पूर्वका विज्ञ चिकित्सक बिर्तामोडमा, क्यान्सर रोगका बारेमा छलफल

झापा– पूर्वका जिल्लालगायत देशका प्रमुख अस्पतालका विज्ञ चिकित्सक झापाको बिर्तामोडमा भेला भएका छन्।

पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोडको आयोजनामा गरिएको एक विशेष छलफल कार्यक्रमका लागि पूर्वका विज्ञ चिकित्सक बिर्तामोडमा भेला भएका हुन्।

शुक्रबार साँझ आयोजना गरिएको छलफल कार्यक्रममा फैलिँदै गरेको क्यान्सर रोगको अवस्था र त्यसका निराकरणका बारेमा चर्चा गरिएको थियो।

बीपी कोइराला क्यान्सर अस्पताल भरतपुरका चिकित्सक, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, विराटनगरका विभिन्न अस्पताल तथा बिर्तामोडमा कार्यरत विभिन्न विज्ञ चिकित्सकहरूले छलफलमा भाग लिएका छन्।

क्यान्सर रोगको अवस्था भयावह बन्दै गर्दा त्यसको निराकरण कसरी गर्न सकिन्छ भन्ने उद्देश्यले छलफल कार्यक्रमको आयोजना गरिएको पूर्वाञ्चल क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर डा. वीरेन्द्र यादवले बताए।

क्यान्सरका रोगी देश बाहिर पठाउने काम बन्द गरौँः दुर्गा प्रसाईं


झापाको बिर्तामोडमा रहेको पूर्वाञ्चल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले क्यान्सरका रोगीलाई देश बाहिर पठाउने काम बन्द गरिनुपर्ने बताएका छन्।

सोही छलफलका क्रममा उनले विज्ञ चिकित्सकलाई त्यस्तो सुझाव दिएका हुन्। नेपालमा रोगको निदान सम्भव हुँदाहुँदै देश बाहिर पठाउने काम जसले गर्छ ऊ चाहिँ खास ‘माफिया’ भएको प्रसाईंको भनाइ थियो।

उनले भने, ‘हाम्रो मात्र क्यान्सर अस्पताल होस् भन्ने छैन। अरू पनि क्यान्सर अस्पताल स्थापना हुन्। नेपालीलाई विदेशी उपचारको चर्को शूल्कको मार भोग्न नलगाउँ।’

उनले आफू क्यान्सरको रोगी भएको र विदेशमा गएर उपचार गराउँदा पीडा पाएकाले क्यान्सर अस्पताल स्थापनाको पहलमा आफू लागेको बताए।

फाल्गुन ७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्