व्यङ्ग्य गजल

हात लाग्यो सुन्ना

बाँड्छौँ भन्थे गाउँमा दाना हात लाग्यो सुन्ना
पाउँछौ भन्थे मिठो खाना हात लाग्यो सुन्ना।।

स्वर मिलाउ भाइ हो भने मिलाए स्वर पनि
तिन्कै तालमा गाए गाना हात लाग्यो सुन्ना।।

खुबै खाएथे चुटाइ पिटाइ उल्टो झुण्डिएर
कति कटाए चिसो थाना हात लाग्यो सुन्ना।।

लाठा भाटा के के काँधमा जङ्गलको बास
बेपत्ता भए कति जाना हात लाग्यो सुन्ना।।

रङ्गी चङ्गी महलमा रजाइँ गरे नाइकेले
फेरिएन गाउँका छाना हात लाग्यो सुन्ना।।

समृद्धि आउँछ मुलुकमा धेरै छाँटे भाषण
आफ्नै बुने ताना बाना हात लाग्यो सुन्ना।।

व्यर्थै भनेँ घरमा आयो खाने लाउने बखत
सधैँ सोध्छन् ख्वै त नाना हात लाग्यो सुन्ना।।

फाल्गुन ८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्