कविता

ठोकतन्त्र, जोकतन्त्र, शोकतन्त्र

पञ्चतन्त्र, प्रजातन्त्र गणतन्त्र देखेँ
टुना–मुना मोहनीका लोकमन्त्र खेपेँ
कन्थाहीन मुखियाको सुनमाथि हिरा
हिरा राख्ने भकरीमा छैन पुत्ले किरा…!

ठोकतन्त्र, जोकतन्त्र शोकतन्त्र देखेँ
नौटङ्की र नाटकको भोकतन्त्र देखेँ
गैरीखेतमा खेती छैन पारिसके चिरा
बगरेले कठै ! चिरे धमनी र शिरा…!

देखेँ मैले छाडातन्त्र, भाँडतन्त्र देखेँ
दाम्लो चुँडी शहर चर्ने साँढतन्त्र देखेँ
गिरिधर जपिरहिन् सारा जीवन मीरा
भद्रापति भागे कतै बचाऊ धीरा–भीरा…!

कृष्णः गिरिधर, भद्रापति
देवीः धीरा, भीरा

फाल्गुन ८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्