देशको चार शहरमा फाइभजी परीक्षण गर्दै नेपाल टेलिकम

काठमाडौँ- सरकारी स्वामित्वको दूर सञ्‍चार कम्पनी नेपाल टेलिकमले देशको प्रमुख चार शहरमा फाइभजीको परीक्षण सुरु गर्ने भएको छ।

नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीले देश सञ्‍चारसँग भने, ‘टेलिकमले काठमाडौं, पोखरा, विराटनगर र वीरगञ्जमा फाइभजी परीक्षणका लागि गृहकार्य सुरु गरिसकेको छ। हामी चाँडै परीक्षणको तयारी गर्दैछौँ।’

उनका अनुसार नेपाल टेलिकमले फोरजी सेवा विस्तारका लागि र्‍यान नेटवर्क विस्तारतर्फ चाइना टेलिकम्युनिकेसन सर्भिस इन्टरनेसनल (सीसीएसआई) र कोर नेटवर्क विस्तारको जेडटीईसँग गरेको सम्झौता अनुसार नै यी दुई चिनियाँ कम्पनीले नै देशको पाँच सहरमा फाइभजी सेवा परीक्षण गर्नुपर्ने शर्त समेत रहेको छ। तर अहिले नेपाल टेलिकमले तत्काल चार शहरमा मात्रै परीक्षणको तयारी गरको उनले बताए।

उनले भने, ‘ नेपाल दूरसञ्चार प्राधिकरणले फ्रिक्वेन्सी पहिचान गरी रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिलाई दिएको सिफारिस अनुसार नै फाइभजीको परीक्षण सुरु गर्नेछौँ। हामी प्राविधिक टीमसहित बीटीएस टावर राखेर यसको काम अगाडि बढाउने तयारीमा छौँ।’

यसअघि नेपाल दूरसञ्चार प्राधिकरणले फाइभजीका लागि फ्रिक्वेन्सी पहिचान गरी रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिसमक्ष सिफारिस गरिसकेको छ। प्राधिकरणले फाइभजी फ्रिक्वेन्सी पहिचानका लागि राष्ट्रिय फ्रिक्वेन्सी व्यवस्थापन फोरम गठन गरेको थियो। उक्त फोरमले फाइभजीका लागि फ्रिक्वेन्सीका प्राधिकरणलाई सिफारिस गरेको थियो।

यता, दूर सञ्‍चारको नियामक निकाय नेपाल दूर सञ्‍चार प्राधिकरण बोर्डले फाइभजीको परीक्षणको लागि २०७७ माघ १९ गते निर्णय गरी रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिसमक्ष सिफारिस गरेको प्राधिकरणका प्रवक्ता मीन प्रसाद अर्यालले जानकारी दिएका छन्।

उनका अनुसार प्राधिकरणले ७००, ९००, २६००, ३३००, ३६००,४३०० र २६ गिगाहर्ज ब्यान्डमा फाइभजी फ्रिक्वेन्सी उपलब्ध गराउन सकिने गरी समितिलाई सिफारिस गरेको छ। जसमा नयाँ ब्याण्डमा ३३ देखि ४२०० सय मेगाहर्जसम्म कुनै पनि अपरेटरले फ्रिक्वेन्सी उपलब्ध गराउन सक्‍नेछन् भने अर्को २४.५ देखि २७.५ गिगाहर्जसम्‍म अर्को ब्‍याण्डमा टेलिकम अपरेटरले फ्रिक्वेन्सी उपलब्ध गराउन सक्नेछन्।

यसअघि प्राधिकरणले सेवा प्रदायकले फाइभजी परीक्षण गर्दा ग्राहकलाई निःशुल्क रुपमा फाइभजी अनुभव लिने अवसर प्रदान गर्नुपर्ने खालको प्रावधान समेत अघि बढेको उनले बताए।

उनले भने, ‘प्राधिकरणले रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिमा फाइभजी परीक्षणका लागि निःशुल्क रुपमा सेवा प्रदायकलाई फ्रिक्वेन्सी उपलब्ध गराउन पाउने गरी फ्रिक्वेन्सी नीति निर्धारण समितिमा प्रस्ताव पठाइसकेको छ। अब टेलिकम अपरेटरले सकभर चाँडै नै फाइभजीको परीक्षण तयारी गरेको हुनुपर्छ। हामी प्रविधिमा एक कदम अगाडि हुनैपर्छ, किनकी सरकारले ल्‍याएको डिजिटल नेपालको प्रेमवर्क फाइभजीले मात्र पूरा गर्न सक्छ।’

यसरी निःशुल्क रुपमा प्राप्त फ्रिक्वेन्सीमा फाइभजी सेवा परीक्षण गर्दा सेवाप्रदायकले समेत ग्राहकबाट शुल्क लिन नपाउने खालको प्रस्ताव प्राधिकरणबाट भएको प्राधिकरणले जनाएको छ।

यस्तै सहसचिव अनिलकुमार दत्तले फाइभजीको व्यावहारिक प्रयोग र परीक्षणका सम्भावनालाई अध्ययन गरिने बताएका छन्। प्रविधि पत्रकार मञ्‍चले आयोजना गरेको कार्यक्रममा उनले सरकारले छिट्टै नै देशको चार शहरमा फाइभजीको परीक्षण गर्ने तयारी गरिरहेको बताएका थिए।

सञ्चार तथा सूचना प्रविधिमन्त्री अध्यक्ष रहने उक्त समितिले प्राधिकरणले गरेको सिफारिसका आधारमा आवश्यक अध्ययन गरी निर्णय गर्नेछ।

फाल्गुन १०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्