जग्गा विवादमा साक्षी बसेका दम्पतिको घरबाटै अपहरण, स्थानीयद्वारा चक्काजाम

जनकपुर – जग्गा विवादको मुद्दामा साक्षी बसेका एक दम्पतिको घरबाटै अपहरण गरिएको छ।

महोत्तरीको पिपरा गाउँपालिका वडा नम्बर ५ सहोड़वाका ६५ वर्षीय मोसाफिर झा र उनको ६० वर्षीया पत्नी गीतादेवीलाई सुतेको अवस्थामै घरबाट अपहरण गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

मंगलबार बिहान अबेरसम्म झा दम्पतिलाई नदेखेपछि गाउँका मानिसहरु घरमै हेर्न जाँदा सुत्ने कोठामा रगतको थोपा देखिएपछि प्रहरीलाई खबर गरेका थिए।

झा दम्पति सुतेको कोठामा रगतको थोपाहरु समेत देखिएकोले घटना शंकास्पद बन्दै गइरहेको छ। अपहरित दम्पतिको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक टीकाबाहदुर केसीले बताए।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको उनले बताए। स्थानीयहरुका अनुसार मोसाफिर झा अदालतमा विचाराधिन रहेको मोही जग्गा विवाद मुद्दामा साक्षी थिए।

विवादित जग्गाको विपक्षीसँग केही दिन अगाडि विवाद समेत भएको स्थानीयहरु बताउँछन्। झा दम्पतिको अपहरण भएको खबर पाएलगत्तै स्थानीयहरु जनकपुरधाम भिठामोड सडकखण्डमा चक्का जाम गरेका छन्।

दुवैको पत्तो नलागेसम्म चक्काजाम जारी राख्ने स्थानीयहरुको चेतावनी छ।

फाल्गुन ११, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्