हैन, के भइरहेको छ लिभरपुललाई? के सोच्दै होलान् क्लोप र सलाहहरु?

लन्डन- उही खेलाडी, उही प्रशिक्षक अनि उही टोली ! अघिल्ला दुई सिजन इङ्लिस प्रिमियर लिग फुटबल क्लब  लिभरपुलले घर र घरबाहिर दुवैतर्फ ‘खास’ गर्‍यो। गत वर्ष प्रिमियर लिग र त्यसभन्दा अघिल्लो वर्ष युरोपियन च्याम्पियन बन्नु लिभरपुलका लागि ‘इङ्लिस शान’ थियो। यी सफलताको संकेत २०१७/१८ सिजनदेखि नै दिएको थियो, युरोपियन च्याम्पियन्स लिगको फाइनलसम्म पुगेर।

त्यसभन्दा अघिल्लो सिजन, २०१६/१७ मा युरोपको दोस्रो ठुलो महादेशीय क्लब प्रतियोगिता युरोपा लिगमा फाइनलसम्म पुगेको थियो। तर युरोपा लिग त्यो प्रतियोगिता थिएन जुन जितेर लिभरपुल आफ्नो क्षमता देखाउन चाहन्थ्यो। ऊ गर्वसाथ भन्न चाहन्थ्यो- हामी घरेलु लिग र युरोपियन च्याम्पियन्स लिग उपाधिका हकदार हौँ र यहीस्तरमा मात्र देखिन चाहन्छौँ।

तर लिभरपुलले यसलाई गरेर देखाउन सकिरहेको थिएन। इङ्ल्यान्डको घरेलु लिग फुटबल प्रिमियर लिगका रुपमा आयोजना हुन थालेयता लिभरपुलले यो प्रतियोगिता जित्न सकिरहेको थिएन। बरु, युरोपियन च्याम्पियन्स लिग २००४/२००५ सिजनमा पछिल्लोपटक जितेको थियो। विश्वका ठूला अन्तर्राष्ट्रिय प्रतियोगिता जित्नुको महत्व पक्कै बढी होला, तर घरेलु लिगको विजेता बन्न नसक्नुको पिडा लिभरपुललाई गहिरो थियो।

क्लबको यो अपेक्षा पूरा गर्न नसक्ने प्रशिक्षकहरु लिभरपुलमा लामो समय टिक्न सकिरहेका थिएनन्। २०१० देखि २०१२ को बीचमा मात्र लिभरपुलले तीन जना प्रशिक्षक परिवर्तन गरेको थियो। खासमा तत्कालीन प्रशिक्षक राफेल बेनिटेजले सन् २००८/०९ सिजन लिभरपुललाई घरेलु लिगको उपविजेतासम्म बनाएका थिए।

बेनिटेज तिनै प्रशिक्षक थिए जसले आफ्नो पहिलो वर्षमै लिभरपुललाई युरोपियन च्याम्पियन बनाएका थिए, सन् २००५ मा। सन् २००४ मा उनकै प्रशिक्षणमा भ्यालेन्सियाले ला लिगाको उपाधि जितेको थियो। तर बेनिटेजले लिभरपुललाई घरेलु लिगको उपाधि जिताउन सकिरहेका थिएनन्। सन् २००९/१० सिजनमा  लिभरपुल युरोपियन च्याम्पियन्स लिगको समूहगत चरणबाटै बाहिरियो।

घरेलु लिगमा सातौँ भयो र युरोपियन च्याम्पियन्स लिगमा छनोट हुन सकेन। आलोचित बेनिटेज लिभरपुल छाडेर युरोपियन च्याम्पियन्स लिग जितेको इन्टर मिलानमा पुगे। नयाँ प्रशिक्षकका रुपमा रोय हड्सन पुगे लिभरपुल। सन् २०१२ मा ब्रेण्डन रोजर्स भित्रनु अघि अर्का प्रशिक्षक केन्नी डालग्लिसलाई पनि लिभरपुलले हटाई सकेको थियो।

बेनिटेजले छाडेयता र रोजर्स भित्रनुअघि लिभरपुल लगातार तीन सिजन युरोपियन च्याम्पियन्स लिगका लागि छनोट हुन सकेन। रोजर्सले पनि पहिलो वर्ष कमाल देखाउन सकेनन्। लिभरपुल घरेलु लिगमा सातौँ भएर फेरि युरोपस्तरका प्रतियोगितामा छनोट हुन असफल भयो। तर अर्को वर्ष रोजर्सले खास गरे। लिभरपुल घरेलु लिगमा उपविजेता बन्यो। च्याम्पियन्स लिगमा त छनोट भयो तर च्याम्पियन्स लिगमा समूहगत चरणबाटै बाहिरियो। सन् २०१४/१५ सिजन लिभरपुलको पुरानै हविगत देखिएपछि लिभरपुल नयाँ प्रशिक्षक खोजिमा लागेको थियो।

अनि भित्रिए क्लोप

जर्मनीले विश्व फुटबलमै खास गरिरहेको थियो। ब्राजिलमा भएको विश्वकपको फाइनलमा अर्जेन्टिनालाई हराएर विश्व च्याम्पियन बनेको थियो।

त्यही देशको घरेलु लिगमा प्रशिक्षक यर्गेन क्लोपको चर्चा खास थियो। निरन्तर हावी भइरहेको बायर्न म्युनिखलाई टक्कर दिने कुनै क्लब थियो भने त्यो बोरुस्सिया डर्टमुन्ड नै थियो। त्यसैका प्रशिक्षक थिए क्लोप।

उनी सन् २००८ देखि त्यस क्लबमा प्रशिक्षक थिए। त्यसबीचमा डर्टमुन्ड लगातार दुई सिजन २०१०/११ र २०११/१२ घरेलु लिग विजेता बनेको थियो। त्यसपछिका लगातार दुई सिजन उपविजेता बनेको थियो। २०१२/१३ सिजनमा डर्टमुन्ड युरोपियन च्याम्पियन्स लिगमा फाइनलसम्म नै पुगेको थियो।

त्यतिबेला जर्मनीको राष्ट्रिय टोलीमा रहेका पहिलो रोजाईका धेरै खेलाडी बायर्न म्युनिखका थिए। उसको दबदबा झे‍ल्नु डर्टमुन्डलगायतलाई सजिलो थिएन। अनि लिभरपुलको रोजाईमा परे क्लोप। उनी पनि इङ्लिस प्रिमियर लिगमा आउन सहमत भए।

पहिलो सिजन उल्लेख्य रहेन, लिभरपुल घरेलु लिगमा आठौँ स्थानमा रहे। युरोपा लिगमा भने फाइनलसम्म पुगेको थियो। तर सन् २०१६/१७ सिजनयता लिभरपुलको अनुहार फेरियो। घरेलु लिगमा उपाधि जित्नेस्तरमा प्रदर्शन गर्न थाल्यो भने यसको प्रभाव- च्याम्पियन्स लिगमा छनोट भयो।

सन् २०१७/१८ सिजनमा लिभरपुल युरोपियन च्याम्पियन्स लिगको फाइनलमा पुग्यो। फाइनलमा टोलीका महत्वपूर्ण खेलाडी मोहम्मद सलाह रियल म्याड्रिडका कप्तान सर्जियो रामोसको गम्भिर ट्याकलमा पर्नु लिभरपुलका लागि दुर्भाग्य बन्यो। लिभरपुल पराजित भयो।

तर अर्को सिजन, २०१८/१९ मा लिभरपुलले फेरी गतिलो प्रदर्शन गर्‍यो। घरेलु लिगमा म्यानचेस्टर सिटीभन्दा केवल एक अंकले पछाडि परेर उपविजेता बन्यो भने युरोपियन च्याम्पियन्स लिगको विजेता बन्यो।

त्यस सिजन लिभरपुलले घरेलु लिगमा केवल एउटा हार ब्यहोरेको थियो।  गत सिजन भने लिभरपुलले घरेलु लिगको उपाधि जित्यो, दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीलाई १८ अंकले पछाडि पारेर। लिभरपुलले सात खेल बाँकी रहँदै उपाधि जित्ने पक्का गरेको थियो जुन प्रिमियर लिगको इतिहाँसमा त्यति चाँडै कुनैपनि टोलीले त्यसअघि उपाधि पक्का गरेका थिएनन्। त्यस सिजन लिभरपुलले घरेलु लिगमा हात पारेको ३२ जित पनि कीर्तिमानको बराबरी थियो।

सन् २०१९ मा लिभरपुलले यूईएफए सुपर कप र फिफा क्लब विश्वकपको उपाधि जितेको थियो।

लिभरपुल भित्रिएयता क्लोपले नयाँ उचाई प्राप्त गरेका छन्। टोलीको प्रदर्शन र नतिजाकै कारण उनी विश्व फुटबल महासंघ-फिफाले प्रदान गर्ने वर्षको सर्वोत्कृष्ट प्रशिक्षकका पछिल्ला लगातार दुई संस्करण हात पारेका छन्। सन् २०१९ मा उनलाई जर्मन फुटबल संघले वर्षकै सर्वोत्कृष्ट जर्मन प्रशिक्षक पनि घोषणा गरेको थियो।

क्लबका मुख्य स्ट्राइकर सलाह सन् २०१७/१८ मा प्रिमियर लिग प्लेयर अफ दी सिजन घोषित भएका थिए। उनी त्यससहित लगत्तै अर्को सिजन प्रिमियर लिगको सर्वाधिक गोलकर्ता पनि बनेका थिए। उनी सन् २०१७ र २०१८ लगातार दुई वर्ष अफ्रिकाकै सर्वोत्कृष्ट फुटबलर घोषित भएका थिए।  टोलीका डिफेण्डर भिर्जिल भान डिज्क २०१८/१९ को युरोपियन वर्ष खेलाडी  चुनिएका थिए।

लिभरपुलका अर्का खेलाडी सेडियो माने सन् २०१९ मा अफ्रिकाको सर्वोत्कष्ट वर्ष फुटबलर र २०१८/१९ सिजनका लागि प्रिमियर लिगको सर्वाधिक गोलकर्ता बनेका थिए। २८ वर्षीय माने र सलाह दुवै करियरको  ‘क्रिम एज’मा छन्। २९ वर्षीय ब्राजिलियन रोबर्टो फिरमिनो पनि लिभरपुलका महत्वपूर्ण खेलाडी हुन्। टोलीका ब्राजिलियन गोलकिपर एलिसन लिभरपुलको यस यात्राका महत्वपूर्ण सारथी हुन्। सन् २०१८ मा इटालियन सिरि ए क्लब एएस रोमाबाट भित्रिएयता एलिसनले व्यक्तिगतरुपमा पनि थुप्रै सफलता हात पारिसकेका छन्।

उनले सन् २०१८/१९ मा प्रिमियर लिगको सर्वोत्कृष्ट गोलकिपर, त्यसै सिजन युरोपियन च्याम्पियन्स लिगको सर्वोत्कृष्ट गोलकिपर र सन् २०१९ का लागि फिफाको सर्वोत्कृष्ट गोलकिपरको अवार्ड जितेका छन्। उनी सन् २०१९ मा भएको कोपा अमेरिकामा सर्वोत्कृष्ट गोलकिपर घोषित भएका थिए। उनी ब्राजिलको राष्ट्रिय टोलीको पहिलो रोजाईको गोलकिपर हुन्।

अनि यो सिजन…

यो सिजन लिभरपुल यस्तो देखिरहेको छ जसले अघिल्ला दुई सिजन प्रिमियर लिग र युरोपियन च्याम्पियन्स लिगमा त्यस्तो नतिजा निकालेको थियो भन्दा अस्वभाविक सुनिन्छ।

लिभरपुल यो सिजन घरेलु लिगका  पछिल्ला चार खेलमा लगातार पराजित भएको छ र आफुभन्दा एक खेल कम खेलेको शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीभन्दा १६ अंकले पछाडि छ। उसलाई युरोपियन च्याम्पियन्स लिगको आगामी सिजन छनोट हुन हम्मेहम्मे छ।

घरेलु लिगमा २५ खेलबाट ४० अंक भएको लिभरपुल छैटौँ स्थानमा छ। युरोपियन च्याम्पियन्स लिगमा छनोट हुन कम्तिमा चौथो स्थानमा रहनुपर्छ। हाल चौथो स्थानमा रहेको टोली चेल्सीको २५ खेलबाट ४३ अंक छ।

लिभरपुलले यो सिजन घरेलु लिगमा ११ जित, ७ हार र ७ बराबरीको नतिजा निकालेको छ। पछिल्ला चार खेलमा क्रमश ब्रिघ्टनसँग १-०, म्यानचेस्टर सिटीसँग ४-१, लेस्टर सिटीसँग ३-१ र एभर्टनसँग २-० गोलले पराजित भएको थियो। लेस्टरबाहेक अन्य तीनवटै टोलीसँग लिभरपुलले घरेलु मैदानमा हार ब्यहोरेको हो।

एभर्टनले सन् १९९९ पछि पहिलोपटक लिभरपुलको मैदानमा जित हात पारेको हो यसबीचमा यी दुईबीच २३ पटक प्रतिस्पर्धा भएको थियो जसमा लिभरपुलले १३ जित र १० बराबरीको नतिजा निकालेको थियो। एभर्टन, लिभरपुल सबैभन्दा बढी खेलमा अपराजित रहेको टोली थियो। यसैगरि प्रशिक्षक क्लोपले सन् २०१४ पछि पहिलोपटक लगातार चार खेलमा हार ब्यहोरेका हुन्। यसअघि यस्तो नतिजा बुण्डेस लिगामा बोरुस्सिया डर्टमुन्डमा रहँदा उनले ब्यहोर्नु परेको थियो।

यसैगरि क्लोप आफ्नो प्रशिक्षण करियरमा पहिलोपटक घरेलु मैदानमा खेलेका लगातार चार लिग खेलमा पराजित भएका छन्। लिभरपुलको पछिल्लो लगातार चार हार अघि घरेलु मैदानमा उसले खेलेको अन्तिम खेलमा पनि हार ब्यहोरेको थियो, बर्नलीसँग १-० गोलले।

क्लोप यतिबेला हरेक खेलमा भएका गल्तीहरु सम्झिन चाहन्नन् र अघिल्लो खेलमा सुधार गर्ने प्रयाश गर्छन्। उनी हारेका खेलमा भएका राम्रा कुरा पनि सम्झन चाहँदैनन्।

‘आज भएका राम्रा कुराबारे म कुरा गर्न चाहन्न। किनभने हामीले खेल हारेका छौँ र यो नै गहिरोसँग अनुभव भएको छ। हामीले राम्रा कुराले आगामी खेलमा निरन्तरता दिनुपर्छ। जबसम्म फिनिसिङ राम्रो गर्न सकिँदैन तबसम्म फुटबल जित्न गाह्रो हुन्छ’, एभर्टनसँगको खेलपछि क्लोपले भनेका थिए।

लिभरपुलमा यो सिजन भइरहेको राम्रो पक्ष भनेको, सलाह लिगको सर्वाधिक गोलकर्ता सूचीमा शीर्षस्थानमा छन्। उनले १७ गोल गरेका छन् भने तीन गोलमा असिस्टमा छ उनको। दोस्रो स्थानमा रहेका म्यानचेस्टर युनाइटेडका ब्रुनो फर्नान्डेसको नाममा १४ गोल छ।

तर सलाह पक्कैपनि खुसी छैनन्। उनले बुझेका छन्- टोलीका असफलतामा उनका सफलता हराउँछन्। टोलीले ठुला प्रतियोगितामा उपाधि जित्ने बानी सलाहलाई पनि परेको छ।

 

फाल्गुन ९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्