
केही दिन अगाडि अमेरिकाको ओरेगन राज्यमा कोरोना भाइरसको पूर्ण डोज भ्याक्सिन अर्थात भ्याक्सिनका दुवै डोज लगाइसकेपछि पनि कोरोना संक्रमणका ‘ब्रेक थ्रु केस’ देखिएका छन्।
हुन त यस्ता संक्रमितहरुमा संक्रमणको प्रभाव कडा भने थिएन। भ्याक्सिनको पूर्ण डोज लिएका व्यक्तिहरुमा पुनः संक्रमण गर्ने भाइरस कोरोनाको कुनै नयाँ भयारिएन्ट; परिवर्तित रूपको भाइरस थियो अथवा पहिलादेखि स्थानीय रूपमा प्रसारित रहेको भाइरस थियो त्यसको निर्क्यौल हुन सकेको छैन।
यसबारे अनुसन्धान भइरहेका छन्। दुई डोज अर्थात अहिले विभिन्न भ्याक्सिन निर्माता कम्पनीहरुले भनिरहेका अनुसार भ्याक्सिन को कोर्स पूरा भएको १४ दिन पछि पनि यदि पुनः कोरोना भाइरस संक्रमण भयो भने चिकित्स्कीय भाषामा यस्ता केसलाई कोरोनाको ‘ब्रेक थ्रु केस’ भन्ने गरिन्छ।
कोरोना महामारी को त्रासदीपछि युद्ध स्तरमा बनेका प्रायः जसो सबै भ्याक्सिनका ‘क्लिनिकल ट्रायल’को प्रभावकारिता एवं प्राप्त परिणामको अध्ययनले कोरोनाको ‘ब्रेक थ्रु केस’ आउन सक्ने अनुमान गरिएको थियो।
सरसर्ती मूल्याङ्कन गर्नु पर्दा सामान्यतया संसारमा हालसम्म प्रचलनमा आएका अथवा उपलब्ध भइसकेका कुनै पनि कोरोना भ्याक्सिन शत प्रतिशत प्रभावकारी छैनन्। अर्को शब्दमा स्पष्ट भन्नु पर्दा भ्याक्सिनका दुवै डोज लिएका मानिसहरुलाई पनि कोरोना संक्रमण हुनसक्ने खतरा अथवा सम्भावना रहन्छ। भ्याक्सिनले सबैलाई सामान रूपले सुरक्षा नदिने सम्भावना यथावत रहेको छ।
त्यसो त अहिले बनेको भ्याक्सिन मात्रै किन, मेडिकल साइन्सले बनाएका कुनै पनि औषधि अथवा अन्य कुनै किसिमका उत्पादन नत सय प्रतिशत प्रभावी हुन्छन् र न त सय प्रतिशत रोगीमा कारगर नै।
उदाहरणका लागि प्रारम्भिक अनुसन्धानका नतिजाको आधारमा नेपालमा आपातकालीन प्रयोग गर्ने अनुमति पाएर भ्याक्सिनेसनमा प्रयुक्त भैरहेको कोभीशिल्ड भ्याक्सिनका दुई डोज लगाएपछि झन्डै ६२ प्रतिशत जतिलाई मात्रै पूर्ण प्रतिरक्षा प्राप्त हुनेछ र बाँकीमा ‘ब्रेक थ्रु केस’ देखिने प्रबल सम्भावना यथावत नै रहन्छ।
ब्रेक थ्रु केस’ का राम्रो नराम्रा दुवै पक्ष देखिन् सक्छन । हालसम्म देखिएका ‘ब्रेक थ्रु केस’मा कसैलाई पनि स्वास्थमा गम्भीर वा जटिल अवस्था शृजना गरेको देखिँदैन जसलाई सकारात्मक रुपमा लिन सकिन्छ। तर आगामी दिनमा यसबारे अझ स्पष्टमा जानकारी प्राप्त हुनेछन्/ हुँदै जानेछन्।
कसैले पनि मैले भ्याक्सिन लाइसकेको भन्दै जनस्वास्थका मापदण्ड बेवास्ता गरे कोरोनाका ‘ब्रेक थ्रु केस’ समुदायमा विशेष गरेर जेष्ठ तथा दीर्घ रोगीसम्म संक्रमण पुर्याउन सहज र प्रबल माध्यम बन्नेछन्।
अहिले पनि भ्याक्सिन लगाएपछि संक्रमण भएको खण्डमा सो संक्रमित व्यक्तिबाट यो संक्रमण अरुमा सर्छ/सर्दैन भन्ने बारे यकीन साथ कहीँ भन्न सक्ने तथ्यांक उपलब्ध भैसकेका छैनन्। तर त्यस्ता ब्रेक थ्रु केस का संक्रमितको नाक तथा घाटीमा कोरोनाको भाइरस रहनसक्ने भनिएको हुँदा उक्त संक्रमितबाट अरुलाई भाइरस नसर्ला भन्न सकिँदैन।
हालसम्मको ‘ब्रेक थ्रु केस’ हेर्दा सामान्य वा लक्षणविहीन देखिएको हुँदा कोरोनाको संक्रमण को/कसलाई छ भनेर सहजै अनुमान गर्न नसकिने हुँदा समुदायमा सजिलै संक्रमण प्रसारण हुने सम्भावना देखिन्छ। स्मरण रहोस्, नेपालमा कोभिड-१९ का कारणले मृत्यु हुनेहरुमा अधिकांश जेष्ठनागरिक तथा दीर्घ रोगीहरु नै रहेका छन्। आजको मितिसम्म उनीहरु भ्याक्सिन पाउने उच्च/पहिलो प्राथमिकतामा परेको छैनन् ।यो लेख लेख्दासम्म उनीहरुले कोरोना विरुद्धको भ्याक्सिन पाएका छैनन्।
नेपालमा यस्ता ‘ब्रेक थ्रु केस’ देखिन आएको खण्डमा स्थानीय स्तरमा देखिरहेको कोरोना भाइरसको केस हो भन्न त सकिएला तर विश्वमा कोरोनाको नयाँ नयाँ नया भेरीएन्ट देखा पर्ने क्रम जारी रहँदै गर्दा “ब्रेक थ्रु केश” को प्रतिशत बढ्दै नजाला भन्न सकिँदैन।
नेपालमा हाल कोभिशिल्ड भ्याक्सिन प्रयोगमा आइरहेको अवस्थामा दक्षिण अफ्रिकी भेरीएन्टको कोरोना भाइरस विरुद्ध यसको प्रभावकारिता अति न्यून भएको जानकारीमा आइरहेको छ। हालै भारतमा चारजनामा दक्षिण अफ्रिकी भेरीएन्टको कोरोना भाइरस देखिएको भारतीय ‘काउन्सिल अफ मेडिकल रिसर्च तथा नेशनल इन्सटीटुट अफ भाईरोलोजी’ (पुणे ) ले जनाएको छ।
नेपालमा कुनै पनि समय यो भेरीएन्टको कोरोना भाइरस नदेखिएला भन्न सकिँदैन। त्यस्तो अवस्थामा नेपालमा पनि कोभिड-१९ को ‘ब्रेक थ्रु केस’ वृद्धि हुने प्रबल सम्भावना हुन्छ।
नेपालमा लक्षित जनसंख्यालाई भ्याक्सिन दिन थप केही महिना लाग्ने निश्चित देखिन्छ। कोभिड-१९ विरुद्धको भ्याक्सिन कोभिशिल्ड लगाउन शुरु गरिएको भएता पनि कति प्रतिशत जनसंख्यामा भ्याक्सिनको प्रभावकारिता देखिएला भनेर अहिले नै तथ्यांक बिना अनुमान गर्न सक्ने स्थिति छैन। र त्यस्तो तथ्यांक बिना ‘ब्रेक थ्रु केस’ को अवस्था बारेमा पनि अनुमान गर्न सकिँदैन ।
विश्वमा लाखौँ मानिसलाई दैनिक कोरोना भाइरस विरुद्धकाे भ्याक्सिन दिँदै गर्दा आगामी दिनहरुमा कोभिड-१९ ‘ब्रेक थ्रु केस’ को बारेमा पनि थप तथ्यांक आउने क्रम जारी रहने छ। नेपालमा हामी भ्याक्सिन लगाउँदै गर्दा खुशी हुनु त स्वाभाविक हो र हुनु पनि पर्छ तर हामी मध्ये को -को कोभिड-१९ को ‘ब्रेक थ्रु केस’मा पर्न सक्छन् भनेर अनुहार हेरेर दावी गर्न सकिँदैन।
त्यस्तै ‘ब्रेक थ्रु केस’ मा नपरिए पनि भ्याक्सिन पाएको व्यक्ति संक्रमित भए अरुलाई संक्रमण सार्न नसक्ने भनेर बलियो तथ्यांक/आधार उपलब्ध छैन। यस कारणले पनि भ्याक्सिन लगाए पछि पनि सबैजनाले जनस्वास्थ्यका मापदण्ड चटक्कै भुल्नु हुँदैन।
(डा. शेरबहादुर पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल क्लिनिकल रिसर्च युनिटका संयोजक हुन्।)