कोरोनाविरुद्धको खोप लगाउन डराए जनप्रतिनिधि

नेपालगञ्ज – बाँकेका जनप्रतिनिधिहरु कोरोनाविरुद्धको खोप लगाउन डराएका छन्। धेरै जनप्रतिनिधिले खोप लगाएका छैनन्।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले थोरै जनप्रतिनिधिले मात्रै खोप लगाएको जानकारी दिए।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेज वलीका अनुसार, जिल्लामा ३ सय ९० जना जनप्रतिनिधिलाई खोप लगाउने लक्ष्य लिइएकोमा १ सय ६२ जनाले मात्रै खोप लगाएका छन्।

जनप्रतिनिधिलाई नै समेट्नका लागि खोप लगाउने अवधि दुई दिन बढाइएको छ।

‘खोप लगाउन तोकिएको मिति हिजो नै सकिएको छ । बाँकेमा जनप्रतिनिधि, पत्रकार र प्रहरीका लागि आज र भोलि खोप लगाइने भएको छ’, फोकलपर्सन वलीले भने ।

फोकलपर्सन वलीले जिल्लामा ७ सय प्रहरीलाई खोप लगाउने लक्ष्य लिइएकोमा ६ सय ६७ जनाले खोप लगाएका बताए। बाँकेमा समग्रमा ९५.२६ प्रतिशतले खोप लगाएको बताइएको छ।

फाल्गुन ९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्