संसद विघटनमा ओली पक्षको रक्षात्मक अभिव्यक्ति, ईश्वर पोखरेलले भने–सर्वोच्चले गर्ने जुनसुकै फैसला स्वीकार्य

काठमाडौँ- संसद विघटन जायज भएको र यसका पक्षमा सर्वोच्च अदालतले फैसला गर्नुपर्ने अभिव्यक्ति सार्वजनिक रुपममा दिँदै आएको नेकपा केपी शर्मा ओली पक्षले यस विषयमा एकाएक नरम अभिव्यक्ति दिन थालेको छ।

चितवन पुगेका उपप्रधानमन्त्री ईश्वर पोखरेलले मंगलबार बिहान प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्च अदालतले गर्ने जुनसुकै फैसला आफूहरुलाई स्वीकार्य हुने बताए।

प्रेस संगठन चितवनको पत्रकार सम्मेलनमा पोखरेलले अदालतबाट हुने फैसलालाई सम्मान गर्ने बताएका हुन्।

ओली पक्षले यसअघि सर्वोच्च अदालतको फैसला मात्रै नभई निर्वाचन आयोगको निर्णय पनि आफ्नो पक्षमा हुनुपर्ने दाबी प्रस्तुत गर्दै आएको थियो।

तर पोखरेलले निर्वाचन आयोगबाट आउने जुनसुकै निर्णय आफूहरुलाई मान्य हुने बताएका हुन।

उनले भने,‘ हामी शक्ति पृथकीकरणमा विश्वास गर्छौं। अदालतबाट हुने फैसला हामीलाई शिरोधार्य छ । र, निर्वाचन आयोगको निर्णय पनि हामी मान्ने छौँ।’

यसअघि सोमबार प्रधानमन्त्री ओलीले कञ्चनपुर पुगेर पहिलो पटक संसद विघटनको मामिलामा आफ्नो अभिव्यक्ति बदलेका थिए।

उनले ‘न्यायालयबाट कहिलेकाहीँ अनुपयुक्त निर्णय आउँछ। तर जे भएपनि हाम्रो राजनीति सिद्धिदैन’ भन्ने अभिव्यक्ति दिएका थिए।
यसअघि ओलीले संसद विघटन आफ्नो राजनीतिक बाध्यता भएको स्पष्टीकरण दिँदै आएका थिए।

आफ्नै पार्टीका नेताहरुले हातखुट्टा बाँध्न थालेपछि बाध्य भएर संसद विघटन गरेको र त्यो उचित निर्णय भएको दाबी गर्दै आएका थिए।

संसद विघटनविरुद्धका याचिकाहरुमाथिको बहस साँघुरिँदै र सर्वोच्च अदालतको फैसला नजिकिँदै गएका बेला ओली पक्षले आफ्ना अभिव्यक्तिहरु बदल्न थालेका हुन्।

फाल्गुन ११, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्