रोयल्टी उठाउने र बाँडफाँड गर्ने कुरा कानून र व्यवहारमा फरक पर्न सक्छ-पर्यटनमन्त्री ढकाल

काठमाडौँ-संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले श्रष्टा, संस्कृति र साहित्यलाई आधुनिक उद्योगको रुपमा विकास गर्नुपर्ने बताएका छन्।

नेपाल उद्योग वाणिज्य महासंघले सोमबार काठमाडौंमा आयोजना गरेको ‘प्रतिलिपि अधिकार : कानूनी व्यवस्था र चुनौति’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री ढकालले परम्परागत रुपमा रहेको श्रष्टा, संस्कृति र साहित्यलाई आधुनिक उद्योगको रुपमा समावेस गर्नुपर्ने बताएका हुन।

यस्तै रोयल्टी उठाउने र बाँडफाँड गर्ने कुराको सन्दर्भमा कानून र व्यवहारमा फरक पर्न सक्ने बताए। यसको सुधारका लागि राज्यको उपस्थितिलाई कमी हुन नदिने पनि मन्त्री ढकालले बताए।

कम्पनी राजिष्ट्रारको कार्यालयका रजिष्ट्रार विष्णुकुमारी भट्टराईले रजिष्ट्रारको मुख्य काम प्रतिलिपि अधिकारको संरक्षण गर्ने, अभिलेखिकरण गर्ने, श्रष्टाहरुले प्राप्त गर्ने रोयल्टी सङ्कलन व्यवस्थापन र वितरण गर्ने रहेको बताए।

श्रष्टाहरु एक भएर जान नसक्दा प्रतिलिपि अधिकारको विषय तल पर्ने गरेको बताए। प्रतिलिपि अधिकारको विषयलाई यस क्षेत्रको साझा मुद्दा बनाएर लैजान सुझाव दिए।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले प्रतिलिपि अधिकार, बौद्धिक सम्पत्ती संरक्षणको क्षेत्रमा प्रभावकारी काम गर्न सकेमा मुलुकभित्र बाह्य लगानी भित्र्याउन सहयोग पुग्ने बताए। कानूनी संरचना बलियो हुँदाहुँदै पनि जनचेतनाको अभावका कारण गीत, संगित, साहित्यको क्षेत्रमा पाइरेसीका घटनाहरु हुने गरेको बताए।

नेपाल उद्योग वाणिज्य महासंघ, चलचित्र तथा मनोरञ्जन फोरमका संयोजक आकाश अधिकारीले श्रष्टा र सर्जकहरुको हक सुरक्षित गर्नुपर्ने बताए। यस क्षेत्रमा मुनाफा कमाउने र लगानी उठाउने ज्ञारेन्टी नहुँदा कलाकारहरुको आर्थिक हक सुरक्षित हुन नसकेको बताए। श्रष्टा, सर्जकको मौलिक अधिकार कसैले पनि काटन नसक्ने तर आर्थिक अधिकार अझैपनि सुरक्षित हुन नसकेको बताए।

कार्यक्रममा बौद्धिक सम्पत्ती संरक्षणको क्षेत्रमा बनेका कानूनहरुको जानकारी नहुँदा पाइरेसी हुने गरेकोमा वक्ताहरुले जोड दिए। यसको नियन्त्रणका लागि सरकारी तवरबाटै निगरानी बढाइनु पर्नेमा उनीहरुको जोड थियो।

फाल्गुन १०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्