घरघरमा धारा बनेपछि खुशीयाली

सिमकोट – वर्षौँदेखि खोलाको पानी प्रयोग गर्नु पर्ने बाध्यताबाट सिमकोट गाउँपालिका वडा नम्बर १ को दोजाम गाउँका स्थानीय मुक्त भएका छन्। खानेपानी योजना निर्माण भएर घरघरमा धारा जडान गरिएपछि उक्त बाध्यताबाट स्थानीयले छुटकारा पाएका हुन्।

वर्षौँ पहिलेदेखि खोलाको पानी पिउन बाध्य रहेका गाउँबासीलाई नयाँ खानेपानी योजना निर्माण भएसँगै खोलाको पानी प्रयोग गर्नै पर्ने बाध्यता हटेको दोजाम गाउँका स्थानीय नरेन्द्र लामाले जानकारी दिए।

दोजाम गाउँका ६१ घरधुरीका लागि चार वटा मेसिन जडान गरिएका च्याम्वरबाट खानेपानीको पाइप लाइन वितरण गरिएको हो। घरघरमा धारा जडान गरिएपछि शुद्ध खानेपानी पाउनुका साथै समयकाे बचत पनि भएकाे स्थानीय बासिन्दाकाे भनाइ छ।

घरघरमा धारा जडान भएसँगै खोलाको पानी ल्याएर निर्माण गरिएको धारामा पानी भर्ने मानिसको लाइन पनि हटेको छ । पानी प्रयोग गर्ने स्थानीयले मिटर प्रणाली अनुसार खर्च भएको पानीको न्यूनतम शुल्क पनि उपभोक्ता समितिलाई बुझाउने गरिन्छ ।

यसरी खानेपानीको महशुल तिर्नेमा सिमकोट गाउँपालिकाको वडा नम्बर ५ र ६ का स्थानीय पछि दोजाम गाउँ तेस्रो भएको हो । यो धारामा हाल पशुबस्तुले पानी पिउने गर्छन् । गाउँबाट तीन किलो मिटर अग्लो स्थानमा रहेको मुहानदेखि पाइप लाइनबाट दोजाम कर्णालीमा पानी तारेर उक्त खानेपानीको योजना निर्माण गरिएको हो ।

फाल्गुन १, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्