डा. बाबुराम भट्टराईसँग सवाल–जवाफ

‘थोत्रा पार्टीमा जाने प्रश्नै उठ्दैन, प्रचण्डसँग पार्टीगत एकताको सम्भावना शून्य’

काठमाडौँ– संसद विघटनसँगै मुलुक फेरि राजनीतिक र संवैधानिक संकटमा फसेको छ। परिणाममा पूर्वमाओवादी र एमालेको एकताबाट जन्मिएको नेकपा विभाजन भयो र राजनीतिक अस्थिरताका संशय पैदा भएका छन्।

हाल आएर आफूलाई स्थापित गर्ने कसरतमा केपी ओली र पुष्कमल दाहाल ‘प्रचण्ड’ उत्रिएका छन्। ओलीले आफूलाई स्थापित गर्न सरकारी संयन्त्रको दुरुपयोग सुरु गरेका छन् भने प्रचण्ड–नेपाल पक्षले सडक प्रदर्शन जारी राख्दा जनजीवन अस्तव्यस्त हुनेक्रम सुरु भएको छ।

यता पूर्वमाओवादीसँग सबन्धविच्छेद गर्दै नयाँ शक्ति, संघीय समाजवादी पार्टी हुँदै जनता समाजवादी पार्टीसम्म आइपुगेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई संसद विघटनलाई लिएर ओलीको विपक्षमा उभिएका छन्।

तर भट्टराई प्रचण्डको पक्षमा उभिने सम्भवना कति छ त? डा. भट्टराईले प्रचण्डसँग संसद पुनःस्थापित गर्ने सम्बन्धमा एकै ठाउामा उभिने सम्भावना भएपनि उनीसँग पार्टी एकता सम्भव नभएको प्रतिक्रिया दिएका छन्।

देशसञ्चारको भिडियो अन्तर्वार्तामा डा. भट्टराईले नयाँ राजनीतिक माहोल सृजना गर्न मैदानमा उत्रिसकेका बेला आफू पछि फर्केन सम्भावना नभएको भन्दै प्रचण्डसँगको एकता धेरै टाढा रहेको बताए।

संसद विघटनपछि डा. भट्टराई र प्रचण्डबीचको सम्बन्ध सुध्रिएको र उनीहरुको एकता नजिक रहेको अड्कल काटिएका बेला भट्टराईले प्रचण्डसँग कुनैपनि हालतमा एकता नहुने निष्कर्ष सुनाएका हुन्।

डा. आफ्नो पुस्तक ‘गुमनाम आमाको कथा’को विमोचनमा प्राथमिकता दिएका प्रचण्डसँग डा. भट्टराईले उपराष्ट्रपति नन्दबहादुर पुनसँगै छलफल गरेका थिए। त्यसबाट भट्टराई र प्रचण्डबीच पार्टी एकताको प्रयास भएको अड्कल काटिएको थियो।

त्यस प्रसंगमा भट्टराईले आफूले ओलीको असंवैधानिक कदमविरुद्ध संयुक्त आन्दोदलनका निम्ति आग्रह गर्न प्रचण्डलाई भेटेको दाबी गरेका छन्। यस्तै भट्टराईले संसद विघटन असंवैधानिक र लोकतन्त्रमाथिको प्रहार भएकाले यो जसरी पनि ब्यूँतिनुपर्ने अडान राखे।

संसद ब्यूँतिएन भने के हुन्छ? संसद पुनर्स्थापनाको विकल्प नै नभएको भट्टराइको जवाफ थियो। यो सँगै आफ्ना पार्टीका नेता उपेन्द्र यादवसँग आफू असन्तुष्ट रहेको भन्ने हल्लाहरु निराधार भएको भट्टराईले दाबी गरेका छन्।

भट्टराईलाई भारतबाट परिचालित भएको र हाल पनि सोही अभ्यासमा रहेको आरोप लागेको छ। त्यसमा भट्टराईको जवाफ छ– पराजित, पश्चगामी सोच राख्ने शक्तिहरु, दलाली र चाकडी गरेर जीवन गुजार्नेहरुले त्यस्तो आरोप लगाइरहेका छन्। त्यसमा जवाफ दिएर समय खेर फाल्दिनँ।’

प्रस्तुत छ, डा. बाबुराम भट्टराईसँगको भिडियो अन्तर्वार्ताको संक्षिप्त अशंः

फाल्गुन ७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्