छोरीलाई ‘ठूलो मान्छे’ बनाउँछुु

शर्मिलाको सपनामा सारथी बन्दै हात्तीहात्ती

काठमाडौँ– किशोरावस्थामा चञ्चलता, जान्ने उत्सुकता, दायाँबायाँ नसोची झट्ट काम गरिहाल्ने स्वभाव हुन्छ धेरैको। उनको स्वभाव पनि यस्तै थियो। स्कुल जान र साथीहरुसँग रमाइलो गर्न औधी मन पथ्र्यो।

चितवनकी शर्मिला प्रजा उमेरले १५ वर्ष मात्र टेकेकी थिइन्। घरमा विवाहको चर्चा चल्यो। के सही हो, के गलत हो छुट्याउन सक्ने उमेर भएकै थिएन। उनले ‘हुन्छ’ भनिदिइन्। कक्षा ६ मा पढ्दै गर्दा १५ वर्षको कलिलो उमेरमै उनको बिहे भयो। उनले श्रीमानलाई बिहेअघि दुई पटक मात्र भेटेकी थिइन्।

‘मैले सुरुमा त देखेकी पनि थिइनँ। दाइले चिनाउनु भएको हो। घरको सल्लाहमा त्यो केटासँग मलाई पठाए,’ उनले विगत सम्झिँदै भनिन्, ‘के गर्नु, उमेर पनि त्यस्तै केही थाहा थिएन। बिहे के हो भन्ने पनि थाहा थिएन।’

बिहेले शर्मिलाको जीवन नै बदलिदियो। श्रीमान के गर्छन्, कता जान्छन्? शर्मिलालाई केही थाहा हुन्थेन। बिहे गरेको सालभरमै श्रीमानले छोडे। त्यसै वर्ष उनले छोरीलाई जन्म दिइन्।

आफै खेल्ने कुद्ने उमेरमा उनी आमा बनिन्। नवजात शिशुको स्याहार गर्न सक्ने न त उनको क्षमता थियो न त उमेरले नै परिपक्क बनेकी थिइन्। छोरीको स्याहारसुसार शर्मिलाकी आमाले गर्न थालिन्। ‘मलाई त बच्चाको माया नै लाग्थेन सुरुमा। तीन वर्षसम्म आमाले नै पाल्नु भयो,’ उनले सुनाइन्।

श्रीमानले छाडेपछि उनलाई कतिले अर्को बिहे गर्न पनि सल्लाह दिए।

‘किन यत्तिकै बसेको पोइल जा भन्थे। जसलाई जे मन लाग्यो भन्थे। तर अरुले भनेको जस्तो नहुँदो रैछ आमालाई। माया नलागे पनि बच्चालाई छोडेर कसरी जानु? कोसँग जानु? यस्तो कुराले साहै चित्त दुख्थ्यो,’ शर्मिलाले भनिन्।

बहिनीको यस्तो हालत देख्न नसकेपछि दाइले काठमाडौँ जाने सल्लाह दिए। त्यतिबेला भक्तपुरमा सिलाइकटाइको तालिम खुलेकाले आफूलाई दाइले भक्तपुर पुर्‍याएको शर्मिलाले बताउँछिन्।

‘म घरमै थिएँ। काठमाडौँमा सिलाई सिक्ने खुलिरहेको छ, सिक भन्नुभयो दाइले। मैले हुन्छ भनेँ। त्यतिबेला मेरो छोरी ११ महिनाकी थिइ,’ उनले भनिन्।

११ महिनाकी छोरीलाई छोडर उनी आफ्नो र छोरीको भविष्यका लागि काठमाडौँ छिरेकी थिइन्। काठमाडौँ छिरेपछि उनले कहिल्यै पछाड फर्कनु परेन।

‘६ महिना भक्तपुरमा सिलाइकटाइ सिकेँ। त्यसपछि गार्मेन्टमा काम गर्न थालेँ,’ उनले भनिन्, ‘मैले कोटेश्वर, भक्तपुर, जोरपाटी, टेकुको गार्मेन्टमा काम गरेँ।’

कमाउन थालेपछि उनले छोरीलाई पनि काठमाडौँ ल्याइन्। उनले ११ महिना हुँदा छोडेकी छोरी तीन वर्ष पुगिसकेकी थिइन्।

‘श्रीमानले छोडर गएपछि के गर्ने केही थाहा थिएन। यत्तिकै थिएँ। दाइले यहाँसम्म ल्याउनु भयो,’ उनले भनिन्, ‘अरुको भरमा बाचेर भएन। आफूले पनि केही गर्नुपर्छ भन्ने सोचले दाइको सिलाइ सिक्ने कुरालाई नाइँ भनेकी थिइनँ। जसको कारणले मैले आफ्नो छोरीको बारेमा सोच्न सकेँ। म आफ्नो छोरीलाई ठूलो मान्छे बनाउँछु।’

अहिले छोरी ९ वर्षकी भइन्। शर्मिला २५ वर्ष। छोरी ३ कक्षामा पढ्छिन्। आजभोलि त उनलाई छोरीको असाध्यै माया लाग्छ। ‘अहिले त छोरीको धेरै माया लाग्छ। त्यो बेला उमेर पनि त्यस्तै के गर्ने। यस्तो जीवन होला भनेर कहिले सोचेकी थिएनँ,’ शर्मिला भन्छिन्, ‘मेरो जीवन जस्तो भयो भयो, अब म आफ्नो छोरीको भविष्य राम्रो बनाउँछु। जति दुःख गरेर भएपनि छोरीलाई राम्रोसँग पढाउँछु।’

उनी थप्छिन्, ‘मेरो छोरी पनि निकै ज्ञानी छ। सबै कुरा बुझ्छे। आफूसँग नभएको कुरालाई जिद्दी गर्दिन। आफै पढ्ने, लेख्ने स्कुल जाने गर्छे।’

उनले छोरीलाई बुवाको बारेमा पनि सबैकुरा सुनाइन्। तर छोरीले आफ्नो बुवाको बारेमा केही नसोध्ने शर्मिला बताउँछन्। भन्छिन्, ‘छोरीले कहिले नदेखेर होला। बुबाको कहिले कुरा गर्दिन।’

अब शर्मिलाको एउटै लक्ष्य छ, छोरीलाई सक्षम बनाउने। उनको लक्ष्यमा हात्ती हात्ती संस्थाले साथ दिइरहेको छ।

हात्तीहात्तीसँग कसरी जोडिइन् शर्मिला?

टेकुको गार्मेन्टमा काम गर्दैगर्दा उनलाई एकजना साथीले हात्तीहात्ती संस्थाका बारेमा बताइन्। साथी सोही संस्थामा काम गर्थिन्।
‘त्यो बेला म टेकुमा काम गर्थेँ। साथीले हात्तीहात्तीका बारेमा भनिन्– तिमी म काम गर्ने अफिसमा आऊ, तिमीलाई राम्रो हुन्छ। त्यसपछि म हात्तीहात्तीमा आइपुगेँ,’ शर्मिलाले भनिन्।

त्यहाँ गएपछि आफूलाई धेरै सजिलो भएको शर्मिलाले बताइन्। ‘अफिसमा आइसकेपछि मैले अफिसका दिदीहरुलाई आफ्नो सबै कुरा भनेँ,’ उनले भनिन्, ‘उहाँहरुले मलाई सहयोग गर्नुभयो। उहाँहरुले छोरी पढाउन सहयोग गर्नुभएको छ।’

यतिमात्र होइन, अफिस बिदा भएका दिन उनलाई अन्य ठाँउमा पनि काम गर्न सजिलो भएको छ। उनले भन्छिन्, ‘हप्ताको शनिबार र आइतबार बिदा हुन्छ। खाली समयमा यतिकै बस्नुभन्दा भनेर अरुको घरमा काम गर्छु।’

शर्मिला हात्तीहात्तीसँग जोडिएको करिब चार वर्ष भयो। उनले हात्तीहात्तीमा पुराना सारीका नयाँ–नयाँ डिजाइनका सामाग्री बनाउँछिन्। जहाँ शर्मिला जस्ता अरुले पनि रोजगारी पाएका छन्।

के हो हात्तीहात्ती?

यहाँ नेपालका सीमान्तकृत समुदायका महिलाहरुलाई सशक्तिकरण गर्न शिक्षा र व्यवहारिक प्रशिक्षणका साथै सिलाइकटाइ पनि सिकाइन्छ। जसका कारणले महिलाहरु दक्ष, सिर्जनशिल उद्यमी तथा स्वतन्त्र व्यक्ति बन्न सक्ने संस्थाकी कार्यकारी निर्देशक सजना जिरेल बताउँछिन्।

विगत ७ वर्षदेखि सिमान्तकृत महिलाहरुलाई आत्मनिर्भर बनाउन सिलाईकटाई तथा जीवनपयोगी शिक्षा सम्बन्धी तालिम तथा रोजगारी दिँदै आएको उनले जानकारी दिइन्। आफूहरुले धेरैलाई तालिम दिएको र कतिपयले आफ्नै व्यवसाय सुरु गरेको उनको भनाइ छ। हात्ती हात्तीमा हाल पाँच जना काम गरिरहेको जिरेलले बताइन्।

उनले हरेक वर्ष दुईजना महिलालाई तालिम दिएर काम पनि दिने बताइन्। उनीहरुले हात्तीहात्तीमा काम सिकेपछि आफ्नै काम सुरु गर्न सक्ने वा आफूलाई मन लागेको जुनसुकै ठाँउमा जान सक्ने जिरेलले सुनाइन्।

‘हामीले इंङ्ग्लिस, म्याथ, नेपाली र सोसल विषय पढाउँछौ। यी विषयमा सामान्य ज्ञान राख्दा पछिलाई पनि काम लाग्ने भएकाले सिकाएका हौँ,’ उनले भनिन्, ‘जसका कारणले उनीहरुले यहाँ मात्र नभएर अन्य ठाँउमा र आफै पनि काम सुरु गर्न सक्छन्। कतिपयले काम गरिरहेका पनि छन्। तर लकडाउन अघि हात्तीहात्तीमा आठ जना बहिनीहरु काम गर्थे। लकडाउनपछि पाँचजना मात्र छन्। हाम्रो क्षमता आठ जनाको हो।’

हात्तीहात्तीको रोचक पाटो के छ भने यहाँ सिलाइ सम्बन्धी काम त गरिन्छ नै, पुराना सारीबाट नयाँ सामग्री पनि बनाइन्छ। संस्थाले पुराना सारीहरु संकलन गर्छ। निर्देशक जुरेलका अनुसार धेरै सारी सहयोगमै आउँछन्। ती सारीहरु आफ्नै समुदाय, चिनजान भएकाहरुबाट नै संकलन गर्ने उनले जानकारी दिइन्। धेरैले कार्यालयमा झनै सारी पुर्‍याइदिने गरेको पनि उनको भनाइ छ।

‘हामीले धेरैलाई अफिस ( ललितपुरस्थित झम्सिखेल) मा नै सारी पुर्‍याउन भन्छौँ। ताकी उनीहरुले हामीले गरिरहेको काम हेर्न सकुन्,’ उनले भनिन्, ‘अफिस नआउन सक्ने अवस्थामा हामी आफै संकलनका लागि जान्छौँ।’

उनका अनसार त्यसरी आएका सारीलाई पहिले सफा गरिन्छ, त्यसपछि ‘आइरन’ गरेर नयाँ सामग्री बनाउनका लागि तयार गरिन्छ। त्यसरी तयार भएको सारीको अवस्था र गुणस्तर हेरेर दैनिक जीवनमा काम लाग्ने सामाग्री बनाउने गरेको उनले बताइन्।

‘हामीसँग भएका बहिनीहरुले सफा गरेका सारीबाट कुशन, कुशन कभर, किमोन, पाउच, जाडोमा लाउने ज्याकेट, बच्चाका लागि फ्रक, आउटर, बेल्ट, हेयर ब्याण्ड, स्क्रन्चज, ड्रेस, स्कट, सुरुवाल, स्काफ, ब्याग, मास्क लगायतका सामान बढाउन्छन्,’ उनले भनिन्, ‘उनीहरुले आफ्नो क्रियटिभिटी प्रयोग गर्छन्।’

सारीको एक टुक्रा पनि खेर नजाने उनी बताउँछिन्। सुरुसुरुमा यसरी पुराना सारीबाट बनेका सामगीहरु बेच्न गाह्रो परेको उनले बताइन्।

‘पहिले त मान्छेले पुरानो सारी। कहाँ बाट ल्याएको हो। मरेको मान्छेको होला। हामीले लाउँदा नराम्रो हुन्छ भन्ने सोच थियो,’ उनले आफ्नो अनुभव सुनाउँदै भनिन्, ‘किन्दैन थिए। एकातिर युवाहरुले सुरु गरेको त्यसमाथि पुरानो सारी गाह्रो भयो।’

विस्तारै उनको समूहले आफ्नो कामका बारेमा बझाउन सुरु गर्‍यो। कतिपयले कुरा बुझे पनि। कतिलाई बुझाउन गाह्रो भयो। नेपालीहरुलाई बुझाउने क्रममा अन्तराष्ट्रिय बजारले आफूहरुलाई सहयोग गरेको उनले जानकारी दिइन्।

‘त्यो समयमा हाम्रो बजार भनेको अन्तराष्ट्रिय बजार थियो। किनभने उनीहरुका लागि पुरानो सारी नभएर अप साइकलिङ मेथड थियो। यसले वातावरणलाई सपोर्ट गरिरहेको छ भन्ने उनीहरुले बुझेका थिए,’ उनले भनिन्।

अहिले भने नेपाली बजारमा पनि उनीहरुले बताएका सामग्रीको माग राम्रो छ। वातावरण मैत्री भएकाले पनि सबैले राम्रो काम गरेको भनेर प्रोत्साहान गर्ने गरेको कार्यकारी निर्देशक जिरेलको अनुभव छ।

उनले भनिन्, ‘धेरै युवाहरुले सहयोग गर्नुभएको छ। हाम्रो काम वातावरण मैत्री छ भन्ने उहाँहरुले बुझ्नु भयो। यो सब कुरा बुझेर आफै पुराना सारीहरु खोजेर ल्याउनुहुन्छ। यो हाम्रो लागि ठूलो कुरा हो।’

यसरी बनेका सामग्रीको बजारमूल्य ७५ रुपैयाँदेखि ३ हजार रुपैयाँ रहेको उनी बताउँछिन्। उत्पादित सामग्री खरिदका लागि सोझै कार्यालयमा आउन सकिने र लोकल प्रोजेक्ट तथा ‘तिम्रो कन्सेप्ट’मार्फत पनि खरिद गर्न सकने उनले बताइन्।

आफूहरुले बनाएका सामान खरिद गर्न कार्यालयमा आउन आग्रह उनको आग्रह छ। ‘अफिसमा आउँदा हाम्रो काम देखिने र कसरी र को–को काम गर्छन् भन्ने ग्राहकहरुले पनि थाहा पाउछन्,’ उनले भनिन्।

फाल्गुन २, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्