जन्मदिनको शुभकामना

शिव परियारको २८ वर्षको यात्रा

गायक शिव परियारले गीत गाउन पहिलोपल्ट स्टेजमा उक्लँदा उनको उमेर ११ वर्षको थियो। उनी ‘प्रथम’ भए। त्यसपछि उनको संगीत क्षेत्रमा पाइला झन् झन् उकालो लाग्यो।

आजबाट उनी ३९ वर्षका भए। उनको उमेरमा ११ वर्ष घटाएपछिको बाँकीको उमेर सांगीतिक क्षेत्रमा स्वर्णीम बनेको छ। जन्मदिनमा शिव परियार भन्छन्, ‘एउटा किसानको छोरो, जसको सात पुस्ताले काठमाडौँ देखेको नै थिएन, भगवानले आशिर्वाद स्वरुवप दिएको प्रतिभाबाट पुलकित भएर नेपाली संगीतमा शास्त्रीय संगीतको अध्ययन गरेर आफ्नो पुरानो जीवनलाई ब्रेक डाउन गर्दै नयाँ जीवन, नयाँ विरासत र नयाँ परिचयको साथमा स्थापित भयो। अब यो नाम सात पुस्तासम्म रहन्छ।’

उनका शब्दमा गर्व महशुस हुन्छ। शिवको जीवनलाई मात्रै नियाल्दा ‘रिभोलुशन’ शब्द मिल्न जान्छ। २०५१ सालमा उनले विद्यालयलाई प्रतिनिधित्व गरेर जिल्ला स्तरीय बालगीत प्रतियोगीतामा भाग लिए। कक्षा ७ मा पढ्ने उनी प्रथम भए।

विद्यालयले खेलकुद लगायत अन्य क्रियाकलापमा ट्रफी, पुरस्कार जितेको भए पनि गीत गायनमा जितेको थिएन। शिवले जब जिते त्यसले तहल्का पिट्यो। ‘मलाई त सबैले चिन्ने भए। नत्र भने कक्षामा कि फस्ट हुने विद्यार्थी किन अतिरिक्त क्रियाकलापमा सहभागी हुने विद्यार्थी चिनिन्थे,’ परियारले भने, ‘मैले ठूलो परिचय पाएँ, दिलबहादुर धनामगर, स्व डम्मर बहादुर थापा, डिल्ली बहादुर श्रेष्ठ सरले मलाई धेरै स्याबास्सी दिनुभयो।’

सर्लाहीमा उनको फरक परिचय बन्यो। त्यसपछि उनले २०५६ सालमा त्यसलाई अझ फरक पार्ने यात्रा सुरु गरे। शास्त्रीय संगीत सिकेर उनीले नेपाली संगीत क्षेत्रमा आउने बाटो पहिल्याए।

‘नेपाली संगीतमा लागेर बाँच्न सकिदैन भन्ने समयमा संगीत पढ्न शुरु गरेको मैले नयाँ बाटो कोरेँ जस्तो लाग्छ। नयाँ युवा पुस्तामा संगीतप्रतिको सम्मान बढाउने, युवा पुस्तालाई गर्व गर्न लायक बनाउने काम गर्ने बाटो हिँडे मैले,’ परियार भन्छन्, ‘मेरो प्रतिभा, इच्छा र रहर संगीत हो। मैले प्राइभेट रुपमा पढेँ र आजसम्म त्यही कर्म गर्दैछु, दर्शक श्रोताको साथ छ, म आफूलाई भाग्यमानी ठान्छु।’

उनलाई शिव परियार को हो भनेर सोध्दा भन्छन्, ‘शिव परियार भनेको मेरा गुरु चन्दन कुमार श्रेष्ठको सांगीतिक डिजाइन हो।’

सफलताको सिँढी उक्लिरहेका उनलाई बेला बेलामा ठेस लाग्छ, कहिलेकाहिँ जातीयताको नमिठो किचलोमा जोडिनुपर्छ। कहिलेकाहिँ आफ्नो मेहनत, सक्रियतामा यस्ता कुरा जोडिने गर्छन्। ‘म आर्थिक रुपमा विपन्न हुन्थेँ, मेरो परिवार अरुको घरमा काम गरेर खानुपर्थ्यो भने म आज गायक हुन्नथेँ,’ उनले भने, ‘हाम्रो समाजको संरचना, शैक्षिक त्रुटिले यस्तो अवस्था सिर्जना गरेको छ। ‘शैक्षिक र आर्थिक रुपमा सम्पन्न छ भने कुनै जात र वर्गले थिच्न सक्दो रहेनछ। मैले प्रत्यक्ष रुपमा भोग्नु नपरेपनि मलाई जातलाई गाली गर्दा नराम्रो लाग्छ।’

स्टेज चढेको दिन फस्ट भएका उनी आजसम्म चम्किरहेका छन्। भविष्य उनलाई थाहा छैन। जसको अघिल्लो ७ पुस्ताले काठमाडौँ देखेको थिएन, उनले काठमाडौँमा आफ्नो कमाइले घर बनाए, गाडि चढेर हिँडेका छन्। तर पनि लाग्छ, ‘भविष्य के हुन्छ थाहा हुन्न।’

कलाकारका आफ्नै व्यथा छन्, उनी भन्छन्, ‘त्यसका पछाडि उनीहरुको मेहनत, चिन्तनको अभाव हुनु एउटा कारण हो। हो, मलाई मन नपराउने पनि हुनुहुन्छ। तर मैले जति गरेँ त्यसको दशौँ गुना पाएको छु।’

 

फाल्गुन ९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्