समाचार टिप्पणी

प्रेसलाई छल्दै गल्ती ढाक्ने ओली संस्कृति

काठमाडौँ- अक्सर पत्रकार सत्तासीन व्यक्तिहरुको आलोचनाको निशाना बन्ने गर्छन्। र, त्यो आक्रोशले तीव्रता त्यसबेला पाउँछ जब सत्तासीनका कमजोरी र अपराधहरु सार्वजनिक जानकारीमा पुग्न थाल्छन्। त्यसअर्थमा विश्वमा सायदै कोही अपवाद होला।हाल आएर प्रधानमन्त्री केपी शर्मा ओली त्यो प्रवृतिका प्रयोग बनेका छन्।

चाहे त्यो नेकपा भित्रको झगडा, संसद विघटन र पार्टी विभाजन होस्, या उनका ‘टुक्के’ टिप्पणीका प्रत्युत्पादकता, उनी पत्रकारको आलोचनाका केन्द्रमा छन्।

ओलीले आर्जन गरेका वक्तृत्व ‘ऊर्जा’ सबै आलोचकहरुलाई समाप्त र धारे हात लगाउन खर्च भइरहेको छ। हालै पशुपतिनाथको दर्शन गरी ‘स्वस्तिक हिन्दु’को आवरण ओढेका ओलीले आफू पक्षीय पत्रकाहरुलाई ‘स्वर्ग’ जाने भविष्यवाणीका साथ आलोचक पत्रकारहरुका लागि ‘नर्क’को त्रास देखाएका छन्। उनको कम्युनिष्ट पार्टी यो अभिव्यक्तिबारे मौन छ।

नेपालमा अन्तर्वार्ताका लागि समय माग्ने पत्रकारहरु लामबद्ध रहेकै बेला ओलीले छिमेकी मुलुक भारतको विवादस्पद ‘जी न्यूज’लाई प्राथमिकता दिए। नेपाली पत्रकारहरुको आक्रोशबारे उनी अनविज्ञ थिएनन्।

ओली सरकारले तीन वर्ष पूरा गरेको अवसरमा सम्भवतः पहिलो पटक फागुन ३ गते उनीसँग पत्रकारहरुको अन्तर्क्रिया तय गरिएको थियो, पुनःनिर्मित सिंहदरबार परिसरमा।

तर अन्तिम समयमा ओली स्वयंले त्यो साइत रद्द गरे। संसद विघटनको स्पष्टीकरणमा मात्रै उनले एक घण्टा खर्चिए। बाँकी समय सरकारका उपलब्धीको फेहरिस्त सुनाए। दुई घण्टा लामो उनको सम्बोधनलगत्तै कार्यतालिका अनुसार उनलाई प्रश्न सोध्न पत्रकारहरु तम्मतयार भइसकेका थिए।

कार्यक्रम सञ्चालकले पत्रकारतर्फ औँल्याउँदै प्रश्न–उत्तरमा जाने संकेत दिएपछि ओलीले त्यसलाई  ठाडै अस्वीकार गरे, देखिनेगरी। चौतर्फी विरोधको घेराबन्दीमा परेका ओलीले प्रतिकूल प्रश्नहरु आउने अनुमान गर्नु आश्चार्य थिएन।

त्यसअघि सम्पादकहरुलाई बालुवाटार बोलाएर राम्रो कामको प्रशंसा गर्ने मुटु नभएको ‘विल्ला’ भिराएर थिएओलीले । सडक बालबालिकालाई आफूले उद्दार गरेको तर त्यसबारे सकारात्मक समाचार नआएको उनको गुनासो थियो, गत वर्ष पुस २१ गते।

तर ओलीको पत्रकारहरुप्रतिको धारणाले त्यस्तै खालका या प्रतिकूल प्रतिक्रिया जन्माएको स्पष्ट देख्न सकिन्छ।  संसद विघटनको पक्षमा भेला भएका पत्रकारहरुको खुलेर प्रशंसा गरेका र उनीहरु ‘स्वर्ग’ जाने घोषणा गरेका ओलीको अभिव्यक्तिको वैधानिकता ‘नर्क’ जानेहरुले नगरेका होलान्?

त्यतिमात्रै हैन, सार्वजनिक स्थानमा आयोजना हुने कार्यक्रममा उनका आलोचकहरुलाई प्रवेश नै निषेध गरिएका उदाहरण पनि छन्। ओलीले आफ्नो पार्टीका विरोधी पक्षलाई लक्षित गर्दै गत माघ २३ गते आयोजना गरेको नारायणहिटी दरबार संग्रहालयअघिको शक्ति प्रदर्शनको सभा नजिक पत्रकारका लागि ठाउँ निर्धारित थियो। प्रवेशका लागि पत्रकारहरुको एक–एक गरी परिचय–पत्र हेरे स्वयंसेवकहरुले।

तर आफ्नो सूचीसँग मेल नखाएका मिडियाका प्रतिनिधिलाई भित्र प्रवेश निषेध गरियो। त्यसपछि पनि ओलीका स्वयंसेवकहरुले पत्रकारहरुलाई केरकार गर्न छोडेनन्। प्रदर्शनमा सहभागी भएकाहरुमध्ये केहीसँग पत्रकारहरुले अन्तर्वार्ता लिन खोज्दासमेत उनीहरुले त्यो रोक्न खोजे।

ओली सरकार आएदेखि नै कुनै न कुनै विवादास्पद प्रकरणमा मुछिएका छन्। उनका मन्त्रीहरु पनि त्यसबाट अछुतो छैनन्।  महामारीका बेला भ्रष्टाचार विवादले उनलाई छोडेन कहिल्यै। भ्रष्टाचार र अनियमितताका आरोप खेपेका तत्कालीन स्वास्थ्यमन्त्री भानुभक्त ढकालले अनेक बहना बनाउँदै प्रश्नहरु छलिरहे।

संसद विघटन ओलीको शक्ति केन्द्रीकरणको प्रयास अप्रजातान्त्रिक कदम थियो।यसको आलोचना गर्ने पत्रकारहरुलाई ओली र उनका मन्त्रीहरुले  सार्वजनिक रुपमै कटाक्ष गर्दै आएका छन्।उपप्रधानमन्त्री ईश्वर पोखरेलले त पोखराको एउटा कार्यक्रममा आफूहरुको आलोचना गर्ने पत्रकाहरुलाई ‘दलाल’ भनेका छन्।

संसद विघटन भएको केही दिनपछि ओली पक्षले पार्टीको केन्द्रीय सदस्य संख्या बढाउने निर्णय गर्‍यो। पार्टीको बहुमत सदस्यलाई बाहिर राखेर गरिएको निर्णय निर्वाचन आयोगले मान्छ त? भन्ने प्रश्नमा ओलीका बफादार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले यो प्रश्न नै नभएको घोषणा गरे। पछि आयोगले पुस ५ यताका पार्टीका दुवै पक्षका निर्णयहरु असंवैधानिक ठहर गर्‍यो।

अहिले ओली नेतृत्वको सरकारले सामाजिक सञ्जाल नियन्त्रण गर्ने तयारी गरिरहँदा यसको व्यापक विरोध भएको छ। त्यसबाट अभिव्यक्ति स्वतन्त्रता खुम्चाउने रणनीतिमा सरकार उद्दत रहेको आरोप सबैतिरबाट लागिरहेको छ।

बुधबार पत्रकार महासंघको २६ औँ महाधिवेशनमा सञ्चारमन्त्री पार्वत गुरुङले पत्रकारितामा अनुशासनहीन गतिविधि बढेको र त्यसको ‘करेक्सन’मा आफ्नो सरकार जुटेको बताए।

तर राजनीतिक ‘करेक्सन’को कुरा गरेनन् उनले। ओलीका मन्त्रीहरु निश्चिय पनि ओलीभन्दा बढी जनउत्तरदायी या जवाफदेही देखिएका छैनन्। तर ओली शैली प्रेसप्रति अनुदार बनेका थुप्रैका भोगाइ छन्।

फाल्गुन ५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्