डा. अरुणा उप्रेती

‘बालबच्चालाई जङ्क फुड दिनु विष दिएजस्तै’

काठमाडौँ– सरकारले देशभरका सबै सामुदायिक विद्यालयमा प्रारम्भिक बाल विकासदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई दिवा खाजामा ‘जङ्क फुड’ खुवाउन निषेध गरेको छ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीले सोमबार ‘विद्यालय दिवा खाजा व्यवस्थापन सहयोगी पुस्तिका’ सार्वजनिक गर्दै यसबारे जानकारी दिएको हो।

सरकारले विद्यार्थीलाई दिवा खाजाका लागि ७ अर्ब ७२ करोड ९३ लाख ३० हजार रुपैँया विद्यालयमा पठाइसकेको कार्यक्रममा जानकारी दिएको छ। कर्णालीमा प्रतिविद्यार्थी दैनिक २० र अन्य क्षेत्रमा विद्यार्थीलाई १५ रुपैँयाका दरले दिवा खाजाको रकम उपलब्ध गराउने भएको छ।

सरकारको उक्त निर्णय स्वागतयोग्य भएको पोषणविद् डा.अरुणा उप्रेती बताउँछिन्। यसै सन्दर्भमा देश सञ्चारका लागि डा. अरुणा उप्रेतीसँग गरिएको कुराकानीको सम्पादित अंशः

१) सरकारले सामुदायिक विद्यालयका कक्षा ५ सम्मका विद्यार्थीलाई खाजामा ‘जङ्क फुड’ खुवाउन निषेध गरेको छ। यो निर्णय कतिको सही छ जस्तो लाग्छ?

यो धेरै अगाडि आउनु पर्ने एउटा सकारात्मक कदम हो। तर यसमा थुप्रै चुनौतीहरु पनि छन्। कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई जङ्क फुड खुवाउन निषेध गरिएको भनिएको छ। तर समस्या मैले कहाँ देख्छु भने ६ देखि १० कक्षा सम्मका बालबालिकालाई चाहिँ के गर्ने त?

देशभरिका २९ लाख ४० हजार ७८९ विद्यार्थीलाई विद्यालयमा दैनिक खाजा निःशुल्क उपलब्ध गराइने भनिएको छ। सरकारले ६० प्रकारको मेनु तयार गरेको छ, त्यो सबै स्कुलहरुमा पुग्नु पर्‍यो। तर खाजा पुगेको या नपुगेको अनुगमन कसले गर्छ भन्ने कुरा एकदमै महत्वपूर्ण छ।

तर कमसेकम एउटा सुरुवात भएको छ। त्यसैले यस कदमलाई सरकारले साँच्चिकै चाहने हो भने अनुगमन गर्नुपर्ने हुन्छ र ६ देखि १० कक्षासम्मका विद्यार्थीहरुको हकमा स्कुलको क्यानटिनहरुमा नै पत्रु खाना निषेध गरिनु पर्ने नियम बनाउनुपर्ने हुन्छ।

पत्रु खानाहरुले कसरी बच्चाहरुको स्वास्थ्यमा नकारात्मक असर गर्छ भन्नेबारेमा पनि स्कुलमा छलफल गर्नुपर्छ।

२) यो निर्णय आउन अलि ढिला भएको हैन र?

सरकारले आजभन्दा ७–८ वर्ष अगाडि पनि स्कुलहरुमा पत्रु खानेकुरा खान नपाइने नियम बनाएको थियो। तर त्यो नियम एकहप्ता नपुग्दै भताभुङ्ग भयो।

पत्रु खाना बनाउने कम्पनीका मालिकहरुले मन्त्री तथा सचिवहरुलाई भेटेर उक्त निर्णय सच्याउन माग गरेपछि त्यो निर्णय फिर्ता लिइएको थियो।

३) यो निर्णय किन सामुदायिक विद्यायलमा मात्र लागु गरिँदैछ, निजी विद्यालयमा यसको आवश्यकता छैन?

मैले आफ्नो अनुभवमा के देखेको छु भने प्रायः राम्रा खालका निजी विद्यालयहरुमा पत्रु खानाहरु स्कुलका शिक्षकहरुले नै वहिष्कार गरेको अवस्था छ।

प्रायः बच्चाहरुले घरबाटै खानेकुराहरु लिएर आउँछन्। त्यसरी घरबाट खानेकुराहरु लिएर आउँदा ९० प्रतिशतले स्वस्थकर खानेकुरा नै ल्याउँछन्।

तर निजी विद्यालयमा जन्मदिन मनाउने क्रममा या विभिन्न सेलिव्रेशनका नाममा क्रिम, घिउ र तेलले भरिएको पत्रु केक प्रयोग गरिन्छ। जसले स्वास्थ्यमा निकै नकारात्मक असर गर्छ।

४) कस्ता खालका खानेकुरालाई जङ्क फुड/पत्रु खाना भनिन्छ ? यसका बेफाइदा र दीर्घकालिन असरहरु के–के हुनसक्छन्?

पौष्टिक तत्व नभएको तथा कम भएको खानेकुरालाई नै पत्रु खाना भनिन्छ। यसमा विभिन्न किसिमका रसायनहरु मिसाइएका हुन्छ। जङ्क फुडका बेफाइदाहरु मात्र छन्। यसले हाम्रो संस्कृतिलाई पनि नष्ट गर्छ।

पत्रु खानेकुरामा जति उनीहरुले बाहिर नुन हाल्छौँ भनेर लेखेका हुन्छन् त्यो भन्दा कयौँ गुना बढीसम्म हालेको पाइन्छ।

यस्तो किसिमको पत्रु खाना बच्चाहरुले प्रयोग गर्ने हुँदा सानै देखि उनीहरुको मिर्गौलामा समस्या पर्न सक्छ। पत्रु खानेकुरा खाने बच्चाहरु धेरै मोटो हुन्छन्।

अर्कोतिर स्वस्थकर खाना नखाई पत्रुकर खाना मात्र खाएपछि उनीहरुलाई कुपोषण पनि हुन्छ। मोटो बच्चाहरुलाई ठूलो भएपछि मधुमेहको समस्या हुन्छ, उच्च रक्तचापको समस्या तथा घुँडा दुख्न पनि सुरु गर्छ।

मोटो भइसकेपछि उनीहरुले समाजमा अपमानित फिल गर्छन्। बाहिर साथीहरुसँग घुमफिर गर्न जाँदैनन्। आत्मविश्वास नै कम हुन्छ।

कुपोषणले बालबालिका र वयस्कहरुमा शारीरिक साथसाथै मानसिक रुपमा पनि प्रभाव पार्छ। बच्चाहरु एकोहोरो हुने, नबोल्ने जस्ता समस्या पनि भएका छन्।

यस कारणले खानेकुराले मान्छेको शारीरिक तथा मानसिक दुवै कुरामा प्रभाव पार्छ। दीर्घ रुपमा रोग लागिसकेपछि यसले आर्थिक अवस्थालाई पनि खराब पार्छ। रक्सी र चुरोटले जत्तिकै असर गर्छ यस पत्रु खानेकुराले।

५) बालबालिकालाई जङ्क फुडबाट टाढा राख्न अभिभावकहरुको भूमिका कस्तो हुनुपर्ला?

अभिभावकहरुको सबैभन्दा ठूलो भूमिका हुन्छ। कहिलेकाहीँ उनीहरुले अल्छि मानेर बच्चालाई खुसी पार्नलाई आफ्नो समय छैन भन्दै पत्रु खाना खाने बानी लगाइदिन्छन्।

यसै कारणले गर्दा पछि बच्चाहरु मोटो हुन्छन्। मैले एकजना चिनेको व्यक्ति २० वर्षका भए तर ११० केजीका छन्। अहिले उनी कलेजमा पढ्छन्। तर उनलाई डिप्रेसन जस्तै भएको छ। उनका साथीसंगीहरुले जिस्काउँछन्, उनको तौल देखेर।

यसकारणले अभिभावकहरुले पत्रु खानेकुराबाट आफ्ना बालबच्चाहरुलाई टाढै राखेको राम्रो। पत्रु खाने कुरा दिनु भनेको बालबच्चालाई विष दिएजस्तै हो।

६) जङ्क फुड नियन्त्रणका लागि के –के गर्नुपर्ला?

पत्रु खाना स्वस्थ छैन भन्ने थाहा हुँदा पनि धेरै अभिभावकले आफ्ना बच्चाहरुको स्वास्थ्यमा वेवास्ता गर्छन्। जस्तो कि चाउचाउमा हुने मैदा मानव स्वास्थ्यका लागि मन्द विष हो, जसले शरीरलाई कमजोर बनाउँछ। त्यस्तै चाउचाउमा हुने अजिनामोटोले हाडजोर्नी कमजोर बनाउँछ।

यस रोगलाई न्यूनिकरण गर्ने नै हैन। यस किसिमका खानालाई पत्रु भनेर कुनामा फाल्ने हो। न्यूनिकरण गर्नका लागि घरकै स्वस्थकर खानेकुरा मात्र खानुपर्ने हुन्छ।

बालबालिकालाई पत्रु खानाको बानी हटाउन अभिभावकले नै आफ्नो बानीमा सुधार गर्नुपर्ने हुन्छ।

फाल्गुन ४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्