एकताको प्रतीकको रुपमा रहेकाले पृथ्वीनारायण शाहको तस्बिर लगाएँ: प्रदेश प्रमुख झा

जनकपुरधाम- प्रदेश २ का प्रमुख राजेश झाले आइतबार जनकपुरधाम पुगेपछि तेस्रो प्रदेश प्रमुखको रुपमा पदभार ग्रहण गरेका छन्। पदभार ग्रहण गरेका नवनियुक्त प्रदेश प्रमुख आफ्नो कार्यालयमा पृथ्वीनारायण शाहको तस्बिर लगाएका छन् । प्रदेश प्रमुख झाले पृथ्वीनारायण शाह एकताको प्रतीक रहेको र उनी नभएको भए नेपाल नै नहुने भएकाले आफ्नो कार्यालयमा उनको तस्बिर राखेको बताए। उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँगै पृथ्वीनारायण शाहको तस्बिर आफ्नो कार्यालयमा राखेका छन्।

प्रदेश प्रमुख झाले पृथ्वीनारायण शाहले नै टुक्राटुक्रा भागलाई एकीकरण गरेर एक गरेको र त्यसैको कारण आज ७७ जिल्ला, सात प्रदेशमा नेपाल रहेको बताए। ‘त्यो तस्बिर कसको हो? यो सबैलाई थाहा छ। यदि उहाँ नभएको भए जुन नेपाल अहिले ७७ जिल्लाको छ, त्यो हुँदैन थियो’, उनले अगाडि भने, ‘नेपाल नरहेको भए देश कहाँ हुन्थ्यो? प्रदेश कहाँ हुन्थ्यो र संघीयता कहाँ हुन्थ्यो?’ राष्ट्र निर्माणमा जसको भूमिका छ उहाँलाई साक्षी राखेर प्रदेशमा आफूले काम सुरु गरेको प्रदेश प्रमुख झाले बताए।

पृथ्वीनारायण शाहले भौगोलिक रुपमा नेपाल एकीकरण गरेको र आफू आत्मीय एकीकरणको प्रयासमा लागेको उनले बताए। प्रदेश प्रमुख झाले शिरमा देश र मनमा मधेश राखेर प्रदेशको प्रदेश प्रमुखको रुपमा कार्य थालनी गरेको बताएका थिए। देश, जनता र संविधानलाई पहिलो र महत्वपूर्ण आधार बनाएर प्रदेश २ भित्रका प्रत्येक नागरिकलाई साझा, शान्त, समृद्ध र समभावसहितको समाज निर्माणमा भूमिका निर्वाह गर्ने बताएका थिए।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले तत्कालीन प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरी झालाई यस प्रदेशको नयाँ प्रदेश प्रमुखमा नियुक्त गरेकी थिइन्। झा यस प्रदेशमा तेस्रो प्रदेश प्रमुखको रुपमा आएका छन्। उनी भन्दा पहिले तिलक परियार र रत्नेश्वरलाल कायस्थ यहाँको प्रदेश प्रमुखको रुपमा थिए।

 

फाल्गुन १०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्