किन धेरैले लगाएनन् कोभिड भ्याक्सिन?

काठमाडौँ– भारत सरकारले अनुदान स्वरुप दिएको कोरोना भाइरसविरुद्धको खोप नेपाल सरकारले माघ १४ गतेबाट लगाउन सुरु गरेको थियो।

सरकारले खोप अभियान सुरु गर्नुभन्दा अगाडि नै समूह विभिजन गरेको थियो। जसमध्ये पहिलो चरणमा कोरोना भाइरस रोकथाममा अग्रपंक्तिमा खटिने व्यक्तिलाई दिइएको थियो। उक्त समयमा सरकारले अग्रपंक्तिमा खटिएका ४ लाख ३० हजार जनाले खोप लगाउने बताएको थियो।

तर अहिले पहिलो चरणको सकिएको छ।

सरकारले पहिलो चरणमा ४ लाख ३० हजार जनाले कोरोना भाइरसविरुद्धको खोप लगाउने भने पनि खोप एक लाख ८४ हजार ८ सय ५७ जनाले मात्रै लगाएका छन्। सरकारले भनेको संख्याभन्दा आधाभन्दा धेरैले खोप नलगाएको पाइएको छ।

यस्तै पहिलो चरणको खोप अभियान सकिएलगत्तै सुरु गरिएको दोस्रो चरणको खोप अभियानमा पत्रकार, युएन एजेन्सी, दूतावास तथा कूटनीतिक नियोगका कर्मचारीले खोप लगाउन सुरु गरेको बिहीबार चौथो दिन हो। यो चरणमा सरकारले पत्रकार मात्रै १३ हजारले खोप लगाउने जनाएको थियो।

यस्तै स्वास्थ्यकर्मीको तुलनामा अन्य व्यक्तिहरुले खोप कम लगाएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

‘स्वास्थ्यकर्मीले ८० प्रतिशतले लगाए। उनीहरुको तुलनामा अरुले कम लगाएका छन्’, उनले भने, ‘खोप हामीले जिल्लाको सदरमुकाममा लगाएका थियौँ। स्वयमंसेविकाहरु हिँडेर गाउँगाउँबाट आउनु पर्ने भयो। त्यसो भएर उनीहरुले लगाउन पाएनन्।’

डा. गौतमका अनुसार सही परामर्श दिन नसकेका कारण धेरै जसो कैदीहरुले खोप लगाएका छैनन्। उनी भन्छन्,‘पहिलो चरणका हामीले जेल बसेकाहरुलाई पनि खोप दिएका थियौँ। जेलमा ३५ देखि ४० प्रतिशतले मात्रै लगाएका छन्। त्यहाँ राम्रो काउन्सिलिङ पुगेन।’

निजी स्वास्थ्य संस्थामा काम गर्ने स्वास्थ्यकर्मीको तथ्याङ्क नहुँदा खोप लगाउनेको संख्यामा कमी देखिएको डा. गौतम बताउँछन्।

‘स्वास्थ्यकर्मी पनि प्राइभेटको हामीसँग डाटा थिएन। सरकारीको मात्रै थियो। जसले गर्दा हामीले प्राइभेटको डाटा लिँदा काउन्सिलमा रजिस्ट्रेसन भएको हिसाबले लियौँ। जसमध्ये कतिपय स्वदेशमा नभएको पाइएको छ।’

त्यसैगरी, सरकारले उल्लेख गरेको संख्याले खोप नलगाउनुमा दुई वटा कारण हुन सक्ने जनस्वास्थ्यविद् डा. बाबुराम मरासेनीले बताए।

उनले भने, ‘खोप लगाउनका लागि कतिपयको पहुँच भएन। कतिपयले थाहा पनि नपाएका हुन सक्छन्। कतिपयले डरले लगाएका छैनन्। गाउँबाट सदरमुकाममा आएर बस्नका लागि दुर्गममा धेरै सहज छैन। चार–पाँच दिन लगाएर हिँडेर पुग्नु पर्ने ठाउँ पनि छन्।’

डा. मरासेनीका अनुसार अहिले पनि धेरैलाई खोपप्रति विश्वास छैन। जुन कुरा सरकारले अझै पनि बुझाउन सकिरहेको छैन।

‘खोप लगाउनु पर्छ भनेर सबैलाई बुझाउन अत्यावश्क छ। सरकारले खोपका राम्रा नराम्रा पक्ष बताइदिएको भए। खोप अभियान अझ सहज हुने थियो’, उनले भने,‘खोपका बारेमा नकारात्मक कुराहरुले गर्दा पनि भएको हो। अमेरिकामा खोप लगाएका व्यक्तिको मृत्यु भन्ने समाचार पढेका व्यक्तिहरु डराए। सरकारले अमेरिकाको खोप र यो खोप फरक हो भनेर बुझाउन सकेन।’

मानिसहरुले खोप नलगाउनुको मुख्य कारण भनेकै पर्याप्त सूचना नभएको उनी बताउँछन्।

पहिलो चरणमा छुटेकालाई के गर्ने?


गत १४ माघदेखि कोरोनाविरुद्धको खोप अभियान सुरु गरेको सरकारले फागुन २ गतेदेखि पहिलो चरणको दोस्रो प्राथमिकता निर्धारण गर्दै खोप अभियान सुरु गर्ने भएको छ। दोस्रो चरणको खोप अभियानमा स्थानीय तहका जनप्रतिनिधिदेखि फ्रन्टलाइन कर्मचारीले खोप पाउने छन्।

प्रवक्ता डा. गौतमका अनुसार फागुन २ गतेदेखि जिल्लास्थित सेवा प्रदायक सरकारी कार्यालय र सार्वजनिक संस्थानहरुका कर्मचारीहरुले खोप पाउने छन्।

यस्तै पहिले छुटेका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, शव–व्यवस्थापनमा खट्नेहरु, एम्बुलेन्स चालक तथा शव–वहान चालकले खोप पाउने डा. गौतमले बताउँछन्।

‘यहि चरणमा स्थानीय पालिकाका जनप्रतिनिधिहरु, स्थानीय पालिकाका कर्मचारीहरु, सशस्त्रको विओपीमा खटिएका, जनपथ प्रहरी, आर्मीको शव व्यवस्थापनमा खटिने, बैंकका कर्मचारीहरु सार्वजनिक संस्थानका कर्मचारीहरु, यातायात, मालपोत जहाँ धेरै भीडभाड हुन्छ। त्यहाँका कर्मचारीलाई हामीले लगाउँदै छौँ’, उनले भने,‘त्यही बेला पहिला छुटेका व्यक्तिहरुलाई खोप लगाइने छ। यदी फेरि पनि यो पटक उनीहरु छुटे वा लगाउन पाएनन् भने फेरि दोस्रो चरणमा गाउँघरसम्म पुग्छौँ। त्यो बेला लगाउन पाउने छन्।’

यस्तै मन्त्रालयले आगामी फागुन २३ गतेदेखि उमेर समूह अन्तरगर्त आम सर्वसाधारणलाई खोप दिन सुरु गर्ने समेत जनाएको छ। त्यसबेला नै शिक्षक, गाडी चालक, पाइलट तथा एयर होस्टेजहरुलाई पनि खोप दिन सुरु गरिने छ।

सोही दिनदेखि ५५ वर्षमाथि उमेर समूहका लागि खोप दिने योजना अघि सारिएको मन्त्रालयले जनाएको छ।

यस्तै फागुन २३ गतेबाट नै पहिलो चरणमा खोप लिइसकेका व्यक्तिको दोस्रो चरणको खोप सुरु हुनेछ।

माघ ३०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्