मेरी उच्च मनोबलकी आमा!

मेरो जीवन दोस्रोपटक स्तब्ध र चकमन्न अँध्यारो बनेको आज एक वर्ष पुग्यो। पहिलोपटक त्यही सन्नाटा, त्यही धमिलोपन, त्यही खालिपन दुई वर्षअघि बुवालाई गुमाउँदा अनुभव गरेकी थिएँ। एक वर्ष पनि नपुग्दै यो धर्तीमा टेकाउने मातापिता दुवैलाई गुमाएर ठूलो बज्रपात सहनु परे पनि जीवन चलिरहेकै छ,बाँचेकै छु- कमी छ त केवल त्यो निस्वार्थ प्रेमको, त्यो सुरक्षित छहारीको, जुन मैले कदापि अब अरु कोहीबाट पाउने छैन।

यो धर्तीमा जन्म लिएर जब होस आउन शुरु गर्‍यो, त्यो दिनदेखि मेरो दिमागमा मेरी आमाको पहिचान एक उच्च मनोवल भएकी साहसी महिलाको रुपमा नै आउने गर्थ्यो। त्यो बेलाका हाम्रो गाउँघरका अरु आमाहरुसँग तुलना गर्थें आमालाई। घरका सबै कामकाज भ्याएर त्यो जमानामा अफिस समेत जाने मेरी आमा जस्तै निडर, आत्मनिर्भर, सहयोगी, मायालु बन्न पाऊँ भन्दै माग्ने गर्थें भगवानसँग पनि।

योग, ध्यान सबै गर्दै आएकी हाम्री आमा पनि एक्कासी रोगको शिकार बन्नुहोला भन्ने कल्पना पनि गर्न सक्दैन थियौं हामी। उहाँलाई रोग लाग्यो भनेर सुनेको जति अँध्यारो दिन मेरो जीवनमा शायद कहिल्यै आएन। बुवालाई रोगसँग लड्न हौसला दिँदै दिनरात सेवा गरिरहेको बेला एक्कासी आमामाथि अर्को चुनौती? सहनशक्ति भन्दा साँच्चै बाहिरको समाचार थियो त्यो हामी सबैका निम्ति। मेरो हृदयले बारम्बार भगवानसँग इन्साफ मागिरह्यो। रोग त लाग्नु लेखेकै थियो होला तर उहाँको उच्च मनोबलले त्यो रोगलाई जितेरै छोड्नुहुनेछ भन्ने पूर्ण विश्वास थियो हामी सबैलाई।

रोग लिएर जति बाँच्नुभयो, उच्च मनोवलकै कारण सहज रुपमा बाँच्नुभयो। उहाँ रोगसँग लडिरहँदा उहाँसँग परदेशबाट गएर चार महिना समय बिताउने मौका पाएँ। भगवानले पनि कति धेरै परीक्षा लिए मेरी आमाको। मेरा बिरामी बुवालाई स्याहार्दास्याहार्दै आमा आफैँ बिरामी हुनुभो। त्यही पनि हिम्मत हार्नु हुँदैन भन्दै साहसी भएर बुवालाई हौसला दिनुहुन्थ्यो। त्यही बीचमा बुवाले यो संसार छोड्नुभयो। त्यो बिपतलांई पनि उच्च मनोवलका साथ पार गर्नुभयो आमाले।

बुवाले संसार छोड्नुभएपछिको गर्मी विदामा म र छोरीहरु नेपाल गयौं। त्यो नेपाल भ्रमणको प्रमुख उद्देश्य नै आमासँग समय बिताउनु थियो। बाल्यकालमा आमासँग लुटुपुटु सुतेको याद ताजा गराउँदै त्यो नेपाल बसाइभरि म आमासँगै सुतेँ। रोगसँग लडिरहेकी मेरी आमाअलिकति पनि बिरामी जस्ती देखिनुहुन्नथियो। दिव्य अनुहार, हँसिली, बिहान उठेर आफ्नो नित्य कर्म, योग गर्ने अनि म उठ्दा मेरो लागि चिया समेत बनाइदिइसक्नुभएको हुन्थ्यो।

नातिनीहरुलाई आफ्नै हातले खाजा खुवाउनुहुन्थ्यो। त्यो भ्रमणमा बुवाको कमी त असाध्यै खड्कियो तर धेरैपछि आफ्ना छोरीहरुका साथमा मेरी आमासँग समय बिताउन पाउँदा साह्रै आनन्द आएको थियो। उहाँको मनोवल देख्दा मनका सबै डर हराउँथे। मेरी आमाले यो रोगलाई जितेरै छाड्नुहुन्छ, म फेरि एकपटक आमालाई अमेरिका लान्छु, घुमाउँछु भन्ने सोच्थेँ।

आमा सम्झिँदा हाँसिरहेकी, हँसाइरहेकी, दया, सेवा, त्याग र प्रेमकी खानीकै रुपमा सम्झना आउँछ। हजुरको जीवनभरिका प्रेरणादायी कार्य र हामीप्रतिको निस्वार्थ प्रेमको बलमा हामी पनि हजुरको जस्तै उच्च मनोवल लिएर जीवनको अन्तिम क्षणसम्म हाँसेर बाँच्न सकुँ। माथिबाट तथास्तु भन्नु है आमा।

आमाको रोगसँग जुध्ने यात्रामा उहाँको पीडा आफूले लिन नसके पनि सँगै उहाँको साथ हिँड्ने, पकाएर खुवाउने मौका पाएकी थिएँ। हस्पिटलमा नियमित जाँचको लागि भर्ना हुँदा समेत आफ्नो नित्य जप गरेको, गीता पाठ गरेको, योग गरेको देखेर आमासँग प्रश्न गर्थेँ, ‘आमा मैले थाहा पाएदेखि  हजुरलांई सबैको सेवा गरेको, सबैलाई प्रेम गरेको, पूजाआजा, ध्यान योग गरेको नै देखेकी छु, त्यही पनि हजुरलाई रोग लाग्यो- अझै ती निष्ठुरी भगवानको पूजा किन गर्नुहुन्छ?’

आमाको उत्तर थियो, ‘रोग भगवानले लगाएका हुन् र? रोग त मलाई लाग्नु नै थियो, भगवानप्रतिको आस्था, नियमित योग र ध्यानले गर्दा म यो रोगसँग सहज रुपमा लड्न सकेकी छु। अरु विरामी र मलाई दाँज त, अरु कति बिचलित छन्, म अझै हाँस्दैछु।’म निशब्द हुन्थेँ।

शायद उहाँको कुरा साँचो थियो। रोग लागे पनि देह त्याग गर्ने दिनसम्म बाथरुम समेत आफैँ जानुभयो। बीचमा कुनै पनि दिन हामीसँग रुने, कराउने, हरेस खाने गर्नुभएन। त्यो अन्तिम वाक्य सम्झिँदा हृदय रुन्छ। अन्तिम अवस्था भइसकेको रहेछ, ‘डाक्टर साब, मलाई अरु सबै ठीक छ, आनन्द छ, मेरो बोली चाहिँ किन लरबराएको?’ भनेर सोध्नुभयो। त्यस्को करिब दुई घन्टापछि त कहिले नफर्किने गरीअस्ताउनुभयो। जीवनको अन्तिम दिनमा पनि गीता पाठ गर्नुभएको थियो। एकादशीको दिन गीताको किताब साथमै लिएर हामीबाट बिदा हुनुभएको हो।

जीवन सोचेजस्तो हुन्न रैछ। हाम्री आमा त्यति चाँडो जानुहोला भन्ने थिएन हामीलाई।

हो, उहाँलाई रोग लाग्यो तर अहिले मनलाई सान्त्वना दिने एउटा कुरा यही छ, उहाँ बोल्दाबोल्दै जानुभो। उहाँलाई हामीले लामो समय पीडामा देख्नु परेन। उहाँको अनवरत साधना र उच्च मनोवलले गर्दा हरेक चुनौतीको सामना सहज रुपमा गर्दै उज्यालो मुहार लिएर नै जीवनको अन्तिम पलसम्म बिताउनुभो। आमा सम्झिँदा हाँसिरहेकी, हँसाइरहेकी, दया, सेवा, त्याग र प्रेमकी खानीकै रुपमा सम्झना आउँछ। हजुरको जीवनभरिका प्रेरणादायी कार्य र हामीप्रतिको निस्वार्थ प्रेमको बलमा हामी पनि हजुरको जस्तै उच्च मनोवल लिएर जीवनको अन्तिम क्षणसम्म हाँसेर बाँच्न सकुँ। माथिबाट तथास्तु भन्नु है आमा। हजुरको वार्षिक पुण्यतिथिमा हृदयमा भरिएको हजुरप्रतिको अमर प्रेम र श्रद्धा अर्पण गर्दै मानव रुपमा जतिपटक जन्मिए पनि हजुरकै सन्तान भएर जन्मिन पाउँ भन्दै ईश्वरसँग प्रार्थना गर्दछु।

फाल्गुन ११, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्