पशुपतिमा सुनको जलहरी निर्माण अन्तिम चरणमा, धमाधम बनाइँदै छ नाग र बुट्टा

काठमाडौँ – पशुपतिनाथ मन्दिरको मुल मूर्तिमुनि राखिने सुनको जलहरी निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा हाल कायम रहेको चाँदीको जलहरीमाथि सुनको नयाँ जलहरी राख्न लागिएको हो । त्यसका लागि राष्ट्रबैंकबाट आवश्यक सुन किनेर जलहरी निर्माणको काम भइरहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

१०८ किलोको जलहरी निर्माणका लागि कोषले राष्ट्रबैंकबाट १०४ किलो सुन किनेको हो । बाँकी चार किलो चाँदी तथा तामा मिसाइने छ ।

धार्मिक तथा सांस्कृतिक विश्वास एवम् जलहरीलाई बलियो बनाउनका लागि चार किलो सुन बाहेकको धातु मिसाइएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता भोला सिटौलाले बताए ।

जलहरीका लागि आवश्यक सुन खरिद गर्न प्रधानमन्त्री ओलीले गएको माघ १२ गते पशुपतिनाथको दर्शनका बेला घोषणा गरे अनुसार सरकारले ३० करोड रुपैयाँ दिएको हो । बाँकी ६० करोड रुपैयाँ कोषले खर्च गरेको हो । अर्थात निर्माणको अन्तिम चरणमा पुगेको जलहरीका लागि कुल ९० करोड रुपैयाँको सुन किनिएको हो ।

अहिले पशुपति परिषरको रुद्रगाडेश्वरमा सुनको जलहरी निर्माणको काम भइरहेको प्रवक्ता सिटौलाले बताए । उनले भने, ‘नेपाली सेनाको सुरक्षा निगरानीमा जलहरी निर्माण भइरहेको छ । सुरक्षा व्यवस्था मजबुत बनाउनका लागि सिसिटिभीको पनि व्यवस्था गरिएको छ ।’

गएको माघ २९ गते राष्ट्रबैंकबाट सुन किनेर ल्याएको र त्यसको भोलिपल्ट (माघ ३० गते) देखि जलहरी निर्माण थालिएको हो ।

तीव्र गतिमा काम गरिएकाले जलहरी निर्माण अन्तिम चरणमा पुगेको र अहिले नाग बनाउने तथा बुट्टा भर्ने काम भइरहेको उनले बताए ।

केही दिनमै नयाँ जलहरी स्थापित हुने

प्रधानमन्त्री ओलीले महाशिवरात्री (फागुन २७ गते) अघि नै सुनको जलहरी राख्न निर्देशन दिएका थिए । तर पशुपति क्षेत्र विकास कोषले सुरुमा सो अवधिमा काम पूरा गर्न नसकिने भन्दै अक्षय तृतीयासम्म नयाँ जलहरी स्थापना गर्ने बताएको थियो । तर काम अति तीव्र गतिमा गरिएकाले केही दिनमै राख्न सकिने अवस्था आएको कोषले जनाएको छ ।

प्रवक्ता सिटौलाले भने, ‘अन्तिम चरणमा छौँ । भट्ट (पूजारी) ज्यूहरुले सुनको नयाँ जलहरी राख्नका लागि साइत निकालिएको र बुधबार (फागनु १२ गते) भित्र नै तयार पार्न भन्नु भएको छ ।’ अहिलेसम्म मंगलबार बेलुका वा बुधबार बिहानको साइतमा नयाँ जलहरी स्थापना गर्ने तयारी रहेको छ ।

नयाँ जलहरी राख्नका लागि हाल कायम रहेको चाँदीको जलहरी मर्मत गरिएको र त्यसका लागि क्षमा पूजा पनि भएको छ । गएको शनिबार (फागुन ८ गते) देखि पशुपतिनाथमा क्षमा पूजा भइरहेको छ । सो क्षमा पूजा चाँदीको जलहरीमाथि सुनको नयाँ जलहरी स्थापित नगर्दासम्म कायम रहने कोषले जनाएको छ ।

क्षमा पूजाका लागि भारतको कर्नाटकबाट कम्तीमा २२ जना पूजारी आएका छन् । कोषका अनुसार कर्नाटकबाट आएका र पशुपतिमा रहेका १०८ जना पूजारीले संयुक्त रुपमा विशेष विधिविधान अनुसार गएको शनिबारदेखि निरन्तर क्षमा पूजा गरिरहेका छन् ।

पशुपतिमा हाल रहेको चाँदीको जलहरी २०२५ सालमा राखिएको हो । त्यसअघि पनि चाँदीकै जलहरी थियो । चाँदीको जलहरीभन्दा पहिले तामाको जलहरी पशुपतिको शिवलिंगमा थियो ।

देश महामारीको चपेटामा रहेका बेला अत्यावश्यक क्षेत्रलाई छोडेर ओली सरकारले मन्दिरलाई प्राथमिकता दिएको भन्दै विरोध पनि भइरहेको छ । प्रतिनिधिसभा विघटन गरेर विवादमा आएका प्रधानमन्त्री ओलीको पशुपतिमा सुनको जलहरी राख्ने निर्देशनलाई चुनावी रणनीतिका रुपमा पनि विश्लेषण गरिएको छ ।

तर स्वार्थ र तर्कका कुरा जे नै भए पनि मौलिकता नमासी भव्यता बढाउने र नेपाली विश्वासमा आधारित पवित्रताको प्रतिक सुनको जलहरी राख्ने काम भए त्यसको स्वागत गरिनु पर्ने संस्कृतिविद डा. गोविन्द टण्डनले बताएका छन् ।

शिव लिंगको फेदीमा रहेको योनी आकारको संरचना जलहरी हो । शिव लिंगलाई स्नान गरिएको पानी सोही जलहरी हुँदै बागमती किनारको ब्रह्मनालसम्म पुग्छ । दर्शनका लागि पुग्नेहरुलाई छर्कने अर्घ्य जल पनि सोही जलहरीबाट निकालिएको हुन्छ ।

फाल्गुन १०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्