विदेशमा नेपाली भाषा र संस्कृति!

डिसी क्षेत्रमा नमूना बन्दै छ नेपाली पाठशाला

'कछुवा'का विद्यार्थीहरु।

अमेरिकाको वासिङ्टन डिसी क्षेत्रमा ठूलो संख्यामा नेपालीहरुको बसोबास छ। सम्बृद्धि र ज्ञानको खोजीमा अमेरिका पुगेका ठूलो संख्यामा नेपाली यस क्षेत्रमा स्थायी तथा अस्थायी रुपमा बस्छन्। दैनिक जीवन र जीविकोपार्जनका हिसाबले यहाँको बसाइ सहज भए पनि आफ्ना छोराछोरीलाई नेपाली भाषा र संस्कृतिको ज्ञान दिन नपाउँदा भने बुबाआमा चिन्तित हुन्छन्।

दुई वर्षअघि मेरिल्यान्ड राज्यमा नेपाल शिक्षा तथा संस्कृतिक केन्द्र अन्तर्गत खुलेको नेपाली पाठशाला मेरिल्यान्डले स्थानीय बालबालिकालाई नेपाली भाषा र संस्कृतिमात्र सिकाउन थालेको छैन, सञ्चालन र व्यवस्थापनका दृष्टिले अन्य नेपाली समुदायका लागि नमूना पनि बनेको छ।

स्थापनाको दुई वर्ष पनि नपुग्दै नमूना संस्थाका रुपमा चिनिन थालेको छ यो पाठशाला। २०७६ वैशाख १ गते सुरु भएको हो यो पाठशाला।

अमेरिकाका अन्य राज्यझैँ मेरिल्यान्डमा पनि आप्रवासी नेपाली समुदायका बालबालिकाहरु ठूलो संख्यामा हुर्किरहेका छन्। नेपाली समुदायका बालबालिकाहरु घरबाहिर पनि अंग्रेजी बोल्छन्, घरमा पनि अंग्रेजी। अभिभावक र बालबालिकाहरुबीच दैनिक बोलचालमा अंग्रेजी भाषामा मनका सबै भाव अभिव्यक्त गर्न सकिँदैन । आफ्ना बालबालिकालाई आफ्नो संस्कृति र भाषाबारे जानकारी दिन नपाउँदा नेपाली समुदायका अभिभावकहरु केही गर्न हुट्हुटिइरहेका थिए।

यही एउटा कारण थियो- यस पाठशालाका अभियन्ताहरुलाई हौस्याएको!

पाठशाला सञ्चालक समितिका सदस्यहरु।

‘हाम्रो आफ्नै घर र समुदायमा देखिएको नेपाली भाषा तथा संस्कृति सिक्ने र प्रवर्दन गर्ने आवश्यकतालाई पूरा गर्न पाठशाला सुरु गरेका हौं,’ पाठशालाका प्रिन्सिपल तथा संस्थापकमध्येका एक डा. रामु बिश्वकर्मा भन्छन्। दोस्रो पुस्तालाई भाषा सिकाउने बाहेक पाठशालाको अरु सामाजिक भूमिकाको बारेमा राम्रो पहल रहेको उल्लेख गर्दै डा. बिश्वकर्मा भन्छन्, ‘पाठशालाले समयसमयमा विभिन्न कार्यक्रमहरु जस्तै पिकनिक, बिद्यार्थीहरुको प्रतिभा प्रदर्शनी, अनि दशैं-तिहारको जमघट गरी पाठशालासँग सम्बन्धित तथा पाठशाला वरिपरि बस्ने नेपाली समुदायलाई एउटै सञ्जालमा ल्याउन ठूलो भूमिका खेलेको छ।’

यो पाठशालाका संस्थापकमध्ये एक तथा भाइस-प्रिन्सिपल डा. कुमार मैनाली भन्छन्, ‘हामी लामो समयदेखि अमेरिकामा बसोबास गरिरहे पनि अंग्रेजी भाषामा सबै भाव अभिव्यक्त गर्न सक्दैनौँ। बालबालिकालाई नेपाली भाषा र संस्कृतिबारे राम्ररी बुझाउन सक्दैनौँ।’

उनी थप्छन्, ‘हामी आफैँलाई पनि छोराछोरीसँग गफ गर्न गाह्रो भयो। तै पनि हामी त एक तहको कम्युनिकेसन गर्छौँ। तर हाम्रा बुबाआमासँग त उनीहरुको खासै कुराकानी हुँदैन। हजुरआमा र नातिनातिनाबीचको जुन अद्भूत सम्बन्ध हो, त्यो चाहिँ हासिल हुन सकिरहेको थिएन।’

हो पनि, हजुरआमा र हजुरबुबासँग नातिनातिनाको खास सम्बन्ध हुन्छ। विशेष प्रकारको माया। हजुरआमा र हजुरबुबालाई नातिनातिनासँगको सहचार्य र आनन्द नभएको अनुभूति हुन्थ्यो भने नातिनातिनालाई त्यो मौलिक ज्ञानको स्रोतसँग अन्तर्क्रिया गर्न नपाउँदा एउटा पक्ष छुटिरहेको हुन्थ्यो।

‘त्यही भएर हामीले बालबालिकालाई नेपाली भाषा र संस्कृति बुझाउन केही गर्नैपर्ने ठानेर यो पाठशाला सुरु गर्‍यौँ,’ उनले भने।

पाठशाला व्यवस्थापन समूहले यसको सञ्चालनमा मुख्यत: तीनवटा लक्ष्य राखेको छ।

पहिलो लक्ष्य हो- भाषा सिकाउने।

आनन्दसँग धित मर्ने गरी नेपाली भाषामा गाउँघरमा आफ्ना हजुरबुबा र हजुरआमासँग बालबालिकालाई बोल्न सिकाउने लक्ष्य पाठशालाले राखेको छ। आफ्ना अभिभावकहरुसँग पनि आफ्ना बालबालिकाले नेपालीमा बोलून् भन्ने पाठशालाको लक्ष्य हो।

शिक्षकहरुलाई तालिम दिँदै डा. मैनालीसहित अन्य।

पाठशाला व्यवस्थापन समूहको अर्को लक्ष्य हो- संस्कृति सिकाउने।

‘तर धर्मसंस्कृतिप्रति अन्धभक्ति भने हामी सिकाउँदैनौँ। दसैँ तिहार लगायत पर्वहरुको विशेषता सिकाउँछौ,’ डा. मैनालीले सुनाए।

पाठशालाले देउसीभैलौलगायत कार्यक्रम सञ्चालन गर्छ। दसैँका बेला टीका लगाउने कार्यक्रम आयोजना गर्छ। यसले बालबालिकालाई नेपाली संस्कृतिप्रति अपनत्व बढ्छ भन्ने व्यवस्थापनको सोच छ।

पाठशाला व्यवस्थापन समूहको तेस्रो लक्ष्य हो- सामुदायिक भावको विकास।

बालबालिकालाई पाठशाला लिएर आउँदा आमाबुबाहरु विभिन्न सामुदायिक गतिविधिका सहभागी हुन्छन्। कहिले विभिन्न विषयमा छलफल गर्छन् भने कहिले फुटबललगायत खेल गतिविधिमा सामेल हुन्छन्।

कोभिडअघि एक स्थानीय पाठशाला आइतबार भाडामा लिएर नेपाली विद्यालय चलाउने गरिन्थ्यो। कोभिडपछि चाहिँ अहिलेसम्म अनलाइन कक्षामै पठनपाठन भइरहेको छ।

अहिले पाठशालामा ७५ जना विद्यार्थी छन्। साताको एक दिन आइतबार डेढ घण्टा पाठशालाको कक्षा हुन्छ।

अनलाइनबाटै बालबालिकालाई गृहकार्यहरु दिन्छन्। बालबालिकाले अनलाइनबाटै बुझाउँछन्, बुबाआमाको मद्दत लिएर।

‘पाठशाला खोल्ने निर्णय लिएको छ हप्ताभित्रै ७५ जना विद्यार्थीहरूको कक्षा सुरु भइसकेको थियो। छ हप्ताभित्रै पाठशालाका संस्थापकहरुले पाठशालालाई चाहिने स्रोतहरू जुटाएर वैशाख १ गतेदेखि पाठशाला सञ्चालन गर्न तयार थिए। ‘सञ्चालकहरुको छोटो समयमै निर्णय लिएर कार्यान्वयन गर्न सक्ने क्षमताले गर्दा नै पाठशाला सफल भएको हो,’ पाठशालाकी संस्थापक सदस्य तथा शिछक समज्ञा अर्याल भन्छिन्।

अभिभावकहरु र शिक्षकहरुबीच छलफल।

सामान्य पाठशाला जस्तो कक्षा १, कक्षा २, कक्षा ३ छैन यस पाठशालामा। यहाँ सञ्चालकहरुले कक्षाकोठाको नाम कछुवा, खरायो र मयुर राखेका छन्।

‘कछुवा चाहिँ नेपालको एक कक्षाजस्तो हो। खरायो नेपालको दुई कक्षाजस्तो। अर्को नेपालको तीन कक्षाजस्तो मयुर छ,’ डा. मैनालीले सम्झिए।

अब चार कक्षाजस्तो डाँफे सुरु गर्ने सञ्चालकहरुको योजना छ।

कछुवामा भर्ना भएको विद्यार्थी सामान्य भाषा सिकेर हरेक २ वर्षमा खरायोमा उक्लन्छ। खरायोबाट सामान्यतया: दुई वर्षमा मयुरमा जान्छ।

सञ्चालकहरुले नेपालको मेरो नेपाली किताबलाई मूल पाठ्यक्रमममा राखेका छन् भने एनआरएनले प्रकाशन गरेको किताब पनि पढाउँछन्। कोर्नेल र त्रिवि मिलेर बनाएको सामग्री पनि सन्दर्भका रुपमा लिन्छन्। यसबाहेक सञ्चालकहरुले संस्कृति र भाषाका कतिपय पाठ्यक्रमबाहिरका विषय पनि विद्यार्थीहरुलाई सिकाउँछन्।

सञ्चालक समिति तथा शिक्षकहरुलगायत करिब २२ जनाको टिम छ पाठशाला सञ्चालनमा सक्रिय।

सबैले स्वयम्‌सेवककै रुपमा काम गरिरहेका छन्। पाठशाला सञ्चालन गरेबापत कसैले एक रुपैयाँ पनि लिँदैन। विद्यार्थीबाट भने मासिक २५ डलर प्रतिव्यक्ति उठाउँछन्। यसमा पनि दिननसक्ने कोही भए मिनाहा हुन्छ।

‘विद्यार्थीहरुबाट उठाएको यो पैसाले पाठ्यसामग्री र पाठशाला सञ्चालनमा आवश्यक पर्ने अन्य सामान किन्छौँ,’ डा. मैनाली भन्छन्।

ब्यस्त जीवनमा समय निकालेर पाठशाला ब्यबस्थापन र संचालन गर्ने काम सजिलो भने छैन। यो काम पाठशाला ब्यबस्थान, शिक्षकको मात्र होइन, यसमा बिद्यार्थी र अभिवावकहरुको पनि धेरै मिहेनत परेको छ। पाठशालाकी संस्थापक सदस्य तथा शिक्षक कृपा तिवारी भन्छिन्, ‘भर्खरै औपचारिक शिक्षा थालनी गरेका पाँच वर्षका बालबालिकाहरुलाई उनीहरूको बिदाको दिन एउटा नयाँ भाषा लेख्न र पढ्न सिकाउन चुनौतीपूर्ण हुँदो रहेछ। हरेक कक्षालाई रमाइलो बनाउन र नेपाली पठनपाठनप्रति उनीहरूको अभिरुचि कायम राख्न हामी आफै पनि नेपाली भाषाको र भाषा सिकाउने नयाँनयाँ तरिकाहरु अध्ययन गरिरहेका हुन्छौं।’

‘कुनै पनि काम राम्रोसँग गर्न चाहिने सबैभन्दा ठूलो कुरा राम्रो टीम हो। पाठशाला सफलताको बाटोमा जानुको कारण यसलाई सञ्चालन गर्न आफ्नो अमूल्य समय र विवेक उदारपूर्वक दिने सञ्चालक समितिका सदस्यहरु र शिक्षकहरु नै हुन्’, प्रिन्सिपल डा. बिश्वकर्मा भन्छन्। पाठशालाका अन्य सञ्चालक सदस्यहरुमा डा. रोशन श्रेष्ठ, बबिता श्रेष्ठ, प्रवेश अर्याल, रबिन्द्र शाक्य, र बिनालक्ष्मी मैनाली छन्।

सामुदायिक प्रयासले ठूलो र दीर्घकालीन महत्त्वको काम गर्न सकिने रहेछ भन्ने उदाहरण बनेको छ वासिंगटन डिसी क्षेत्रमा यो नेपाली पाठशाला।

फाल्गुन १, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्