रातो ग्रहमा पृथ्वीको कीर्तिमानी स्पर्श

अमेरिकी स्पेस एजेन्सी नासाको मंगल अभियान सफलता साथ सम्पन्न भएको छ। शुक्रबार राति यस अभियानको ‘पर्सिवरेन्स मार्स रोवर’ (Perseverance Mars Rover) लाल ग्रहको उपनामले चिनिने मंगल ग्रहको धरातल स्पर्श गरेर कीर्तिमान कायम गरेको छ।

रोवरले अवतरण गर्नसाथ पठाएको सन्देश क्यालिफाेर्नियास्थित जेट प्रपोल्सन लेबोरेट्री (Jet Propulsion Laboratory- jpl) मा आई पुग्नसाथ परियोजनामा संलग्न व्यक्तिमा खुशियाली  छायो। नासाको दश वर्षको मेहनत सफल भयो।

अमेरिकी ‘स्पेस एजेन्सी’ नासाको ‘पर्सिवरेन्स मार्स रोवर’ (Perseverance Mars Rover) पृथ्वीबाट उडेको झण्डै सात महिनापछि मंगल ग्रहमा ओर्लिएको छ। नेपाली समयअनुसार  १८ फेब्रुअरी शुक्रबार राति २ बजेर ४० मिनेटको समयमा यो ऐतिहासिक  सफलता पाइयो। रोवरले आफू अवतरण गर्नसाथ क्यालिफाेर्नियास्थित ‘जेट प्रपोल्सन लेबोरेट्री’लाई सन्देश पठाएर सूचित गरेको थियो।  

नासाको यस मंगल अभियानको उदेश्य मंगलमा जीवनको संभावना खोज्नु रहेको छ।  ‘पर्सिवरेन्स मार्स रोवर’ले मंगल ग्रहको अप्ठेरो भौगोलिक स्थान जेजेरो क्रेटर ((Jezero Crater) मा अवतरण गरेको हो।  वैज्ञानिकहरुका अनुसार मंगलको यस ठाउँमा अर्बौ वर्ष पहिला एउटा नदी बग्थ्यो।

मंगल ग्रहको बदलिएको वातावरण र पर्यावरणले त्यो नदी सुखेर डेल्टामा परिणत भयो।  वैज्ञानिकहरुलाई विश्वास छ यस डेल्टाका वरिपरी जीवनका जीवाश्म भेटिन सक्छन्।

अत्याधुनिक वैज्ञानिक उपकरणले सुसज्जित ‘पर्सिवरेन्स रोवर’ले मंगलको यस स्थानमा खनेर – खोस्रे र त्यहाँ सुक्ष्म जीवनबारे अनुसन्धान गर्ने योजना रहेको छ। ६ पांग्रा भएको ‘पर्सिवरेन्स रोवर’ न्यूक्लियर शक्तिले सञ्चालित हुन्छ। यो नासाको चौथो पुस्ताको अत्याधुनिक रोवर हो। यस अभियानको प्रमुख उद्देश्य यो बुझ्नु रहेको छ, के अर्बौ वर्ष पहिला मंगल ग्रहमा कुनै किसिमको जीवन थियो कि थिएन?

नासाको यो अवतरण निक्कै चुनौतीपूर्ण थियो।  एक त नासाले अवतरणका लागि विकट भौगोलिक परिस्थिति रहेको जेजेरो क्रेटरलाई अवततरणस्थल बनाएको थियो, अर्को यसपटकको रोवरको भार एक टनभन्दा बढी रहेको थियो। नासालाई थाहा थियो अवतरणका अन्तिमका सात मिनेट अत्यन्त महत्वपूर्ण हुने छन्।

नासाले यी सात मिनेटका लागि अनेको पटक रिहर्सल गरेको थियो। जति रिहर्सल गरे पनि, क्यालिफाेर्नियास्थित नियन्त्रणकक्षसँग जति उन्नत प्रविधि र वैज्ञानिक क्षमता भए पनि उनीहरुलाई स्पष्ट थाहा थियो यदि अन्तिमका सात मिनेटमा अवतरण गर्ने क्रममा कुनै व्यवधान  आयो भने उनीहरु केही प्रयास गर्न सक्दैनन्। निरीह भएर हेर्नु बाहेक उनीहरुको हातमा केही गर्न सक्ने सम्भावना सम्म हुन्न।

किन पृथ्वीका श्रेष्ठ वैज्ञानिकले आफ्नो महत्वाकांक्षी परियोजनाको रोवरलाई अन्तिमका सात मिनेटमा कुनै सहायता -मदद अथवा कमाण्ड पठाएर  ट्रयाकमा ल्याउन सक्ने सम्भावना थिएन ? यसको कारण हामी बसेको ब्रह्माण्डको ‘म्याट्रिक्स’ हो। ब्रह्माण्डको संरचनामा निहित बाध्यता हो।  केही पनि असम्भव छैन भनेर हामीले जति फुर्ती लाए पनि विज्ञानलाई थाहा छ यस ब्रह्माण्डको संरचनामै धेरै क्षेत्रमा ‘लिमिटेशन’ छन्।

ब्रह्माण्डमा ती ‘लिमिटेशन’ भंग हुँदैनन। यस्तै एउटा ‘लिमिटेशन’ हो गति सम्बन्धी।  यस ब्रह्माण्डमा सर्वाधिक गति प्रकाशको रहेको छ। प्रकाशले एक सेकेण्डमा २लाख ९९ हज़ार ७९२.४५७ किमी को गतिले यात्रा गर्छ। यो नै हामी बसेको ब्रह्माण्डको सर्वाधिक गति हो। योभन्दा बढी गति हुन सक्दैन।

अब गतिको सम्बन्ध सन्देश पुर्‍याउने कुरासँग पनि जोडिएको छ। हाम्रा रेडियो – इन्टरनेटको गतिको पनि ‘लिमिटेशन’ छ। पृथ्वीभरीका लागि रेडियो इन्टरनेटको गति पर्याप्त भएपनि अन्तरग्रहीय यात्रा (इन्टरप्लेनेटरी जर्नी ), अन्तरतारकीय यात्रा  (इन्टरस्टेलर जर्नी ) र  अन्तरतारकपुँजीय यात्रा (इन्टरग्यालेक्सी जर्नी )का लागि यो गति ‘ऊंटको मुखमा जीरा’ जति पनि होइन।

पृथ्वीभन्दा नजिकमा पर्ने अर्को ग्रह मंगलमा हाम्रा रेडियो सन्देश पुग्न ११ मिनेट, सूर्यसँग नजिक भएको अर्को तारा प्रोक्सिमा सेन्टुरीसम्म सन्देश पुग्न ४.२ वर्ष र हाम्रै तारकपुंज -आकाशगंगा ‘मिल्की वे’ को एक सिरानबाट अर्को सिरानसम्म सन्देश पुग्न १लाख ५० हज़ार वर्षको समय लाग्छ।

‘मिल्की वे’ बाट नजिकको अर्को आकाशगंगामा सन्देश पुग्न २० लाख वर्षको समय लाग्न जान्छ ।  स्मरण रहोस् रेडियो तरंग र प्रकाशको गति एउटै हुन्छ, रेडियो तरंग प्रकाशकै एउटा ‘स्पेक्ट्रम’ हो।

अब शायद भन्नु परेन नासाको रोवरलाई अवतरणका अन्तिमका सात मिनेटमा नासाले किन कुनै मद्दत पुर्‍याउन नसक्ने परिस्थितिजन्य बाध्यता थियो ?  ब्रह्माण्डकै म्याट्रिक्सरूपी बाध्यता थियो। नासाको ‘जेट प्रपोल्सन लेबोरेट्री’ ले पठाएको कुनै पनि सन्देश रोवरसम्म पुग्न  ११ मिनेट लाग्थ्यो र रोवरलाई मंगलको सतहमा बजारिन जम्मा सात मिनेटको दरकार हुन्थ्यो।

तर रोवरलाई कुनै अप्ठेरो स्थितिको सामना गर्नु परेन।  यसलाई कृतिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स) कै कमाल भन्नु पर्छ, यो रोवर आउँदो दश वर्षसम्म (कम्तिमा ) स्वतः संचालित भएर काम गरिरहन्छ ।  पृथ्वीस्थित नियन्त्रण कक्षलाई अनेक किसिमका जानकारी पठाई रहन्छ। हो, यसले पठाएका  सन्देश -फोटोले आज १९ फेब्रुअरीका दिन मंगल र पृथ्वी बीचको दूरी २०करोड ४७लाख ६ हज़ार ३२९ किमी (१.३६८३७७ ऐयु) को  यात्रा गरेर अमेरिकास्थित नियन्त्रण कक्षमा आई पुग्न ११ मिनेट २२ .८२६६ सेकेण्डको समय लाग्छ।

खगोल विज्ञानको भाषामा यो रोवर आजको मितिमा पृथ्वीदेखि ११ प्रकाश मिनेट र २२.८२६६ प्रकाश सेकेण्ड टाढा रहेको छ। तर नासाको पृथ्वीस्थित नियन्त्रण कक्ष र उसको रोवरका बीचको दूरी प्रत्येक दिन बदली रहन्छ अर्थात रोवर पर्सिवरेन्सले पठाएका सन्देश पृथ्वीमा आई पुग्न लाग्ने समय बदली रहन्छ।

आउँदो २२ फेब्रुअरी का दिन रोवर पर्सिवरेन्स  र ‘जेट प्रपोल्सन लेबोरेट्री’ बीचको दूरी २०करोड ९१ लाख ४० हज़ार किमी र फेब्रुअरी २४ का दिन यो दूरी बढेर २१ करोड़ २० लाख ७० हज़ार किमी हुन पुग्छ।  दूरी बढ्ने क्रममा दुबै बीचको दूरी बढेर ४० करोड किमीसम्म हुन पुग्छ।  भन्नु परिरहेन दूरी बढ्दै जाँदा रोवरले पठाएका सन्देश नियन्त्रण कक्षसम्म आई पुग्न समय पनि त्यसै अनुपातमा वृद्धि हुँदै जान्छ।

सन्देश प्रसारणको गति उही प्रकाशको गति समतुल्य २९९७९२.४५७ किमीप्रति सेकेण्ड हुन्छ ।  दूरी बढ्दै गएको अनुपातमा सन्देश आइपुग्न लाग्ने समय पनि वृद्धि हुँदै जान्छ। दूरी ४० करोड पुग्दा रोवरले पठाएका सन्देश पृथ्वीमा आइपुग्न २२ मिनेटको समय लाग्छ।

रोवरको अवतरणको क्रममा अभियानको ‘स्पेस प्रोभ’ले  मंगलको आर्बिटमा प्रवेश गर्‍याे ।  यस पछिको यात्राक्रममा रोवर राखिएको ‘ल्याण्डर’ अर्थात मंगलमा   ‘एन्ट्री’ गर्ने क्याप्सुल यानसँग विच्छेद भएर  अवतरण गर्ने क्रममा अघि बढ्यो। यस ‘एन्ट्री’ गर्ने   क्याप्सुलमा  पनि ८वटा इन्जिन रहेका थिए।  यसले झण्डै २० हज़ार किमीप्रति घन्टाको गतिले मंगल ग्रहको माथिल्लो वातावरणमा प्रवेश गर्‍याे।

मंगलको माथिल्लो वायुमण्डलमा प्रवेश गर्नासाथ भएको घर्षण (Friction) का कारण क्याप्सुलको तल्लो भागको तापमान झण्डै १,३०० डिग्री सेल्सियस हुन पुग्यो।  तर क्याप्सूलको डिजाइन नै यसरी गरिएको थियो कि यसभित्र राखिएको रोवरलाई यस उच्च तापमानले छोएन  । यस पछि क्याप्सुलमा रहेको  प्याराशूट सुपरसोनिक गतिले खोलियो।

प्याराशूट खोलिन साथ २० सेकेण्डमै ‘एन्ट्री’ क्याप्सुलबाट रोवर राखिएको अर्को क्याप्सुल पृथक भई प्यारशूटका माध्यमले मंगल सतहको यात्रामा अघि बढ्यो। रोवरमा जड़ान  गरिएको राडारले यसलाई ‘आफू र मंगल’ बीचको दूरीबारे अवगत गराइरहेको थियो।

यस रोवरमा एउटा अति उच्च प्रविधि  ‘Terrain Relative नेविगेशन’ जडान  रहेको थियो। यस प्रविधिले रोवरलाई ओर्लिने ठाउँको नक्शा र फोटो उपलन्ध गराइरहेको थियो, यसकै  आधारमा रोवर मंगल फतेह गर्ने क्रममा अघि बढ्दै गयो।

नासाले यस अवतरणमा ‘स्काईक्रेन’ प्रविधिको प्रयोग गरेको थियो।  नासाले  यसअघि यसै प्रविधिबाट आफ्नो एउटा ‘स्पेस प्रोभ’   OSIRIS-REx  एउटा ऐस्टेरायड ‘101955 Bennu’ मा  ३ दिसम्बर २०१८ मा अवतरण गराएको थियो।

फाल्गुन ७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्