नवनियुक्त प्रदेश प्रमुख झालाई जनकपुरमा १०१ किलोको माला लगाएर स्वागत

जनकपुरधाम– प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख राजेश झा ‘अहिराज’लाई जनकपुरधामस्थित विमानस्थलमा भव्य स्वागत गरिएको छ।

प्रदेश प्रमुख नियुक्त भएपछि आइतबार जनकपुरधाम आएका झालाई जनकपुरधाम विमानस्थलमा १ सय १ किलोको माला लगाएर स्वागत गरिएको हो।

यद्यपि उनलाई स्वागत गर्नका लागि मुख्यमन्त्री तथा मन्त्रीहरु कोही पुगेका थिएनन्। प्रदेश प्रमुख झालाई स्वागत गर्न प्रदेशका आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोज सिंह कुशवाह मात्र पुगेका थिए।

यसभन्दा पहिले रत्नेश्वर लाल कायस्थलाई प्रदेश प्रमुखबाट हटाएर तिलक परियारलाई प्रदेश प्रमुख नियुक्त गर्दा मुख्यमन्त्री लालबाबु राउत आफै स्वागत गर्न पुगेका थिए।

परियारलाई पनि पदमुक्त गरेर पुनः नयाँ प्रदेश प्रमुख नियुक्त गरेपछि प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरु असन्तुष्ट देखिएका छन्।

जनकपुरधाम आएका नवनियुक्त प्रदेश प्रमुख झालाई स्वागतका लागि ओली पक्ष नेकपाको भातृ संगठन युवा संघको केन्द्रीय उपाध्यक्ष सञ्जिव कुमार झालगायतले १ सय १ किलोको माला लगाएर स्वागत गरेका छन्।

फाल्गुन ९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्