नेपालगञ्‍जमा ‘बोटिङ’ बिनाको रानी तलाउ

बाँके-नेपालगञ्जको रानीतलाउ डेढ वर्षअघि दोस्रो पटक सौन्दर्यकरण गरेर पानीको फोहोरा, आसपासमा गार्डेनसहित चारवटा बोट सञ्चालनमा ल्याइयो।

दोस्रो पटक सौन्दर्यकरण गर्दा ३५ लाख रुपैया खर्च गरिएको थियो। डेढ वर्षअघि तामझामसहित उद्घाटन गरिएको रानीतलाउ फेरि उस्तै हुँदै गएको छ । एक वर्षमै ठेकेदारले सम्झौता तोडेका छन् । चार वटै बोट काम नलाग्ने भएका छन्।

नेपालगञ्जको बीच बजारमा रहेको रानीतलाउमा बोटिङसहितको सुविधा थपिदा पर्यटकीय स्थलको रुपमा विकास भएको थियो । बोटिङ नहुँदा अहिले रानीतलाउप्रतिको आकर्षण घटेको छ। मानिसहरु जान कम गरेका छन्।

वार्षिक १८ लाखमा रहेको ठेक्काबाट ठेकेदारले हात झिकेपछि अहिले नेपालगञ्ज उपमहानगरपालिका र वडा नं. ८ ले एक÷एकजना कर्मचारी खटाएर रानीतलाउको रेखदेख गरेका छन् । केही वर्षको अन्तरमा लाखौं लगानी गर्ने र त्यसलाई संरक्षण गर्न नसक्ने प्रवृत्ति देखा परिरहेको छ।

२०७६ असार १५ गते सौन्दर्यकरण गरेर उद्घाटन गरेपछि वडा नं. ८ ले करिव चार महिना रानीतलाउ सञ्चालन गरेको थियो । वडाध्यक्ष सुरेन्द्र बैश्य गुप्ताका अनुसार, यो अवधिमा ६ लाख रुपैया कमाइ भयो । सुरुवातमा मान्छेको भीड नै लाग्यो।

लामो समयपछि बोटिङ सञ्चालनमा आएपछि मान्छे ओइरिए । करिव चार महिनामा ६ लाख रुपैया कमाइ भएको देखेका ठेकेदारहरुले बढाबढ गरेर बोले।

दश लाखबाट शुरु भएको ठेक्का कबोल १८ लाख रुपैयामा गएर अडियो। यो बीचमा चैत्रदेखि कोरोना कहर शुरु भयो। वडाध्यक्ष गुप्ताले कोरोना कहरको बेलाका लागि छुटको व्यवस्था गर्ने भन्दा भन्दै ठेकेदारले छोडेर गएको बताए।

अब के हुन्छ ? वडाध्यक्ष गुप्ता भन्छन्, फेरि ठेक्का दिने तयारी भइरहेको छ । उपमहानगरपालिकाले ठेक्काबाटै सञ्चालन गर्ने रणनीति बनाएको छ।

फाल्गुन ७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्