आयो १० लाख डोज खोप, अघि बढ्न सरकारसँग ‘रोडम्याप’ छैन

तस्बिरहरु: बर्षा शाह

माघ ८ गते भारत सरकारले स्वरुप नेपाललाई १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप प्रदान गरेको थियो। अनुदानमा पाएको १० लाख खोपबाट सरकारले माघ १४ गतेबाट देशभर नै खोप अभियान सञ्चालनमा ल्यायो। अहिले खोप अभियान पहिलो चरणको दोस्रो प्रथामिक्तामा परेका व्यक्तिहरुले लगाइरहेका छन्।

पहिलो चरणमा सरकारले अंग्रपक्तिमा खटिएका व्यक्तिहरुलाई खोप दिएको थियो। तर पहिलो चरणमा खोप लगाउनेको संख्या सरकारले तोके भन्दा निकै कमले लगाएका थिए। हालसम्म कोरोना भाइरसविरुद्धको खोप लगाउने संख्या सरकारले तोकेको भन्दा निकै कम छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शत प्रतिशत कुनै पनि खोप नलगाइने दाबी गरेका छन्।

उनले भने, ‘शत प्रतिशत कुनै पनि खोप प्रयोग हुँदैनन्। वर्षौदेखि लगाउँदै आएको डीपीटी, पोलियोको खोप लगाउन थालेको ५० वर्ष हुन लाग्यो। त्यसको कभरेज पनि ८० देखि ८५ प्रतिशत मात्रै छ। त्यसैले यो खोप पनि शत प्रतिशत सोचिएको हो भने त्यस्तो हुँदैन। कोही गर्भवती हुन सक्छन्, कोही दुध खुवाइरहेका हुन सक्छन्, अनि कसरी पुग्छ शत प्रतिशत?’

यस्तै आइतबार दिउँसो सरकारले खरिद गरेको २० लाख डोज ‘कोभिसिल्ड’ मध्ये पहिलो चरणको १० लाख डोज खोप नेपाल आइपुगेको छ। यो खोप एयर इन्डियाको विमानमार्फत दिल्ली खोप नेपाल ल्याइएको हो। नेपाल सरकारले सेरम इन्स्टिच्यूट अफ इन्डियामा फागुन ५ गते २० लाख डोज खरिदका लागि सम्झौता गरेको थियो। प्रतिडोज ४ डलरमा सरकारले २० लाख डोज खोप खरिदका लागि यसअघि नै ९३ करोड रुपैयाँ अग्रिम भुक्तानी पठाएको थियो। नेपालको खरिद ऐनले अग्रिम भुक्तानी गर्न नमिल्ने भएपछि मन्त्रिपरिषद्ले अग्रिम भुत्तानीका लागि निर्णय गरेको थियो।

उक्त खोपलाई टेकुमा रहेको स्वास्थ्य सेवा विभागमा भण्डारण गरिएको छ। फागुन २३ गतेदेखि सञ्चालन गर्ने दोस्रो चरणको खोप अभियानका लागि खरिद गरिएको उक्त खोप आवश्यक्ता अनुसार ७ वटै प्रदेशमा वितरण गरिने छ।

दोस्रो चरणको खोप रहेक पालिकाको वडामा लगाउने गरी खोप केन्द्रबाट पठाइने डा. गौतमले बताए। दोस्रो चरणको खोप अभियानमा सरकारले ५५ वर्ष माथिका नगरिक र जोखिम समुहलाई खोप दिने योजना बनाएको छ।

तर उनीहरुलाई कसरी खोप लगाउने सरकारसँग कुनै योजना भने छैन। खोपप्रतिको डरबाट उनीहरुलाई कसरी विश्वस्त बनाउने भन्ने सरकारले सकेको छैन।

पहिलो चरणमा खोप ८२ प्रतिशत स्वास्थ्यकर्मीले खोप लगाएको प्रवक्ता डा. गौतमले दाबी गर्दै आए पनि खोपका बारेमा सबैभन्दा धेरै बुझका उनीहरुलाई यसको आवश्यकता सबैभन्दा बढी थियो। तर अधिकांशले खोप नलगाएको पाइएको छ।

स्वास्थ्यकर्मीको तुलनामा ५५ वर्षमाथिका नागरिकले खोपका बारेमा कम बुझेका छन्। यो उमेर समुहका कतिपय पढ्लेख नगरेका हुन सक्छन्, कतिपय डराएका हुन सक्छन्, कतिपय गलत सूचनालाई आधार मानिरहेका हुन सक्छन्।

डा. गौतमले ५५ वर्ष माथिका नागरिकलाई सम्झाउनु वा बुझाउनु पर्ने अवस्था नभएको बताए।

उनले भने,‘यो उमेर समूहका उहाँहरु हामीभन्दा धेरै जान्ने, बुझ्ने हुनुहुन्छ। उहाँहरुलाई हामीले खोप लगाउनु पर्छ भनेर सम्झाउनु पर्ने वा खोपका बारेका बुझाइरहनु पर्ने अवस्था छैन। यसो भन्दै गर्दा हामीले नबुझाउने भनेको होइन। बुझाउनु चाहिँ पर्छ।’

तर ग्राउण्डको अवस्था भने ललितपुरकी ५७ वर्षकी मिश्रीमायाको जस्तो छ। मिश्रीमाया खोप लगाएपछि मरिन्छ भन्ने डरले आफूलो खोप नलगाउने पक्षमा छिन्। खोप पछि मृत्यु हुने भयका कारण आफू कुनै पनि हालतमा खोप नलगाउने उनी बताउँछिन्।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वको ७५ प्रतिशतले खोप लगाएपछि मात्रै यो महामारीबाट सामान्यतर्फ जान सक्नेछ। विश्वको ७५ प्रतिशत भन्दै गर्दा १८ वर्ष मुनिका बालबालिकालाई खोप दिइएको छैन। यसले गर्दा स्वतः संख्यामा कमी देखिने छ। अहिले जति व्यक्तिलाई ‘इम्युनाइज’ गर्ने हो, त्यसको प्रतिशत वृद्धि गर्न अत्यन्तै आवश्यक छ।

यस्तै विज्ञहरुले भन्ने गरेका छन्, ‘खोप लगाइसकेपछि पनि महामारीबाट बच्नका लागि एउटा डोज लगाएर अर्को डोज नलगाउन्जेलसम्म मास्क छोड्नु हुँदैन, हातको सरसफाइमा ध्यान दिनइरहनु पर्छ, दुरी कायम गरिरहनु पर्छ।’

सरकारले खोपलाई नभएर खोप प्रक्रियालाई प्रभावकारी बनाउन खोप ल्याउने एउटा मात्रै पाटो भएको र खोपको अरु पाटो सरकारका लागि अझै चुनौतीपूर्ण रहेको विज्ञहरुले बताएका छन्। उनीहरुका अनुसार सरकारले खोप मात्र देशमा भित्र्याएर हुँदैन, अबको काम कसरी गर्ने ‘रोड म्याप’ बनाएर अगाडि बढ्न जरुरी छ।

फाल्गुन ९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्