।

हावापानीका सबै रहस्य पत्ता लगाउन र यसको परिवर्तनका कारण हुने बहुआयामिक प्रभावहरू के हुन्छन्, पूरा जानकारी अझै छैन। नेपालमा विगतको मौसमी प्रक्रियाको तथ्याङ्कको अभाव छ। यसो हुँदा हावापानीसँग सम्बन्धित बिषयहरूको गहिरो अध्ययन गर्न सहज छैन। यस्तो परिवेशमा समुदायको अनुभव र स्थानीय ज्ञान निकै उपयोगी हुन्छ। समाजमा पुस्तौनी रूपमा सञ्चित ज्ञानले कतिपय कठिन सवालहरूको गुत्थी सुल्झाउन सहज बनाउँछन्।

माघ २८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्