अर्को जन्ममा चाहिँ नेपाली हुन पाऊँ

आदरणीय आमा

साष्टाङ्ग दण्डवत् !

‘म यहाँ सन्चै छु’ भनेर भन्ने अवस्था सायदै आउँछ होला। ‘त्यहाँ तपाईँहरुलाई पनि सुबिस्तै होला’ भनेर ढाडस दिन पनि सक्दिन। रात-दिनको तपाईँको दुर्गति परबाट टुलुटुलु हेरेर बस्नुको पीडाबोध असह्य छ। आफ्नै सन्तानले तपाईँलाई एउटी अबलाको भाँति अलाप गर्ने स्थितिमा पुर्‍याएको म गम्भीरताका साथ नियालिरहेको छु।

आमा, तपाईँले बेँसीमा घाँस काट्दै सुसेल्ने ‘एक जुगमा एक दिन एकचोटि आउँछ, उलट -पुलट उथलपुथल हेरफेर ल्याउँछ’ भन्ने आवाज  हामी खर्कमा सुनेर स्वप्ननगरीमा सयर गर्थ्यौँ। यो गीत त तपाईँले हामी दाजुभाइ दिदीबहिनीमध्ये चुनिदिनु भएको अगुवा अनि विद्वान ठुल्दाइ ठुल्दिदीहरुले पनि सुन्नुहुन्थ्यो। हामी सबैले तपाईँलाई सुखी, खुशी अनि अझै सुन्दर बनाउने संकल्प गर्ने गर्थ्यौँ। फेरि तपाईँले सुसेल्ने ‘हुँदैन बिहान मिर्मिर तारा झरेर नगए, बन्दैन देश दुई- चार सपुत मरेर नगए’ भन्ने सुनेर कतिले बलिदानी दिए, त्याग गरे हिसाब छैन। पहिला युद्धको मोर्चाबाट लड्दालड्दै वा अधिकारको आन्दोलनमा सहिद हुन्थे, तर अहिले परिस्थिति बेग्लै छ। शहिदहरु काठको बाकसमा दुरदेशबाट आयात गरिन्छ। यस्ता शहिदको सरोकार कसलाई पो छ र?

ठुल्दाई-ठुल्दिदीहरुलाई राजनीतिले आजीवन वृत्ति दिइहाल्यो, हामी चाहिं दुरदेशको कमारो-कमारी कति जुनीसम्म हुनुपर्ने हो ? कथम् उनीहरु, तपाईँको गोडामा झुक्न आए भने, शिरमा तपाईँको माटो लेप्न आए भने, प्रश्न गरिदिनु होला। तर होसियार! सौदाको मसौदा नगर्नु होला।

तपाईँले त हामीलाई स्वाभिमानी, आत्मनिर्भर र निष्पक्ष हुने दिक्षा दिनुभएको थियो। यी भाइमारा अगुवा दाइ-दिदीहरु आफ्नो घर सम्पत्ति जोड्न गाउँछिमेक पनि गुहार्न थाले।  के खोट भयो, तपाईँको पालन-पोषणमा कि ठुल्दाई – दिदीहरुले आफ्नै आमामा आँखा लगाइदिनु पर्‍यो, हस्तक्षेप गर्नु पर्‍यो भनेर छरछिमेकी, ओल्लो गाउँ, पल्लो गाउँसँग समावेदन गर्नुपर्ने ? यो सब सुन्दा र देख्दा मर्माहत हुने मेरो मनले सिरुपाते खुकुरी निकालेर यिनीहरुको गर्दन च्वाट्ट छिनाउन भन्छ। यिनको कनपटी मल्हमपट्टीले  पनि निको नहुनेगरी लम्पट भएका छन्। बर्षौँदेखि गर्दै आएको ठगीको भेदन भएपछि नौटंकी/नाटक मञ्चन गर्दै हिँडेका छन्। कहिले हुने हो भगवान यो निर्लज्जताको अवसान? भाइबहिनीहरुले कहिले गर्लान् यिनको विरासतलाई हिरासत?

ठुल्दाइ- ठुल्दिदीहरु निमुखा भाइ -बहिनीलाई ललाइफकाइ, लोभ देखाएर , छलेर वा परिबन्धमा पारेर आफ्नो अड्डामा बोलाएर बकम्फुसे कुरा गर्न सिपालु  छन् । भाइ -बहिनीहरु गफ सुनेर परर्रर्रर्र ताली पनि पिटछन्। ती निमुखाप्रति त मेरो धेरै गुनासो छैन, तर तपाईँले दशनंग्रा खियाएर पढाउनु भएका विद्वान दाजुदिदीले पनि ताली पिट्दा चाहिँ उदेक लागेर आउँछ। हुन् त तपाईँको कुरा अगुवाहरुले कहिले सुन्छन् र, त्यही पनि सुनाउने मौका मिल्यो भने भनिदिनु होला तपाईका अरु सन्तान सोझा होलान् तर लाटा छैनन् । सामन्तीका चंगुलबाट बचाएको तपाईँको पछ्यौरी यिनका अनुहारका धब्बा पुछ्नलाई होइन।

यत्रो महाब्याधिको कहरमा पनि केन्द्रीय बैंकका अनुसार चालू आर्थिक वर्षको छ महिनामा झण्डै पाँच खर्ब रुपैयाँ बराबरको विप्रेषण भित्रिएछ।

आमा, तपाईँले केही दशकअगाडि हामी लगभग सबै भाइ-बहिनीहरुलाई राहदानीको सिरानी हाल्न सुझाएको सम्झना भयो। हामी धर्ती छोडेर भर्ती हुन तयार भएको क्षण सम्झँदा पीडाबोध हुन्छ। आफ्नो जमिन छाड्न अमिन खोज्नु परेको सम्झन्छु। अनि आफ्नै देशबाट पराइ, बसाइँ-सराइ गरेको पलपल याद आउँछ।

आमा, तपाईँले केही दशकअगाडि हामी लगभग सबै भाइ-बहिनीहरुलाई राहदानीको सिरानी हाल्न सुझाएको सम्झना भयो। हामी धर्ती छोडेर भर्ती हुन तयार भएको क्षण सम्झँदा पीडाबोध हुन्छ। आफ्नो जमिन छाड्न अमिन खोज्नु परेको सम्झन्छु। अनि आफ्नै देशबाट पराइ, बसाइँ-सराइ गरेको पलपल याद आउँछ।

आत्म-सम्मान बेचेक्कै आम्दानीले भएपनि अलिअलि दानापानी अनि रहलपहलले तपाइलाई सम्बृद्धिको महल बनाउने उत्कट इच्छा राखेका थियौँ। परन्तु, त्यो पनि ठुल्दाइ -ठुल्दिदीहरुले विकासको ब्याज देखाएर सावाँसमेत पचाउनु भयो। अझै नपुगेर गणतन्त्रको तमसुकमा  मिटर -ब्याजले लोभित पार्ने प्रयास तीब्र छ। कहिले प्रदर्शन , कहिले प्रहसनको प्रतिष्पर्धा बेजोडको छ। पेशा धरापमा पर्दा सडकमा पलेटी कस्दा, कहिले निमुखा भाइबहिनीका अनुहारका कलेटी देखेका छन्? अधिकारको नारा लगाउँदै हिँड्दा, हामी दुरदेशमा  हुनेको मताधिकारको कुरा गरेका छन्?

शक्ति यिनलाई मद भयो, राजनीति यिनलाई पद भयो, अनियमितता देशको गद भयो, आन्दोलन नै नेताको कद भयो, आमा, तपाईँलाई सधै दु:ख दिने यो अब हद भयो।

सुध्रिने अवसर नदिएको पनि हैन। रुखको छहारीले सधै अन्धकार मात्र भयो, यो अस्थीरताको जाडोमा कति कठ्याङ्ग्रिनु भनेर चौरमा घाम ताप्न पनि निस्केका थियौँ। प्रचण्ड रापले सेकिएर बाटोमा लडेका भाइबहिनीहरुलाई चेतमा ल्याउन, अहिले तपाईँलाई जति सकस अरु कसलाई भएको छ र? तर कदाचित् छाता बोकेर छायाँ दिन्छु भनेर आउनेको भर नपर्नु होला, आमा। त्यसले केही समयलाई छहारी त देला तर तपाईँलाई सहारा दिँदैन।

नेपाल छाडेदेखि कहिले नेपाली हुन पाएको छैन, आमा।  दक्षिणमा बहादुर, मध्यपूर्वतिर मजदुर , पश्चिममा गोर्खाली अनि उत्तर-पश्चिमतिर मिस्टर भएको छु। गोठालो भएँ, सुसारे भएँ, पखाल्ने भएँ, ज्यामी भएँ तर अह नेपाली हुन सकिन। सगरमाथाको चुचुरो मनमा छ, तर शिर खाडीमा निहुरेको छ। पुर्खाको गाथा छातीमा टाँसेको छु, तर बहादुरी छिमेकीको ढोकामा उप्किएको छ। स्वाभिमानको गौरवले हृदय भरेको छु, तर पौरख सात समुन्द्रपारि यथार्थमा पोखिएको छ।

हामी दुरदेश हुने त अभागी भयौँ भयौँ , त्यहाँ देशमै हुनेहरु पनि किन झोले, आसे-पासे, कार्यकर्ता, मण्डले, चण्डमुण्ड, वादी, ढोँगी, पक्षपाती आदि भएका हुन्? एउटा रामनाम जप्छ, अर्को तथानाम खप्छ। एउटाले लाखबत्ती बाल्दा, अर्काको भक्तिभाव हट्छ। यी कम-निष्ठ  हरुको रुचि छिन्न छ, बोल्छन एउटा तर मति भिन्न छ। यो जुनीमा  प्रजातन्त्रवादी ,लोकतन्त्रवादी, गणतन्त्रवादी, राजावादी, समाजवादी, खाउवादी, कमाउवादी, रमाउवादी, आधुनिकतावादी आदि सबै हौऊ। एउटा बिन्ती भगवान्, अर्को जन्ममा चाहिं नेपाली हुन पाऊँ।

अन्त्यमा, कामना गर्छु भगवान श्री पशुपतिनाथले सबैको रक्षा गरुन्।

उही तपाइको अभागी सन्तान,

वीर नेपाली

परदेश

फाल्गुन १०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्