खेर गएका सरसामानबाट चिटिक्क परेका झोला

काठमाडौँ– ‘क्रियटिभ’ काम गर्न मन लाग्थ्यो उनलाई। धेरै समय बुटिकमा काम गरिन्। त्यो काम गर्दागर्दै केही नयाँ काम गर्ने इच्छा बढ्दै गयो। कसरी खेर गएका चिजहरुलाई उपयोग गर्न सकिन्छ भनेर खोजी गर्न थालिन्। अन्ततः केही समयको खोज र पर्खाइ पश्चात आफ्नो रुची अनुसारको काम सुरु गरिन्।

उनले कहिले मकैका खोस्टा, कहिले थाकल, कहिले काँच त कहिले परालबाट झोला बनाउँछिन्। व्यवसायिक रुपमा उनले यो काम सुरु गरेको तीन वर्ष भयो।

स्वदेशमा मात्र नभइ विदेशमा पनि झोलाको व्यापार विस्तार गरेकी छन् झापाकी देविका बुढाथोकीले। विगत तीन वर्षदेखि चीनमा झोला पठाउँदै आएकी उनी अहिले अहिले आफ्नो उत्पादन अष्ट्रेलिया र जापानमा पनि पठाउँछिन्।

चीनमा झोला पठाउँदा अन्य देशमा भन्दा कम मुल्य पाउने भएतापनि आफ्नो पहिलो ग्राहक भएकाले कन्ट्र्याक्ट नछुटाएको उनको भनाइ छ।

व्यापार प्रवर्द्धन गर्ने क्रममा अहिले झोला मात्र नभइ खुत्रुके, ह्याट, चकटी, गलैँचा, डाइनिङ म्याट लगायत विभिन्न सामान बनाउँछिन् देविका। उनका अनुसार अहिले युरोपमा खुत्रुके माग छ। त्यसैले उनी अहिले काँचको खुत्रुके बनाइरहेकी छन्।

देशसञ्चारसँगको कुराकानीमा उनले भनिन्, ‘मार्केटमा जे–जे डिमाण्डहरु आउँछ हामी त्यही अनुसार आफ्नो कामलाई विस्तार गर्छौँ। एउटा मात्र सीमित हुन्छ भन्ने चाहिँ हुँदैन।’

काम गर्दै जाँदा ब्रान्डको महत्व आफूले बुझेको बताउँछिन् देविका। सुरुका दिनमा आफ्नो ब्राण्ड नभएको कारण धेरै दुःख पाएको स्मरण गर्छिन् उनी। त्यसैले उनले अहिले ‘फेमिना’ नामको ब्रान्डमा अष्ट्रेलियामा कम्पनी खोलेकी छन्। र त्यही कम्पनीबाट युरोपमा झोला लगाायत विभिन्न सामान निर्यात गर्छिन्।

उनीहरुले अहिले खानेकुराको पनि ब्रान्ड गरिरहेका छन्, ‘नेपाली माटो’ नाममा। यो काम उनका अरु साथीहरुले ५–७ वर्षदेखि नै अष्ट्रेलिया एक्सपोर्ट गर्दै आएका थिए। नेपाल उद्यमशील महिला महासंघमा सदस्य बनिसकेपछि उनीहरुले देविकालाई पनि आफ्नै ब्राण्डमा पठाउन आग्रह गरे।

उनीहरुले एउटा सामान्य प्याकेटमा प्याक गरेर अष्ट्रेलियासम्म ‘फुड’ पठाउने गरेका थिए। तर उनले ब्राण्डमा पठाउन थालिन्।

उनका अनुसार यो व्यवसाय भने लकडाउनभन्दा अलिकति अगाडि मात्र सुरु भएको हो। त्यसैले यसको भने काम विस्तार हुन अलिक समय लाग्ने उनको भनाइ छ।

‘फुड’मा अहिले खाद्यबाट स्वीकृत भएको ४७ वटा प्रोडक्ट छ– चिउरा, गुन्द्रुक, बेसार, चना, भटमास, मार्सी चामल, गहत लगायत घरमा दैनिक रुपमा प्रयोग हुने सबै गााउँको लोकल ‘प्रोडक्ट’ छ।

लोकल फुडलाई क्लिनङ र प्याकेजिङ यहाँ गरेर उनीहरुले बाहिर पठाउँछन्। अष्ट्रेलिया, हङकङ, जापानबाट बढी माग आउने उनको भनाइ छ।

फुडको आइटममा लकडाउनको समयमा उनको समूहले धेरै काम गर्न नसकेपनि ब्यागमा भने होमबेसमा काम हुने भएकाले उनीहरुको काम राम्रोसँग फस्टायो।

उनी थप्छिन्, ‘कोभिडले ब्यागलाई असर गर्न सकेन, यो एउटा राम्रो अवसरको रुपमा आयो। जुनबेला हामीसँग उत्पादन थिएन, कोभिडको कारणले आज हामी अलि ठूलो परिमाणमा बाहिर पठाउन सकिरहेका छौँ।’

उनका अनुसार एउटा महिलालाई साधारण बनावटका लागि प्रतिब्याग ६ सय रुपैयाँ दिइन्छ। त्यसपछि झोलामा ह्यानडल, फ्याबरिक, र फ्लावर हालेर उनले डिजाइन गर्छिन् झोलालाई। प्याकेजिङ गरिसक्दा झोलाको मुल्य १ हजा ५ सय ५० पर्छ। र उनीहरुले बजारमा १ हजार ६ सय ५० रुपैयाँमा पठाउँन्।

देविकाका अनुसार झोला बनाउन सिक्न चाहनेका लागि तालिम दिइन्छ। सुरुका दिनमा कार्यालयमै बोलाएर ट्रेनिङ दिने गरिन्थ्यो। तर अहिले उनको टीमलाई सीप विकास प्रतिष्ठान र ट्रेड प्रमोशन सेन्टर (टीईपीसी) गरी दुईवटा संस्थाले सहयोग गरेकाले अहिले उनीहरुले ३५ जना एडभान्स ‘ट्रेनर’ उत्पादन गरेका छन्। जसअनुसार कुनै जिल्लामा कम्तिमा २५ जनाको समूहले सिक्न चाहेको खण्डमा ‘ट्रेनर’लाई त्यहाँ पठाइन्छ।

प्रतिदिन एकजना ‘ट्रेनर’लाई दुई हजारदेखि पाँच हजार रुपैयाँसम्म तिर्नुपर्ने बताउँछिन् देविका। त्यसैले कुनैपनि जिल्लामा एकजनाले मात्र सिक्न चाहेको खण्डमा भने ‘ट्रेनर’ पठाउन गाह्रो छ। तर यदि कसैले काठमाडौँस्थित उनको कार्यालयमै आएर सिक्छु भन्यो भने खाने, बस्ने लगायत व्यवस्था कम्पनीले व्यहोरेर सिकाउँछ। तर उनीहरुले गरेको उत्पादन भने त्यहीँ दिनुपर्ने हुन्छ।

उनका अनुसार सुरुमा आधारमूत तालिम दिइन्छ। जुन १५ दिनको हुन्छ। त्यसपछि फेरि १५ दिनको एडभान्स तालिम थपिन्छ। र त्यसपछिको एक महिनासम्म एउटा महिलाले बेच्न मिल्ने खालको ब्याग बनाउन सक्ने उनी बताउँछिन्।

जिल्लाबाट सामान्य झोलाहरु ल्याइन्छ। अनि बजारको माग अनुसार उनी झोलाको डिजाइनमा फोकस गर्छिन्। उनी भन्छिन्, ‘तालिममा लगनशील तथा मेहेनती दिदी बहिनीको सहभागिता चाहिँ बढी प्रभावकारी हुन्छ।’

देविकाले केही दिनअघि बर्दियाका महिलाहरुलाई तालिम गराइन्। देविका थप्छिन्, ‘उहाँहरुलाई स्पेशल कोर्स गर्नुपर्छ भनेर हामीले यहाँ ल्याएको हो। नर्मल ब्यागहरु त उहाँहरुले बनाउन सक्नुहुन्थ्यो। अहिले डिजाइन सिक्दै हुनुहुन्छ।’

देविकाका अनुसार यसभन्दा पहिले सिन्धुपाल्चोकका महिलालाई यसरी नै तालिम दिइएको थियो। र अब फेरि लगत्तै झापाका महिला पनि तयारी अवस्थामा छन्।

झोला बनाउनभन्दा कच्चा पदार्थ व्यवस्थापन गर्न कठिन हुने अनुभव छ उनको।

उनको काममा नेपाल उद्यमशील महासंघमा भएका सबै सदस्यले साथ दिन्छन्। आफ्नो परिवारमा भने श्रीमान्‌ले निकै साथ दिएको बताउँछिन् उनी।

‘उहाँले कहाँ रअ मेटेरियल पाइन्छ मिलेसम्म खोजेर ल्याइदिने, त्यस ठाउँसम्म सम्पर्क गर्दिने साथै मेरो काममा पनि हौसला दिनुहुन्छ,’ देविका थप्छिन्।

महिलालाई केही गर्छु भनेर समुदायमा निस्केर नयाँ काम गर्न चुनौतिपूर्ण रहेको देविकाको अनुभव छ।

‘मैले सुरु गरेको समयभन्दा यहाँसम्म आइपुग्दा अलि सहज त छ। तर पनि त्यति सहज नठानुम्, किनकि एउटा महिलाले घर, परिवार, आमा, बुहारी, सासु सबैको भूमिका निर्वाह गर्नुपर्ने हुन्छ। तर फेरि सहज छैन भनेर सबै कुरामा बन्धक भएर बस्नुभन्दा सरल र सहज तरिकाले बाहिरको म्यानेजमेन्ट मिलाउनुपर्छ,’ देवीका थप्छिन्।’

फेसन भनेको समय अनुसार बदलिँदै जाने भएकाले झोला बनाउने काममा धेरै दिमाग लगाउनुपर्ने उनको भनाइ छ। उनका अनुसार यस झोलाको व्यवसायको नेपालमा भन्दा विदेशमा फस्टाएको छ।

यस व्यवसायलाई अझ ठूलो बनाउने उनको सोच छ। कम्पनीले आफ्नै जमिन खरिद गरेर टहरा हालिसकेको छ व्यवसाय प्रवर्द्धनका लागि।

भोलिका दिनमा प्राकृतिक वस्तुवाट नेपालमा बनेको चीजलाई अझ बढी अन्तराष्ट्रिय बजारमा चिनाउन मन छ उनलाई। तर आफूहरुसँग धेरै उत्पादन नभएको उनको गुनासो छ।

त्यसैले उनको समूह अहिले बृहत योजना बनाइरहेको छ, कसरी आफ्नो व्यवसाय विश्वसामु चिनाउन सकिन्छ भनेर।

फाल्गुन ३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्