चौतर्फी विरोधपछि अध्यागमन विभाग बचाउमा उत्रियो

काठमाडौँ – चौतर्फी आलोचना भएपछि अध्यागमन विभागले विदेश भ्रमणमा जाने ४० वर्षमुनिका महिलाका लागि प्रस्ताव गरिएको नयाँ व्यवस्थाको बचाउ गर्दै भ्रममा नपर्न आग्रहसहितको विज्ञप्ति जारी गरेको छ ।

बिहीबार विज्ञप्ति निकालेर विभागले अहिले नै सो विषयमा अहिले नै निर्णय नभएको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘अध्यागमन विभागको आन्तरिक कार्यविधिमा संशोधन गरि पहिलोपटक जोखिम संभाव्य मुलुकमा नेपाली महिलाहरु भिजित भिसामा जाँदा परिवारका सदस्य वा स्थानीय तहको सिफारिस आवश्यक पर्ने गरि निर्णय हुन लागेको भन्ने गरि आएका समाचार प्रति ध्यानाकर्षण भएको छ ।’

विज्ञप्तिमा भनिएको छ, ‘खाडी र अफ्रिकी मुलुक जस्ता जोखिम संभाव्य मुलुकमा पहिलोपटक एक्लै यात्रा गर्ने र आफ्नो यात्राको बारे सामान्य जानकारी समेत नभएका महिलाहरुका लागि आवश्यक पर्न सक्ने गरि आन्तरिक छानबिन कार्यदलका सुझावहरुका रुपमा आएको विषय भएको र कुनै निर्णय नभएको तथा अनौपचारिक रुपमा छलफलमा मात्रै रहेको हो ।’

अध्यागमन विभागले पहिलोपटक विदेश भ्रमण गर्ने ४० वर्ष भन्दा कम उमेरका महिलालाई त्यसका लागि परिवारको सहमति र वडा कार्यालयको सिफासिर अनिवार्य रुपमा चाहिने व्यवस्था प्रस्ताव गरेको हो ।

केही दिनअघि विभागले सो प्रस्ताव गृह मन्त्रालयमा बुझाएको हो । विभागले अध्यागमन कार्यविधि २०६५ को भिजिट भिसा सम्बन्धी व्यवस्थालाई संशोधन गर्ने प्रस्ताव गृह मन्त्रालयमा पठाएको हो ।

प्रस्तावित नयाँ व्यवस्था अनुसार परिवारसँग वा पतिसँग पहिलोपटक विदेश जाने ४० वर्षमुनिका महिलाले पनि वडाको स्वीकृति लिनु पर्दैन । तर एक्लै विदेश जान चाहने ४० वर्षमुनिका महिलाका लागि परिवारको सहमति र वडाको स्वीकृति अनिवार्य गरिएको छ, त्यसको तर्कमा विभागले मानव तस्करी नियन्त्रण तथा विदेशमा समस्यामा पर्ने महिलाको संख्या कम गर्ने उद्देश्य गरेहेको दाबी गर्छ ।

माघ २९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्