सरस्वतिका मूर्ति बनाउन व्यस्त जहदाका रघुनाथ

विराटनगर – यतिबेला रघुनाथ मण्डलको दैनिकी निर्माणाधीन मूर्तिहरुलाई अन्तिम रुप दिनुरहेको छ।

मोरङको दक्षिणपूर्वमा अवस्थित जहदा गाउँपालिका घर भएका ५१ वर्षीय मण्डल मात्र होइन्, उनकाे परिवार नै केहीदिनपछि नजिकिँदै गरेकाे सरस्वती पूजालाई केन्द्रित गर्दै मूर्तिलाई अन्तिम रुप दिन व्यस्त रहेको हो।

गाउँपालिका वडानम्बर ५ स्थित लक्ष्मीनिया चौक नजिकैको एक टहरामा उनले बनाएका मूर्तिको चांग नै छ।

गाउँपालिकाबाट करिब ४ किलोमिटरको दूरीमा मण्डल परिवारको घर रहेको छ। घरबाट आलोपालो गर्दै बिहानैबाट टहरामा मूर्ति निर्माणमा उनीहरुको दैनिकी बित्दै आएको रघुनाथले जानकारी दिए।

गाउँपालिकामा ३ दशकअघिदेखि नै मूर्तिको कारोबार गर्दै आएको बताएका मण्डलले मूर्ति निर्माण पेशा संकुचित हुँदै गएकोमा चिन्ता व्यक्त गरे। ‘नयाँ पिँढीका केहीलाई मात्र यस्तो पेशा अंगाल्न मन लागेको पाउँछु, त्यती मन पराउँदैनन्’, उनले भने।

बुवाबाट आफूले मूर्ति बनाउने सीप सिकेको बताएका रघुनाथले पेशालाई निरन्तरता दिन २२ वर्षीय छोरा मोहनलाई अभ्यस्त बनाउँदै लगेका छन्।

विभिन्न पूजा उत्सवमा उनीहरुलाई मूर्ति बनाउन समय नै कम हुने गरेको छ। रघुनाथ भन्छन्, ‘प्रत्येक वर्ष हुने दूर्गा पूजा, कृष्णजन्माष्टमि, विश्वकर्मा पूजा, सरस्वति पूजा लगायतमा मूर्ति बनाउन भ्याइ नभ्याई हुने गरेको छ। बजारमा समयानुसार मूर्तिको माग बढ्दो भए पनि अब यसरी मूर्ति बनाउने कर्मीको संकट हुन थालेको छ।’

मूर्तिमा आकार दिँदै आएका उनका छोरा मोहन पनि बुबा रघुनाथको भनाइमा सहमत देखिए। मोहनले हाँस्दै भने, ‘मूर्ति बनाउन सानैबाट सिकेको छु। तर, आफूसँगैका साथीभाइ भने यस कलामा त्यती चासो राख्दैनन्।’

मण्डल परिवारले बनाएको मूर्ति कटहरी गाउँपालिका र विराटनगरसम्म जाने गरेको छ। रघुनाथ भन्छन्, ‘हामीले बनाएको मूर्ति यहाँमात्र होइन। भारतसम्म खरिद गरि लाने गरेका छन्। गाउँपालिकाबाट करिब ३ किलोमिटरमा भारतको डुमरिया छ। त्यहीबाट बढि माग आउने गरेको छ।’

गएको वर्ष सरस्वति पूजामा राम्रो माग आएको बताएका रघुनाथले यसपटक भने मूर्तिको माग कम आएको बताए। यसपटक विगतझैँ व्यवसाय नभएको बताउँदै उनले भने, ‘गएको वर्ष कोभिडको कुरा थिएन। हामीले धेरै बनायौँ। यसपटक माग कम छ। तर पनि माग अनुसार ६० वटा मूर्र्ति बनाइरहेका छाैँ।’

विगत वर्षमा उनीहरुले ८० देखि ९० वटासम्म मूर्ति बनाउँदै आएका थिए। मूर्ति बनाउनका लागि उनीहरुले गाउँबाट माटो खरिद गरि ल्याउने गरेका छन्।

सामान्य भन्दा अलि फरक चिप्लो माटोको आवश्यकता रहने बताएका मोहनले आफूहरुले प्रति मूर्ति न्यूतम १ हजार ५ सय देखि ८ हजार रुपैयाँसम्म लिने गरेको जानकारी दिए।

तर, यसवर्ष सरस्वति पूजाका लागि अधिकतम् ६ हजार रुपैयाँसम्मको मूर्तिको माग आएको मोहनले बताए।

माटोसँगै उनीहरुले सिमेन्टको मूर्तिसमेत बनाउने गरेका छन्। जसको मूल्य २५ हजार रुपैयाँसम्म पर्ने रघुनाथले बताए।

फाल्गुन १, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्