साप्ताहिक विश्लेषण फागुन २ देखि ८ सम्म

के नेपालमा कोरोना संक्रमण नियन्त्रित भएकाे हाे?

विश्वमा कोरोनाको लहर कायमै छ, दक्षिण एसिया र हाम्रो देशमा पनि। यद्यपि हाल यो केही ओरालो लाग्ने क्रममा छ। गत वर्ष मार्च (March) महिनाको पहिलो सातादेखि विश्वमा कोरोना संक्रमण क्रमसः बढ्दै जाने क्रम सुरु भई हालसम्म यसको यात्रा निरन्तर मात्रै रहेन बल्कि बढ्दो क्रममा रह्यो।

गत वर्ष मार्चभन्दा पहिला कोरोना संक्रमण मुलत चीन र दक्षिण कोरियामै सीमित थियो भने अन्य दक्षिणपूर्बी एसियाली देशहरुमा फाटफुट मात्रै देखा परेका थिए। मार्चको सुरुवातीसँगै कोरोना संक्रमण यूरोप र त्यसको करीब दुई साता पछि अमेरिकामा अचानक सुरु भई प्यान्डेमिकको रुप लियो र WHO ले मार्च ११ मा कोरोना सर्ब महामारी (World Pandemic) घोषणा गर्यो ।

WHO का अनुसार पछिल्लो समयसम्म विश्वमा जम्मा एघार करोडभन्दा बढीलाई यो संक्रमण लागि सकेको छ भने झन्डै २५ लाख जति मानिसले यसैका कारण आफ्नो ज्यान गुमाइसकेका छन्। अर्थात् हालसम्मको विश्वको समग्र कोरोना मृत्युदर करीब २.२७% रहेको छ। यसरी दैनिक संक्रमण हुने क्रममा हालसम्मकै सबैभन्दा उच्च दैनिक  संक्रमण, WHO का अनुसार,गत वर्षको डिसेम्बर (December) २० का दिन एकै दिन ८, ४३, ४२५ जनामा नया संक्रमण देखिएको थियो भने त्यस पछि यस वर्ष जनुवरी (January) १०का दिन एकै दिन ८,३६,३६८ जनामा दोस्रो सबैभन्दा बढी दैनिक संक्रमण देखिएको थियो।

गत वर्ष मार्चभन्दा पहिला विश्वमै दैनिक तीन देखि चार हजार संक्रमण देखिएका थिए भने गत वर्षको अन्त्य र यस वर्षको सुरुवातमा दैनिक आठ लाखभन्दा धेरै संक्रमण देखापरी यसले कीर्तिमान बनायो। तर हाल झन्डै डेढ महिनादेखि यो क्रम घट्दो छ र पछिल्लो समय यो संख्या दैनिक तीन लाख देखि साढे तीन लाखका बीच सीमित हुन पुगेको छ।

त्यस्तै दैनिक मृत्युको कुरा गर्दा गत वर्षको मार्चको दोस्रो हप्तादेखि दैनिक कोरोना मृत्यु विस्तारै बढ्दै गई हालसम्मकै सबैभन्दा उच्च दैनिक मृत्यु यस वर्षको जनुवरी २२ का दिन एकै दिन १६६६० जनाको मृत्यु भएको थियो भने त्यसपछि यसै वर्ष जनुवरी २८ का दिन  १६६५१ जनाको एकै दिन मृत्यु भई दोस्रो सबैभन्दा धेरै दैनिक मृत्यु भएको थियो।

गत वर्ष मार्चभन्दा अगाडि दैनिक करीब एक सय जनाको कोरोनाका कारण मृत्यु हुन्थ्यो भने यस वर्षको सुरुवातीमा दैनिक सोह्र हजार मानिसको मृत्यु भई कीर्तिमान बन्यो। तर हाल झन्डै ३ हप्तादेखि यो क्रम घट्दो छ र पछिल्लो समय यो संख्या दैनिक करीब नौ हजारमा सीमित हुन पुगेको छ । यसरी विश्वमा पछिल्लो समयमा दैनिक कोरोनासंक्रमण र कोरोनामृत्यु दुवै क्रमसः घट्दै जानु सिंगो मानव जातिको लागि खुशीको खबर हो। पछिल्लो समयमा कोरोना सम्बन्धि जानकारी, अनुसन्धान , उपचार प्रविधि आदिको विकास हुनु र कोरोना खोप कार्यक्रम सुरु हुनु यसका प्रमुख कारण हुन सक्दछन्।

चित्र न. १ मा यो वर्ष फेब्रुअरी १ का दिन देखियता करीब ३ हप्ताको विश्वमा भएको दैनिक कोरोना संक्रमण र कोरोना मृत्युको प्रवृत्ति (Trend) देखाइएको छ। चित्रमा देखाइए जस्तै पहेँलो बार र पहेँलो धनुरेखाले विश्वको दैनिक संक्रमण र दैनिक संक्रमणको प्रवृत्ति देखाएका छन् जुन बिगत तीन हप्ता देखि क्रमसः ओरालो लाग्ने क्रममा छन्। त्यस्तै हरियो रेखा र धनुरेखाले विश्वको दैनिक मृत्यु र दैनिक कोरोना मृत्युको प्रवृत्ति देखाएका छन् र तिनीहरु पनि ओरालो लाग्ने क्रममै छन्। दक्षिण एसियामा पनि कोरोना प्यान्डेमिकको लहर त्यस्तै देखिएको छ।

चित्र न. २ मा दक्षिण एसियाको यस वर्ष फेब्रुअरी १ का दिनदेखि यता करीब तीन हप्ताको दैनिक कोरोना संक्रमण र दैनिक कोरोना मृत्यूको प्रबृत्ति देखाइएको छ। चित्रमा निलो बार र निलो धनु रेखाले क्रमसः दक्षिण एसियाको दैनिक संक्रमण र दैनिक संक्रमणको प्रवृत्ति देखाएका छन् जुन ओरालो लाग्दै आएको देखिन्छ । त्यस्तै सुन्तला रंगको रेखा र धनुरेखाले क्रमसः दक्षिण एसियाको दैनिक कोरोना मृत्यु र दैनिक मृत्युको प्रवृत्ति देखाएका छन्, तिनीहरु पनि क्रमसः ओरालो लाग्ने क्रममै छन्।

कोरोना प्यान्डेमिक सुरु भएपछि प्यान्डेमिक विश्वमान चित्रमा दक्षिण एसिया गत वर्षको एप्रिल महिनाको दोस्रो साता तिरदेखि देखिन सुरु गरेको हो। त्यसभन्दा अगाडि यूरोपमा अत्यधिक संक्रमण देखिएको थियो भने अमेरिकाज (Americas=उत्तर अमेरिका + दक्षिण अमेरिका ) मा पनि प्यान्डेमिक उदाइसकेको थियो ।  त्यस पछि प्यान्डेमिक विश्वमान चित्रमा दक्षिण एसियाको आकार ठूलो हुँदै गई यसले अगस्ट (August)को सुरुवाती देखि अक्टोबर (October)को मध्यसम्म करीब साढे दुई महिना विश्व प्यान्डेमिकको सबैभन्दा ठूलो हिस्सा ओगट्यो। त्यसताका यूरोपमा कोरोना संक्रमणको मात्रा निकै कम भइसकेको थियो भने अमेरिकाजमा  यसको संक्रमण अत्यधिक थियो ।

सेप्टेम्बर (September)को मध्य तिर दक्षिण एसियामा संक्रमण यति धेरै बढ्यो कि विश्वको कूल दैनिकसंक्रमित मध्ये दक्षिण एसियामा मात्रै विश्वको करीब ३५%  संक्रमण देखियो। सेप्टेम्बर १७ का दिनविश्वको जम्मा ३१०३६२ संक्रमितमध्ये १०५३६८ दक्षिण एसियामा भेटिएका थिए। त्यो त्यही दिन थियो जुन दिन WHO का अनुसार दक्षिण एसियामा हाल सम्मकै सबैभन्दा धेरै संक्रमित देखिएको थियो। विश्वको तुलनामा दक्षिण एसियामा मृत्युको अनुपात भने केही कम देखिन्छ। त्यसै दिन भएको जम्मा५९५६ कोरोना मृत्यु मध्ये १३०३ जना दक्षिण एसियामा भेटिएको थियो जुन विश्वको जम्मा मृत्यूको करीब  २२% थियो।

त्यसताका अर्थात् सेप्टेम्बरको मध्य तिर हरेक दिन अमेरिकामा करीब ५००००  नया संक्रमित भेटिन्थे भने  भारतमा  करीब ७००००र ब्राजिलमा करीब २५००० गरी यी तीन देशहरु सबैभन्दा धेरै जम्मा संक्रमितको हिसाबले विश्वमा क्रमसः पहिलो देखि तेस्रो स्थानमा थिए र हाल पनि त्यही स्थानमाकायम छन् । त्यस्तै त्यसताका दैनिक भारतमा करीब १०००, अमेरिकामा ८०० र ब्राजिलमा ७०० जति मानिसको कोरोनाका कारण मृत्यु हुने गरेको थियो।

पछिल्लो समयमा परिस्थितिले कोल्टो फेरेको छ र हरेक दिन अमेरिकामा नयाँ संक्रमित करीब ७०००० , भारत मा १५००० र ब्राजिलमा ५०००० देखिने गरेको छ। त्यस्तै पछिल्लो समयमा कोरोनाका कारण दैनिक करीब अमेरिकामा २०००, ब्राजिलमा १००० र भारतमा १०० मृत्यु देखिने गरेको छ।

हालसम्मको जम्मा संक्रमित मध्ये दक्षिण एसियाको हिस्सा चित्र न. ३ मा देखाइएको छ। चित्रमा देखाइए जस्तै पछिल्लो समयमा विश्वका जम्मा ११०११४१७५ संक्रमित मध्ये१२४६७४४८ जना दक्षिण एसियामा छन् जुन विश्वको करीब ११% कोरोना संक्रमित हुन्।

त्यस्तै पछिल्लो समयमा विश्वको कोरोना मृत्युको कुरा गर्दा जम्मा मृत्यु २४३१५९७ मध्ये १८१४९५ दक्षिण एसियामा छन् जुन चित्र न. ४ मा देखाइएको छ। दक्षिण एसियाको जम्मा मृत्यु  विश्वको कूल मृत्यूको करीब ७.५% हुन आउँदछ।

त्यस्तै दैनिक संक्रमण मध्ये विश्वको तुलनामा दक्षिण एसियाको अनुपात चित्र न. ५ मा देखाइएको छ । माथि उल्लेख गरिए जस्तै एक ताका विश्वको एक तिहाईभन्दा धेरै दैनिक संक्रमण दक्षिण एसियामा मात्रै भेटिन्थे भनेहाल दैनिक औसतमा करीब ६% दक्षिण एसियामा भेटिने गरेको छ । चित्रमा विश्व र  दक्षिण एसियाको दैनिक  संक्रमणको आँकडा अनुमानित या लगभग हिसाबले प्रस्तुत गरिएको छ र विश्वको तुलनामा दक्षिण एसियाको अनुपात निकालिएको  छ।

त्यस्तै दैनिक मृत्यु मध्ये विश्वको तुलनामा दक्षिण एसियाको अनुपात चित्र न. ६ मा देखाइएको छ। माथि उल्लेख गरिए जस्तै एक ताका दैनिक मृत्यु विश्वको पाँच भागको एक भागभन्दा धेरै दक्षिण एसियामा मात्रै भेटिन्थे भनेहाल दैनिकऔसतमा करीब ३% मात्र दक्षिण एसियामा भेटिने गरेको छ। चित्रमा विश्व र दक्षिण एसियाको दैनिक  संक्रमणको आँकडा अनुमानित या लगभग हिसाबले प्रस्तुत गरिएको छ र विश्वको तुलनामा दक्षिण एसियाको अनुपात निकालिएको  छ।

यस अर्थमा दक्षिण एसियामा हाल कोरोना संक्रमण र यसको कारणले भइरहेको प्यान्डेमिक केही नियन्त्रणमा आएको देखिन्छ। पछिल्लो समयसम्ममा  दक्षिण एसियामा जम्मा १२४९८०१८ जनामा संक्रमण भएको  देखिन्छ  भने त्यसैको कारणले जम्मा १८१८५३ जनाको मृत्यु भइसकेको देखिन्छ।

यी संख्याहरु गतसाता क्रमसः  १२३८५३८५र१८०४५४ थिए। यसरी एक सातामा दक्षिण एसियामा जम्मा ११२६३३ (+०.९%) संक्रमित र जम्मा १३९९(+०.७७%) मृत्यु थपिएका छन्। यसरी संक्रमण र मृत्यु हुनेमा दक्षिण एसियामा सबैभन्दा धेरै भारतमा देखिएको छ भने सबैभन्दा कम भुटानमा देखिएको छ।

यसरी कोरोना संक्रमण र त्यसैका कारण भएको मृत्यु भारतमा सबैभन्दा धेरै र भुटानमा सबैभन्दा थोरै हुनुको मुख्य कारण मध्ये एक ती देशका जनसंख्या पनि हो । हाल भारतमा दैनिक औसतमा करीब १४००० नयाँ संक्रमित भेटिने गरेको छ भने भुटानमा गत साता साताभरि मात्र ३ नयाँ  संक्रमित भेटिए।

पछिल्लो समयमादैनिक संक्रमणको आधारमा दक्षिण एसियामा पहिलो देखि अन्त्यसम्म क्रमसः भारतमा  दैनिक करीब १४०००, पाकिस्तानमा  १३००, श्रीलंकामा ४३०, बंगलादेशमा ४००, माल्दिभ्समा १३०, नेपालमा १०५, अफगानिस्तानमा १५, र भुटानमा सातामा मात्र ३ नयाँ संक्रमण देखिने गरेको छ ।

तर दैनिक संक्रमण कति देखिएको छ भन्नु मात्रै त्यति सहि हुँदैन किनभने त्योभन्दा महत्वपूर्ण कुरा परीक्षण कति गरिएको छ भन्ने हुन्छ। दैनिक परीक्षणको कुरा गर्दा, आवर ओर्ल्ड इन डाटा (Our World in Data)का अनुसारदक्षिण एसियामा धेरैदेखि थोरैसम्म प्रति एक हजार जनसंख्या क्रमसः माल्दिभ्समा ७.१,भुटानमा २.१,श्रीलंकामा ०.७, भारतमा ०.५, पाकिस्तानमा ०.१६, नेपालमा ०.११, बंगलादेशमा ०.०९ र अफगानिस्तानमा अति न्यून परीक्षण गरिने गरेको छ।

त्यस्तै पछिल्लो समयमा दैनिक मृत्यु दक्षिण एसियामा पहिलो देखि अन्त्यसम्म क्रमसः औसतमा भारतमा करीब १००,पाकिस्तानमा  ४२, बंगलादेशमा ९, श्रीलंका मा ४,नेपालमा १,माल्दिभ्समा गत साताभरि २,अफगानिस्तानमा गत साताभरि २, र भुटानमा सुन्ना देखिने गरेको छ।

यसै सेरोफेरोमा नेपालमा कोरोना प्यान्डेमिकको साप्ताहिक विश्लेषण गर्ने क्रममा गतहप्ता,फेब्रुअरी १४ देखि २० (फाल्गुन २देखि८)जम्मा ७ दिनको विश्लेषण विभिन्न स्रोतहरुबाट प्राप्त तथ्यांकको आधारमा तल देखाइए बमोजिम प्रस्तुत गरिएको छ।

गतहप्तापनि प्यान्डेमिकका तथ्यांकहरु विश्वभरि र नेपालमा पनि  उतारचढाव हुने क्रम जारी रह्यो ।निम्न केही तथ्यांकको आधारमा गएको हप्ता नेपालमा कोरोना प्यान्डेमिकको अवस्था कस्तो रह्यो केही विश्लेषण गरी हेरौँ।

दैनिक नयाँ संक्रमण


यो हरेक दिन नेपालमा देखिएका या देखिने नयाँ संक्रमितहरुको संख्या हो। गतहप्ता फेब्रुअरी १४ देखि २० (फाल्गुन २ देखि ८)जम्मा ७ दिनको नेपाल भरि र काठमाडौँ उपत्यकाको नयाँ संक्रमितको संख्या चित्र न.७ मा प्रस्तुत गरिएको छ।

नेपाल सरकारबाट प्राप्त तथ्यांक हेर्ने हो भने गतहप्ता सात दिनमा देशभरि जम्मा ७३७ जना र काठमाडौँ उपत्यकामा ३६२ जना नयाँ संक्रमित भेटिए भने त्यो भन्दा अगाडिको हप्ता सात दिनमा देशभरि जम्मा८०८र काठमाडौँ उपत्यकामा ३८० नयाँ संक्रमित भेटिएका थिए। माथिको तथ्यांकको आधारमा भन्ने होभनेगतहप्ता त्योभन्दा अगाडिको हप्ताको दाँजोमा देशभरि संक्रमितको संख्या घटेको पाइयो। विगत केही महिनादेखि नेपालभरि र काठमाडौँ उपत्यकामा जम्मा कोरोना संक्रमितको संख्या घट्ने क्रम जारी छ।

त्यस्तै मृत्यु हुनेको संख्या गतहप्ता जम्मा ७ रह्यो भने त्यो भन्दा अगाडिको हप्ता १८। यसरी गत हप्ताको जम्मा मृत्यु त्यो भन्दा अगाडिको हप्ताभन्दा आधाभन्दा कम रह्यो।

त्यस्तै काठमाडौँ  र नेपालको अनुपात केलाउने हो भने चित्र न. ८ मा देखाइए जस्तै नेपालभरिको दाँजोमा काठमाडौँ उपत्यकाको नयाँ संक्रमण अनुपात गतहप्ता न्यूनतम ३४.३८% देखि अधिकतम६१.३६%  सम्म रह्यो भने त्योभन्दा अगाडिको हप्ता यो अनुपात ४०.७४% देखि ५४.३९% सम्म रहेको थियो।

गतहप्ता नेपालभरिको संक्रमितको दाँजोमा काठमाडौँ उपत्यकाको संक्रमितको अनुपात औसतमा करीब ४८.८६% रह्यो भने त्यो भन्दा अगाडिको हप्ता यो औसत अनुपात  करीब ४७.१९% थियो। यसरी देशभरिको दाँजोमा काठमाडौँको नयाँ संक्रमितको अनुपात विगत केही समय देखि केही तलमाथि भए पनि यो अनुपात लगभग स्थिर देखिन्छ।

गतहप्ता सिंगो देशमा जम्मा भेटिएका संक्रमित मध्ये आधाभन्दा केही कम काठमाडौँ उपत्यकामा भेटिएका छन्। नेपाल सरकारले दिएको जानकारी अनुसार काठमाडौँ उपत्यकापछि कोरोना संक्रमण ज्यादा देखिएका जिल्लाहरुमाकास्की,चितवन,मोरङ, बाँके , गोर्खा आदि पर्दछन्।

दैनिक संक्रमण पोजिटिभिटीदर(Positivity Rate)


प्यानडेमिकको मापदण्डहरु मध्ये पोजिटिभिटी दर एक सबैभन्दा भरपर्दो मापदण्ड हो जसले परीक्षण गरिएका मध्ये कति जनामा संक्रमण पोजिटिभ देखियो भन्ने देखाउँदछ। पोजिटिभिटीदरको बारेमा गएका अंकहरुमा बिस्तृत जानकारी गराइसकेको छ। त्यसको लागि कृपया यस शृंखलाका गएका अंकहरु पनि हेर्नु  होला।

नेपालको गएको हप्ताको दैनिक संक्रमण पोजिटिभिटी दर चित्र न.९ मा देखाइएको छ। गतहप्ता पनि नेपालको प्यान्डेमिक निरन्तर रुपमा केही तल झर्दै गएको देखिन्छ। गत हप्ता पोजिटिभिटीदर न्यूनतम २.७१%देखि अधिकतम ४.३% सम्म रही साताभरिको औसत पोजिटिभिटी दर३.३०%रह्यो। दुई हप्ता अगाडिको पोजिटिभिटी दर ३.०%र५.२९% काबीच रही त्यो साताको औसत पोजिटिभिटी दर ३.६४% रहेको थियो।

नेपालमा प्यान्डेमिकको इतिहासमा ७ महिनापछि गएको दुई  हप्ता साताभरिको दैनिक पोजिटिभिटी ५% भन्दा मुनि रही औसत करीब ३.५% रह्यो। यसरी दैनिक पोजिटिभिटी अर्थात् संक्रमण दर दुई हप्ताभन्दा लामो समय ५%भन्दा कम रहेमा WHO को मापदण्ड अनुसार कोरोना संक्रमण तथा प्यान्डेमिक नियन्त्रण भएको भन्न सकिन्छ।

त्यस अर्थमा नेपालमा हाल कोरोना संक्रमण र प्यान्डेमिक नियन्त्रित भएको मान्नु पर्दछ । आशा गरौँ नेपालमा प्यान्डेमिक यसरी नै घट्दै जाओस् नकि यूरोप र अमेरिकामा जस्तो नया लहर फेरि आओस् ।

स्मरण रहोस् नेपालको दैनिक संक्रमण कार्तिक ५ गते सबैभन्दा धेरै एकै दिन ५७४३ नया संक्रमित भेटिएका थिए भने त्यही दिन सबैभन्दा धेरै दैनिक परीक्षण एकै दिन २०११८ परीक्षण गरिएका थिए । त्यस्तै नेपालको प्यान्डेमिक इतिहासमा सुरुको अवस्थामा बाहेक सबैभन्दा कम परीक्षण फाल्गुन १ गते १९०० मात्रै परीक्षण गरिएका  थिए भने त्यसै दिन हालसम्मकै सबैभन्दा कम, सुरुको अवस्थामा बाहेक, जम्मा ५७ मात्रै नयाँ संक्रमित देखिएका थिए।

आश्विनको अन्तिम सातादेखि कार्तिकको अन्त्यसम्म नेपालमा कोरोना संक्रमण अत्यधिक बढेको थियो जुन दैनिक औसतमा करीब २५०० जति थियो। त्यस्तै मृत्यु सबैभन्दा धेरै कार्तिक १९ गते एकै दिन ३० पुगेको थियो। कार्तिकको दोस्रो हप्ता देखि मंसिरको मध्यसम्म दैनिक औसतमा करीब २५ जनाको मृत्यू हुने गरेको थियो। हाल आएर दैनिक मृत्यु कुनै कुनै दिन सुन्ना भएको विगत केही समयदेखि  देखिँदै आए पनि यो निरन्तर सुन्ना हुन सकेको छैन।

गतहप्ता देशभरि जम्मा २२७६० परीक्षण  गरियो भने त्यो भन्दा अगाडिको हप्ता जम्मा २२३८३ परीक्षण गरिएका थिए। हाल नेपालमा दैनिक औसतमा करीब३२००मात्र परीक्षण गरिँदै आएको तथ्यांकले देखाएकाे छ।

जोन्स हप्किन्स विश्व विद्यालयका अनुसार पछिल्लो समयमा संक्रमण दर (पोजिटिभिटी) सबैभन्दा अधिक भएका दश देशहरु  निम्नानुसार देखिन्छन्।

मेक्सिको ४९.८२ %,

इन्डोनेसिया ३६.२४%,

अल्बानिया२८.४३ %,

इक्वाडोर२८.०१%,

मोजाम्बिक२६.९४%,

परागुए २५ .८० %,

युक्रेन २१ .२९ %,

सर्बिया १९.६४%,

बोलिविया   १९.५३%

र अर्जेन्टिना १८.९७ %

त्यस्तै दक्षिण एसियाली र अन्य देशहरुको संक्रमण दर निम्नानुसार देखिन्छ।

अमेरिका ५.१३%,

जापान २.८६%,

बेलायत २.३८%,

नेपाल ३.१५%,

श्रीलंका ४.९२%,

पाकिस्तान ३.४०%,

अफगानिस्तान २.०%,

बंगलादेश २.६७%,

माल्दिभ्स ३.३०%,

भारत १.७१%

र भुटान ०.०६%।

माथिका तथ्यांकहरुबाट के देखिन्छ भने पछिल्लो समयमा दक्षिण एसियाली देशहरुमा प्यान्डेमिकको अवस्था नियन्त्रितका साथै स्थिर देखिएको छ भने नेपालको प्यान्डेमिक अवस्था पनि गत करीब ५ महिना देखि क्रमिक रुपमा घट्दै आएको छ। यो निकै खुशीको कुरा हो ।

दक्षिण एसियामा पछिल्लो समयमा पाकिस्तान, माल्दिभ्स, बंगलादेश र अफगानिस्तानमा संक्रमण दर केही बढेको देखिन्छ।

समग्रमा गत हप्ताको आँकडा हेर्दा नेपालमा प्यान्डेमिक ओरालो लाग्ने क्रम जारी छ। हरेक हप्ता जम्मा संक्रमितको संख्या क्रमैसँग घट्दै गएको छ। तर कोभिड संक्रमित घट्दै जानुको एक प्रमुख कारण कम परीक्षण गर्नु पनि हो। परीक्षण कम गर्दा प्यान्डेमिक लुकेर बस्ने  सम्भावना भने पक्कै पनि हुन्छ। प्रयाप्त परीक्षण गर्दागर्दै दैनिक नयाँ संक्रमित र नयाँ मृत्यु घट्दै गएमा त्यसले सहि मानेमा प्यान्डेमिक घटेको अर्थ लाग्छ। त्यसको ज्वलन्त उदाहरण भुटान हो।

यस दौरान नेपाल सरकारको पछिल्लो तथ्यांकर जानकारी अनुसार नेपालमा हालसम्म २,७३,३५१ जना मानिसलाई कोरोना संक्रमण भइसकेको छ जसमा समग्रमा करीब ३५% महिला र ६५%पुरुष छन्. पछिल्लो समयमा पनि संक्रमितहरु मध्ये करीब ३५% महिला र ६५%पुरुष छन्।

त्यस्तै नेपालमा हालसम्म २०६१ जनाले यसै संक्रमणका कारण ज्यान गुमाईसकेका छन् जसमा करीब ३०% महिला र ७०% पुरुष छन्। नेपालमा हाल जम्मा संक्रमित मध्ये  ९८.६८% संक्रमण मुक्त भइसके भने ०.७५% को यसै संक्रमणका कारण मृत्यु र ०.५६% मा सक्रिय संक्रमण बाँकी छ।

पछिल्लो जानकारी अनुसार हाल नेपालमा पाँचथर, भोजपुर,सोलुखुम्बु,मुस्ताङ, मुगु, पश्चिम  रुकुम  र अछाम कोरोना संक्रमणरहित जिल्ला हुन पुगेका छन् भने काठमाडौँ ५०० भन्दा धेरै सक्रिय संक्रमण भएको एक मात्र जिल्ला हो।

पछिल्लो समयमा काठमाडौँ पछि कास्की र चितवनमा कोरोना संक्रमण अत्यधिक देखिएको छ। त्यस्तै दक्षिण एसियाली देशहरुमा नेपाल हाल सक्रिय संक्रमण दर सबैभन्दा कम भएको देश जो जुन हाल ०.६% छ भने पाकिस्तानमा यो दर २९.८% छ जुन दक्षिण एसियामा हाल सबैभन्दा उच्च हो । त्यस्ता केसहरुलाई सक्रिय संक्रमित भनिन्छ जो हाल उपचाररत छन् र  संक्रमण मुक्त भइसकेका छैनन्। त्यस्ता व्यक्तिले संक्रमण अरु व्यक्तिलाई सजिलै सार्न सक्दछन्।

हालसम्म नेपालमा २१३६३०९ जनाको PCR परीक्षण गरिएको छ भने औसतमा समग्र संक्रमण दर अर्थात् पोजिटिभिटी (Cumulative positivity) १२.९%जति देखिएको छ।

जे होस्, दक्षिण एसियाका अन्य देशहरुमा जस्तै नेपालमा पनि कोरोना प्यान्डेमिक घट्दै जाने क्रम जारी छ। त्यसै अनुरुप जनजीवन पनि सामान्य बन्दै गएको अवस्था छ। तथ्यांकले जेसुकै देखाए पनि प्यान्डेमिकको यथार्थलाई भुल्ने बेला भइसकेको छैन। त्यसैले हरेक व्यक्तिले भौतिक दूरी कायम  गर्ने, मास्क लगाउने, हात राम्ररी धुने, अनावश्यक भिडभाड नगर्ने आदि सावधानीका कुराहरु अपनाउनु पर्ने देखिन्छ।

(कन्सल्टेन्ट न्यूरो सर्जन तथा कोभिड ज्ञाता डा. श्रेष्ठ ग्वार्कोस्थित बीएन्डबी अस्पतालमा काम गर्छन्।)

फाल्गुन १०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्