सबैभन्दा बढीपटक ग्रान्डस्लाम जित्ने नाडाल र फेडेरर तर कुन ग्रान्डस्लाम कसले धेरैपटक जिते ?

विश्व नम्बर एक नोभाक जोकोविचले लगातार तेस्रोपटक अस्ट्रेलियन ओपन ग्रान्डस्लाम टेनिस जितेका छन्। उनले दोस्रोपटक अस्ट्रेलियन ओपन लगातार तीनपटक जितेका हुन्।

उनी सर्वाधिक एकल ग्रान्डस्लाम जित्ने खेलाडीका रुपमा राफायल नाडाल र रोजर फेडेररले बनाएको २०/२० उपाधिको विश्व कीर्तिमान बराबरी गर्नबाट अब २ वटा उपाधिले मात्र टाढा छन्।

पुरुष एकलतर्फ आइतबार भएको फाइनलमा यी सर्वियन खेलाडीले सोझो सेटमा जित हात पारे। जोकोविचले समग्रमा नवौँपटक अस्ट्रेलियन ओपन जितेका हुन्।

पुरुष एकलतर्फ उनी सबैभन्दा धेरैपटक अस्ट्रेलियन ओपन जित्ने खेलाडी हुन्। उनीबाहेक अस्ट्रेलियाका रोय एमर्सन र स्वीट्जरल्यान्डका रोजर फेडेररले ६/६ पटक यो प्रतियोगिता जितेका छन्।  नाडालले केवल एकपटक अस्ट्रेलियन ओपन जितेका छन्, त्यो पनि सन् २००९ मा। लगातार चारपटक विम्बल्डनसहित पाँचपटक ग्रान्डस्लाम जितेपछि मात्र उनले अस्ट्रेलियन ओपन हात पारेका थिए। बाँकी अर्को ग्रान्ड्स्लाम विम्बल्डन थियो।

जोकोविचले आफ्नो करियरको पहिलो ग्रान्डस्लाम उपाधिका रुपमा अस्ट्रेलियन ओपन नै जितेका थिए, सन् २००८मा। त्यसपछि उनले दोस्रो ग्रान्डस्लाम उपाधिका रुपमा पनि अस्ट्रेलियन ओपन हात पारेका थिए सन् २०११ मा। त्यो वर्ष उनले विम्बल्डन र यूएस ओपन पनि जिते भने अस्ट्रेलियन ओपनका थप लगातार दुई संस्करण हात पारेका थिए।

फ्रेन्च ओपन सर्वाधिक जित्ने पुरुष खेलाडीका रुपमा नाडालका नाममा विश्व कीर्तिमान छ। उनले यो प्रतियोगिता १३ पटक जितेका छन्। उनले दुईपटक लगातार चारपटक र एकपटक लगातार पाँचपटक विम्बल्डन जितेका छन्।

उनले फ्रेन्च ओपनको पछिल्ला लगातार चार संस्करणका विजेता हुन्। ३४ वर्षीय नाडालले पहिलो ग्रान्डस्लाम उपाधिका रुपमा फ्रेन्च ओपन जितेका थिए, सन् २००५ मा।

लगातार चारपटक विम्बल्डन जितेपछि मात्र अर्को ग्रान्डस्लाम जितेका थिए, सन् २००८ मा विम्बल्डनका रुपमा।  नाडालपछि यो प्रतियोगिता सर्वाधिक जित्ने पुरुष खेलाडीमा रहेका बोर्न बर्गले ६ पटक जितेका छन्। जिन बोरोत्रा र हेनरी कोचेतले चार/चारपटक जितेका छन्।

जोकोभिच र फेडेररले यो प्रतियोगिता केवल एकएकपटक जितेका छन्। जोकोभिचले ११ पटक ग्रान्डस्लाम जितेपछि बल्ल हात पारेका थिए फ्रेन्च ओपन, सन् २०११ मा। फेडेररले पनि १३ पटक ग्रान्डस्लाम जितेपछि मात्र हात पारेका थिए फ्रेन्च ओपन, सन् २००९ मा।

विम्बल्डन सर्वाधिक जित्ने पुरुष एकल खेलाडीको कीर्तिमान फेडेररको नाममा छ। उनले यो प्रतियोगिता ८ पटक जितेका छन्। विलियम रेन्साले पनि ७ पटक यो प्रतियोगिता जितेका छन्।

जोकोभिचले पाँचपटक र नाडालले दुईपटक यो प्रतियोगिता जितेका छन्। फेडेररले करियरको पहिलो ग्रान्डस्लाम उपाधिका रुपमा विम्बल्डन नै जितेका थिए, सन् २००४ मा। उनले त्यस वर्षदेखि लगातार पाँच संस्करण विम्बल्डन जितेका थिए।

त्यसयता उनी पाँचपटक फाइनलमा पराजित भएका छन्। नाडालले सन् २००८ र २०१० मा उपाधि जितेका थिए। तीनपटक फाइनलमा पराजित भएका उनी सन् २०११ पछि फेरी उपाधि भिडन्त गर्न सकेका छैनन्।

यूएस ओपन सर्वाधिक जित्ने पुरुष एकल खेलाडीका रुपमा अमेरिकाका तीन खेलाडी रिचार्ड सियर्स, विलियम लर्न्ड र बिल टिल्डेनको नाममा कीर्तिमान संयुक्त छ। अमेरिकाकै जिम्मी कर्नस र पिट साम्प्रास तथा स्विजरल्यान्डमा फेडेररले पाँच पाँचपटक जितेका छन्।

फेडेररले सन् २००४ देखि लगातार पाँच सिजन यो प्रतियोगिता जितेका थिए र त्यसयता दुईपटक फाइनलमा पराजित भएका छन्। जोकोभिचले तीनपटक र नाडालले चारपटक यूएस ओपन जितेका छन्।

महिला एकलतर्फ सर्वाधिक ग्रान्डस्लाम जित्ने कीर्तिमान अस्ट्रेलियाकी मारगरेट कोर्टको नाममा छ। उनले २४ पटक एकल ग्रान्डस्लाम जितेकी छिन्। उनीपछि रहेकी अमेरिकी सेरेना विलियम्सको नाममा २३ उपाधि छ।

३९ वर्षीया सेरेना अझै खेलिरहेकी छिन् तर सन् २०१७ यत ग्रान्डस्लाम उपाधि जित्न सकिरहेकी छैनन्। मारगरेटले ११ पटक अस्ट्रेलियन ओपन, पाँचपटक फ्रेन्च ओपन, ३ पटक विम्बल्डन र पाँचपटक यूएस ओपन जितेकी थिइन्। सेरेनाले ७ पटक अस्ट्रेलियन ओपन, ३ पटक फ्रेन्च ओपन, सात पटक विम्बल्डन र ६ पटक यूएस ओपन जितेकी छिन्।

अस्ट्रेलियन ओपन सबैभन्दा बढि जित्ने महिला एकल खेलाडीको कीर्तिमान कोर्टको नाममा छ। उनीपछि सेरेना हुन्। फ्रेन्च ओपन सर्वाधिक जित्ने महिला एकल खेलाडी अमेरिकाकी क्रिस एभर्ट हुन्। उनले यो प्रतियोगिता ७ पटक जितेकी छिन्।

फ्रान्सकी सुजेना लेनग्लेनले पनि ६ पटक जितेकी छिन्। विम्बल्डन सर्वाधिक जित्ने महिला एकल खेलाडीको कीर्तिमान मार्टिना नाभ्रातिलोभाको नाममा छ। उनले ९पटक यो प्रतियोगिता जितेकी छिन्।

अमेरिकाकी हेलेन विल्सले पनि ८ पटक जितेकी छिन्। मोला मालोरीको नाममा सर्वाधिक यूएस ओपनको महिला एकल उपाधि जित्ने कीर्तिमान छ। उनले ८ पटक यो प्रतियोगिता जितेकी छिन्। सेरेनासँगै क्रिस एभर्टले पनि ६ पटक यूएस ओपन जितेकी थिइन्।

फाल्गुन १०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्