राज्यद्वारा हत्याको अनुमोदन

कानूनमा आधारित राज्य तथा शासन व्यवस्थाको केन्द्रमा ‘राज्यले न्याय गर्छ’ भन्ने आम जनताको विश्वास हुन्छ। कानूनको नजरमा या राज्यको व्यवहारमा सबै नागरिक समान हुन्छन् भन्ने मान्यता प्रजातान्त्रिक शासन व्यवस्थाको आधार हो। त्यो आधारशीला भत्केमा प्रजातन्त्र भन्ने व्यवस्था मिथक बाहेक केही हुन सक्दैन।

त्यस्तै कानूनमा आधारित राज्य व्यवस्थामा कसूर अनुसारको दण्ड सजायको व्यवस्था गरिएको हुन्छ अपराधीहरुका लागि। समाजमा शान्ति र सुव्यवस्था कायम गर्न दण्ड सजायको कानूनी व्यवस्था गरिएको हो, अन्यथा कानूनबाट हैन ‘जसको शक्ति उसको भक्ति’को आधारमा ‘कविलातन्त्रीय’ राज्य पद्धति स्थापित हुन्छ। त्यहाँ कानुन, ऐन र संविधानबाट हैन, कविला प्रमुखको स्वार्थ र सनकबाट दण्ड व्यवस्था स्थापित हुन्छ।

गल्ती गर्नेलाई सुध्रने अवसर दिनुपर्छ भन्ने मान्यता मानवीय हो। तर अपराधलाई अनुमोदन हुने गरी ‘कविलातन्त्र’ले आफू नजिकका अपराधी या हत्यारालाई माफी दिनु, त्यो पनि प्रस्तावित आम निर्वाचनको मिति नजिकै, यसले राज्यको अनुहारमा अपराधी चरित्रको पहिचान स्थापित गर्दछ।

फागुन ७ नेपालमा प्रजातन्त्र दिवसका रुपमा स्थापित दिन हो, विगत ७० वर्षदेखि। असल नियतका साथ, शारीरिक रुपमा अस्वस्थ, र असल चरित्र देखाएमा कैदीहरुको सजाय मिनाहा गर्ने र उनीहरुलाई समाजको प्रतिष्ठा आर्जन गर्ने अवसर दिने राजकीय परम्परा बसेको छ। तर विगत केही वर्षमा यो सकारात्मक अभ्यासमा आपराधिक विचलन देखा परेको छ।

राष्ट्रपतिद्वारा क्षमा पाएका व्यक्तिहरु फेरि अपराधमा प्रवेश गर्ने गरेका केही उदाहरण छन्। यसपल्टको फागुन ७ मा राष्ट्रपतिका तर्फबाट त्यस्तै अक्षम्य अपराध भएको छ। कार्यकारीको या ओली नेतृत्वको कामचलाउ सरकारले गरेका निर्णय या सिफारिस विपरीत म जान सक्तिनँ भन्ने स्पष्टीकरणले शीतल निवासको नैतिक र कानुनी त्रुटिलाई कम गर्दैन।

राष्ट्रपतिद्वारा माफी पाएका करिब २०० अपराधी मध्ये चितवनमा ९ वर्षअघि बन्दी अवस्थामा रहेका तत्कालीन तरुण दल अध्यक्ष शिव पौडेलका हत्याराहरु पनि छन्। स्वर्गीय पौडेलकी पत्नी वीना पौडेलले राष्ट्रपतिको यो कदमको विरोध गर्दै त्यसलाई समीक्षा गर्न आग्रह गरेकी छिन् ।

हत्याराहरु ओली समर्थक भएकै आधारमा उनीहरुप्रति राज्यको कृपा कानूनी राज्यको उपहास हो। हत्याको राजनीतिको अनुमोदन प्रधानमन्त्री र राष्ट्रपतिद्वारा हुँदा कानूनको शासनको स्वतः अवमूल्यन भएको छ।

फाल्गुन ८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्