तुलसी दिवसको ‘नेपाली लोककथा’ बजारमा

काठमाडौँ– लोक साहित्य तथा संस्कृति अन्वेषक तुलसी दिवसको प्रसिद्ध लोककथा सङ्ग्रह ‘नेपाली लोककथा’ सार्वजनिक भएको छ। बुक–हिल पब्लिकेसनले ‘क्लासिक सेरिज’ अन्तर्गत प्रकाशन गरेको यस पुस्तकमा १२२ वटा लोककथा सङ्ग्रहण गरिएका छन्।

नेपालका विभिन्न भू–भागमा बसोबास गर्ने विविध जातिहरू तथा नेपाल बाहिर बसोबास गर्ने नेपाल भाषीका जनजीवनमा प्रचलित लोककथाहरु पुस्तकभित्र रहेको पब्लिकेशनले जनाएको छ।

पुस्तकबारे लेखक, सङ्कलक तथा सम्पादक तुलसी दिवस भन्छन्, ‘पन्चायतकालमा सत्ताको कहर खप्दै करिब एक दशकभन्दा लामो समय लगाएर सङ्कलन र सम्पादन गरिएको यो पुस्तकमा लोककथाको स्थान, जाति, वर्ग, भाषा आदिको आधारमा विश्वप्रसिद्ध लेखक र चिन्तकका सिद्धान्तलाई आधार मान्दै वैज्ञानिक विश्लेषण र वर्गीकरण गर्ने कोशिस गरेको छु।’

सांस्कृतिक, ऐतिहासिक, सामाजिक, अर्ती–उपदेश, ठगी–चलाखी, लोभी–कन्जुस्याइँ, विश्वासघात, पशुपक्षी, भूत, राक्षस, परी, जादु, दैवी, बहादुरीलगायतका विषयका लोककथाहरूमा स्थानीय भाषा, लवज र लोकजीवनको चित्रण गरिएको छ।

बढ्दो आधुनिकी र यान्त्रीकरणको युगमा लोककथाको यो पुस्तकले पाठकलाई आफ्नो अतीततिर फर्काउन र आफ्नो आदी–इतिहास बुझ्न मद्दत गर्ने र सामान्य पाठकदेखि प्राज्ञिक वर्गका निम्ति पनि यो पुस्तक सङ्ग्रहणीय रहेको प्रकाशक बुक–हिल पब्लिकेसनले जनाएको छ।

विभिन्न विश्वविद्यालयहरूमा लोकसाहित्य अध्ययनको स्रोत पुस्तकको रूपमा समेत रहेको करिब ६०० पृष्ठको सचित्र किताबको मूल्य ९९९ रहेको छ। २०३१ सालमा तत्कालीन नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानले पहिलो संस्करण प्रकाशन गरेको यो पुस्तक अप्राप्य थियो।

फाल्गुन ६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्