मायाको साइड इफेक्ट

अपरिपक्व प्रेम- सात दिनले उमेर नपुग्दा जेलको बाटो

भनिन्छ नि, ‘प्रेममा सबै कुरा जायज हुन्छ !’

तर रजन चौरासिया (नाम परिवर्तन) ले आफ्नी प्रेमिकासँग गरेको प्रेम उनको जीवनको सबैभन्दा ठूलो गल्ती बन्यो। यसको सजाय उनी जेलमा बसेर काटिरहेका छन्।

२०७६ साल माघ २० गते:

हराएको दुई दिनपछि नमिता (नाम परिवर्तन) भक्तपुर दरबार क्षेत्रमा भेटिइन्। उनी माघ १६ गते घरबाट हिँडेकी थिइन, घर फर्किनन्। सुरुमा परिवारले कलेजका साथीभाइ, आफन्त सबैसँग सोधखोज गर्‍यो। छोरी त फेला परिनन् तर प्रेमीसँग छिन् भन्ने जानकारी भने पाए।

छोरी नभेटिएपछि नमिताका परिवारले प्रहरीलाई छोरी खोजिदिन निवेदन दर्ता गरे। प्रहरीले अनुसन्धान थाल्यो। दुई दिनमा नमिता परिवारको सम्पर्कमा आइन् । भेटिनेबित्तिकै परिवारले उनलाई महानगरीय प्रहरी परिसर भक्तपुर लग्यो।

सोधपुछका क्रममा नमिताले आफू रजनसँग विवाह गर्ने भनेर घरबाट भागेको र उनीहरुबीच शारीरिक सम्बन्ध भएको खुलाइन्। नमितालाई रजनसँग छुटिनु थिएन।

नमिता र रजन एकै कलेजमा पढ्ने विद्यार्थी थिए। नमिता कक्षा १२ मा पढ्थिन्, रजन कक्षा ११ । उनीहरु प्रेम सम्बन्धमा रहेको एक वर्ष भएको थियो। रजन जागिर खान्थे। भविष्यको योजना बुने र भागेर विवाह गर्ने निर्णय गरे,  र भागे।

तर, उनीहरुको प्रेम अपराधमा परिणत भयो। माघ २० गते नमितालाई प्रहरीले सोधपुछ गर्दा रजन साथै थिएनन्। उनीहरु दूधपाटीको एउटा होटलमा बसेको र शारीरिक सम्बन्ध भएको खुलेपछि प्रहरीमा किटानी जाहेरी दर्ता भयो। महिलासेलमा खोजतलासको लागि आएको यो मुद्दाले अर्कै रुप लियो।

यही समयमा केटा र केटीको उमेर सोध्दा केटी १८ वर्ष नपुगेको खुल्न गयो। नमिताको जन्म २०५८ साल माघ २३ गते भएको थियो। उनी १८ वर्ष पुग्न २०७६ सालको माघ २३ गते आइपुग्नुपर्थ्यो। तर यो घटना १६ गते भएको थियो। उनी १८ वर्ष पुग्नुभन्दा ७ दिनअघि।

उनीहरुको प्रेम अपराधमा परिणत भयो। माघ २० गते नमितालाई प्रहरीले सोधपुछ गर्दा रजन साथै थिएनन्। उनीहरु दूधपाटीको एउटा होटलमा बसेको र शारीरिक सम्बन्ध भएको खुलेपछि प्रहरीमा किटानी जाहेरी दर्ता भयो। महिलासेलमा खोजतलासको लागि आएको यो मुद्दाले अर्कै रुप लियो।

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को परिच्छेद १८ मा करणी सम्बन्धि कसूरको बारेमा उल्लेख गरिएको छ। संहिताको दफा २१९ उपदफा २ मा ‘कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि १८ वर्ष भन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबर्जस्ती करणी गरेको मानिनेछ’ भनेर उल्लेख गरिएको छ।

अर्थात नमिता र रजनबीच सहमतिमा नै शारीरिक सम्बन्ध भएको भए पनि त्यो बलात्कार भयो। किनकि कानुनअनुसार नमिता बालिका हुन्। उनीहरुबीच जे सम्बन्ध भएपनि प्रहरीमा दर्ता हुँदा ‘जबरजस्ती करणी’ शीर्षकमा दर्ता हुन्छ।

नेपाल प्रहरीको तथ्यांक अनुसार आर्थिक वर्ष २०७७/७८ को पुस मसान्तसम्म १८ वर्ष मुनिका ८०४ जना बालिकामाथि करणी भएको जाहेरी दर्ता भएका छन्। जसमा ०–१० उमेरका १४९ जना, १०–१६ उमेरका ४८२ जना र १६–१८ उमेरका १७३ बालिका रहेका छन्।

अदालतले पक्राउ अनुमति दिइसकेको थियो। रजन फरार थिए। खोजतलास भइरहेको थियो।

प्रहरीले २०७७ साल भदौ १० गते रजनलाई उनले काम गर्ने ठाउँबाट पक्राउ गर्‍यो। असोज २१ मा अदालतले थुनामा राख्न आदेश दिएकाले उनलाई कारागार कार्यालय जगन्नाथ देवलमा पठाइएको छ।

उनी प्रेम गरेको सजाय भोग्दै छन्। पक्राउ परेपछि प्रहरीले सोधपुछ गर्दा नमितासँग आफू अझै सम्बन्धमा भएको बताएका थिए। प्रहरीलाई रजनले बताएअनुसार पक्राउ पर्नुभन्दा ३ दिन अगाडिसम्म पनि नमितासँग रजनको भेट भएको थियो।

भन्न त ‘माया मनले गर्नु दिमागले नगर्नू’ भन्छन्। रजनले यही भनाइ मानेका भएपनि उनको लागि अभिसाप भएको छ। पक्राउ परेपछि उनले प्रेमिका भेट्न पाएका छैनन्।

उनको मुद्दा टुंगिएको छैन। भक्तपुर अदालतमा छलफलको क्रममा छ। सम्बन्ध बनाउनु अगाडि उनी सजायको भागीदार हुनसक्ने अवस्थाबाट अनविज्ञ थिए। अहिले सजाय कति हुन्छ भनेर अनविज्ञ छन्।

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा २१९ कै उपदफा ३ मा भने ‘जबर्जस्ती करणी गर्ने व्यक्तिलाई त्यसरी करणी गर्दाको परिस्थिति र महिलाको उमेर हेरी सजाय हुने उल्लेख गरिएको छ। नमिताको उमेर १६ वर्ष भन्दा माथि १८ वर्षभन्दा कम भएकोले रजनले १० वर्षदेखि १२ वर्षसम्म कैद सजाय भोग्नु पर्नेछ’ भनेर उल्लेख गरिएको छ।

 

फाल्गुन २, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्