काठमाडौँ- महिलामाथि भएका हिंसा र विभेदविरुद्ध काठमाडौँमा शुक्रबार मार्चपास भएको छ।

बृहत नागरिक आन्दोलनको अगुवाइमा भएको मार्च वसन्तपुरदेखि भद्रकालीसम्म पुगेको थियो।

कालो कपडा लगाएर मार्चमा सहभागी भएका महिलाहरुले सरकारले महिला हिंसा रोक्न नसकेको, बलात्कार र हत्याका घटनाहरु नरोकिएको भन्दै आक्रोश पोखेका छन्।

उनीहरुले प्रतिकात्मक रुपमा शवयात्रा गरेका छन् जसमा शंख बजाउँदै प्रतिगमनको विरोध गरिएको थियो।

सेतो धोती लगााई टाउकोमा पनि सेतो कपडा बेरेका केही युवाहरुले प्रतिकात्मक शवलाई बोकेर शव यात्रा गरेका थिए।

उनीहरुले बलात्कारपछि हत्या गरिएका कञ्चनपुरकी निर्मला पन्त, बैतडीकी भागरथी भट्ट लगायतलाई न्यायको माग गरेका छन्। कार्यक्रममा जनता समाजवादी पार्टीकी नेतृ एवं पूर्वमन्त्री हिसिला यामी, राष्ट्रिय मानवअधिकार आयोगकी पूर्वसदस्य मोहना अन्सारी लगाायत सहभागी थिए।